इतिहासको त्यो पाठ
- १८ फाल्गुन २०७३, बुधबार
- त्रिरत्न मानन्धर
- 2339 पटक पढिएको
काठमाडौं । कोतपर्वले नौ वर्षदेखि व्याप्त राजनीतिक अन्योल र अनिश्चितताको अन्त गर्यो। यसलाई कोतपर्वको सकारात्मक पक्षको रूपमा लिए तापनि अर्को प्रश्न उठ्छ— आखिर नेपालले कोतपर्वबाट पायो के? यसको स्पष्ट उत्तर हुन्छ एक शताब्दीको तानाशाही राणा शासन, जुन कोतपर्व पूर्वको नौ वर्षको राजनीतिक अस्थिरताभन्दा दसौं गुणा हानिकारक सिद्ध भयो।
आजभन्दा ठीक १७० वर्षअगाडि नेपालको इतिहासमा एउटा हत्याकाण्ड भएको थियो, जुन कोतपर्वको नामले प्रसिद्ध छ। विसं १९०३ आश्विन वदी ९ (सन् १८४६ सेप्टेम्बर १४) को राति भएको उक्त घटनामा देशका मुख्तियारसहित धेरैजसो उच्च भारदारहरू मारिएका थिए र सोही घटनाबाट नेपालको इतिहासमा जंगबहादुर कुँवरको उदय भएको थियो। उक्त हत्याकाण्ड अचानक र आकस्मिक रूपमा केही घन्टाभित्रै भएको थियो तापनि नौ वर्षअगाडिदेखि नेपालमा व्याप्त अन्योल र अनिश्चिततालाई यसको पृष्ठभूमिका रूपमा व्याख्या गर्नुपर्छ।
विसं १८९४ मा राजा राजेन्द्रले भीमसेन थापालाई अपदस्थ गरेपछि नेपालमा अन्योलको वातावरण सिर्जना भएको थियो। राजेन्द्र महत्त्वाकांक्षी त थिए तर उनको कमजोरी यो थियो कि उनले आफ्नी दुई रानीका कार्यकलापलाई समेत नियन्त्रण गर्न सकेका थिएनन्। उनका दुवै रानी त्यत्तिकै महत्त्वाकांक्षी थिए र दुवैले आ–आफ्नै स्वार्थ सिद्धिका लागि भारदारहरूका दुई प्रमुख समूहलाई आफूतर्फ मिलाएका थिए। जेठी रानी साम्राज्यलक्ष्मीले पाण्डेहरूको सहयोग प्राप्त गरेकी थिइन् भने कान्छी रानी लक्ष्मीदेवीलाई थापाहरूको समर्थन थियो। भीमसेन थापाको पतनको लगत्तै साम्राज्यलक्ष्मीको जोडले रणजंग पाण्डे मुख्तियार त भए तर उनी कहिले गुरु रंगनाथ त कहिले चौतरिया पुष्कर शाहको नेतृत्वमा रही काम गर्न बाध्य भए। केही वर्षपछि रणजंग शक्तिशाली मुख्तियार त बने तर उनको अंग्रेज सरकारप्रतिको नीतिले गर्दा राजेन्द्रले उनलाई पदबाट हटाए, अंग्रेज सरकारकै दबाबमा।
विसं १८९८ मा साम्राज्यलक्ष्मीको मृत्युपछि नेपालको राजनीतिमा कान्छी रानी लक्ष्मीदेवीले हस्तक्षेप गर्न थालिन्। उनले भारतमा बस्दै आएका भीमसेन थापाका भतिजा माथवरसिं थापालाई नेपाल फिर्ता बोलाइन् र उनकै दबाबमा राजेन्द्रले माथवरलाई मुख्तियार बनाए। लक्ष्मीदेवीको स्वार्थ थियो युवराज सुरेन्द्र (साम्राज्यलक्ष्मीका छोरा) को अधिकार खोसी आफ्नै छोरा रणेन्द्रलाई राजा घोषित गर्नु। तर माथवर रानीको इच्छाअनुसार काम गर्न तयार थिएनन्, किनकि यसबाट ठूलो विद्रोह हुने सम्भावना थियो। विकल्पको रूपमा माथवरले राजेन्द्रलाई गद्दी त्यागको सल्लाह दिए, किनकि सुरेन्द्रलाई विधिवत् रूपमा राजा घोषित गरेपछि लक्ष्मीदेवीले आफ्नो छोरालाई राजा बनाउने हठ त्याग्नेछिन् भन्ने उनको धारणा थियो। तर महत्त्वाकांक्षी राजेन्द्र राज्यत्याग गर्ने पक्षमा थिएनन्।
यसप्रकार माथवरले राजा र रानी दुवैलाई चिढाए। फलस्वरूप राजा र रानी दुवै मिली माथवरको हत्या गराए जसमा प्रमुख भूमिका लक्ष्मीदेवीका प्रिय पात्रहरू गगनसिंह र जंगबहादुरले खेलेका थिए। माथवरको अन्तपछि चार महिनासम्म देशको शासन व्यवस्था मुख्तियारबिना नै चल्यो। लक्ष्मीदेवी गगनसिंहलाई मुख्तियार बनाउन चाहन्थिन् जबकि राजेन्द्र त्यसो गर्न तयार थिएनन्।
अन्ततोगत्वा चौतरिया फत्यजंगलाई मुख्तियारको पद त दिइयो तर राज्यपरिषद् (मन्त्रिमण्डल सरह) मा गगनसिंह र जंगबहादुरलाई पनि समावेश गरियो। रानीको प्रिय पात्र भएको नाताले गगनसिंह निकै शक्तिशाली थिए र उनको अधीनमा सात पल्टन फौज थियो जबकि फत्यजंगको नियन्त्रण केबल तीन पल्टन फौज मात्रै थियो। भनिन्छ, सबै महत्त्वपूर्ण निर्णयहरू लक्ष्मीदेवी र गगनसिंह गर्थे र राजा र मुख्तियार त्यसलाई औपचारिकता मात्रै दिन्थे। गगनसिंहको उदय राजा, मुख्तियार, जंगबहादुर र अन्य भारदारका लागि एउटा चुनौती बनेको थियो।
तर गगनसिंहको शासन धेरै समयसम्म चल्न सकेन।
विसं १९०३ आश्विन वदी ९ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला उनको हत्या भयो। गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे लेखकहरूका भिन्नाभिन्नै धारणा छन्। कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भनेका छन् भने कसैले चाहिं जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी लेखेका छन्। गगनसिंहको हत्याको रहस्य सायद कहिल्यै पनि अगाडि आउँदैन। तर एउटा कुरा के भन्न सकिन्छ भने गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवीबाहेक सबैले चाहेका थिए।
आफ्नो प्रिय पात्रको हत्याबाट लक्ष्मीदेवीलाई ठूलो चोट पुग्यो र उनले हत्यारा पत्ता लगाउन सबै भारदारहरूलाई तुरुन्तै कोतमा हाजिर हुन आदेश दिइन्। केही घन्टाभित्रै भारदारहरू कोतमा जम्मा त भए। तर हत्यारा पत्ता लगाउनाको साटो भारदारहरूबीच मारकाट सुरु भई जंगबहादुर र उनका सहयोगीहरूबाहेक अन्य सबैजसो भारदारहरूले आफ्नो ज्यान गुमाए। कोतभित्र भएको हत्याकाण्ड भएकाले यसलाई कोतपर्व भनिन्छ।
कोतभित्रको हत्याकाण्डबारे विभिन्न धारणा अगाडि आएका छन्। तर हामी दुईवटा परस्पर विरोधी धारणाको मात्रै विवेचना गर्दछौं। उक्त घटनाको ६ महिनापछि अर्थात् विसं १९०३ चैतमा नेपालस्थित ब्रिटिस रेजिडेन्ट थोरस्वेले घटनाको विस्तृत विवरण अंग्रेज सरकार छेउ पठाएका छन् जसमा हत्याकाण्डको सम्पूर्ण दोष लक्ष्मीदेवीमाथि लगाइएका छन्। गगनसिंहको हत्यारा पत्ता लगाउने रानीको हठकै कारण उक्त हत्याकाण्ड भएको भन्ने रेजिडेन्टको ठहर छ। साथै कुनै निर्णय दिन नसक्ने भनी राजेन्द्रको पनि आलोचना गरिएको छ। किनकि कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए। थोरस्वेको यो भनाइलाई हामी आँखा चिम्लेर विश्वास गर्न सक्तैनौं, किनकि यो पत्र स्वयं जंगबहादुरले दिएको विवरणअनुसार तयार गरिएको थियो।
घटनाको अर्को विवरण स्वयं लक्ष्मीदेवीले आफ्ना पति राजेन्द्रलाई लेखेको पत्रमा दिएकी छन् जसमा हत्याकाण्डको सम्पूर्ण दोष जंगबहादुर र उनका सहयोगी विजयराज पण्डितमाथि लगाइएको छ। पत्रकै शब्दहरूमा ‘जनरल गगनसिंलाई छानाबाट गोलि चलाइ मान्र्या को हो कया विराउँले मारियो मार्न सल्लाहमा पस्न्यालाई र मान्र्यालाई ठहराइ पक्रनुपर्छ भनि मैले र हजुरबाट हुकुम वकिस मान्र्या मानिसको षोजि हुन लाग्याको थियो तेसै वषत्मा हामिहरू सबै बसि कौसल गरि त्यो मान्र्या मानिसलाई ठहराउँछौं हजुरहरू सुकुला गर्न पाव लाग्नु हवस् भनि विजयराज पंडितले र जंगबहादुरले धोषाको विंति पार्दा म कोठरिभित्र गञा हजुर दर्वार तरफ पाव लाग्नु भयो तेसै विचमा जंगबहादुरले आफ तैनाथि पल्टनका पगरि हुद्दा सिपाहिहरूबाट घेरा दि हुल गरि भारदारहरूलाई मार्याको र तिनैका जाहान बच्चा र अरूलाई पनि धपायाको व्यहोरा सबै हजुरमा जाहिरै छ अरू मानिस पनि सबै जान्दैछन्…।’
लक्ष्मीदेवीको यस विवरणमाथि शंका गर्ने ठाउँ त अवश्य पनि छ। तर एउटा निश्चित कुरा के छ भने कोतभित्र भएको हत्याकाण्डमा जंगबहादुर र उनका सहयोगीबाहेक अरू सबैजसो भारदारहरू मारिएका थिए। यसबाट जंगबहादुरले कोतभित्रको स्थिति आफ्नो अनुकूल बनाई हत्यकाण्ड गराएको तथ्य स्पष्टै देखिन्छ।
कोतपर्वपछि जंगबहादुर मुख्तियार बने र उनलाई कम्यान्डर इन चिफको पदवी पनि दिइयो। तर उनले आफूलाई सुरक्षित महसुस गर्न सकेनन्, किनकि बस्नेतहरूको सहयोग लिई लक्ष्मीदेवी जंगबहादुरविरुद्ध षड्यन्त्र गर्दै थिइन्। स्मरणीय छ, आफ्नो परिवारका ज्येष्ठ महिलाको मृत्यु भएकाले बस्नेतहरू कोतमा सामेल भएका थिएनन् र उनीहरू बच्न सफल भएका थिए। आफूविरुद्ध षड्यन्त्र भइरहेको चाल पाई जंगबहादुरले बस्नेतहरूलाई युवराज सुरेन्द्रका शत्रु घोषित गरी राजेन्द्रकै आदेशअनुसार बस्नेत भारदारहरूको हत्या गराए जसलाई भण्डारखाल पर्व मनिन्छ। यो घटना कोतको हत्याकाण्डको ४५ दिनपछि भएको थियो र यस घटनापछि जंगबहादुरले लक्ष्मीदेवीलाई देश निकाला गरेका थिए। साथै जंगबहादुरले प्रधानमन्त्रीको पदवी पनि पाए।
लक्ष्मीदेवीसँगै राजेन्द्र पनि बनारस गएपछि जंगबहादुर झन् शक्तिशाली भए र उनले अनुकूल स्थितिको सिर्जना गरी सुरेन्द्रलाई विधिवत् रूपमा नेपालको नयाँ राजा घोषित गरे। उता बनारसमा जंगबहादुरद्वारा धपाइएका वा भाग्न सफल भएका भारदारहरूले राजेन्द्रलाई नेपाल फर्की शासन पुन: कब्जा गर्न दबाब दिइरहेका थिए। त्यसमाथि आफू छँदाछँदै आफ्ना छोरा सुरेन्द्रलाई राजा घोषित गरेको खबरले त राजा निकै क्रोधित भए। उनले एउटा सानो फौजको निर्माण गरे र केही भारदारहरूसहित नेपालको सीमाभित्र प्रवेश गरे। फौजसहित राजेन्द्र नेपालतर्फ आएको थाहा पाउनेबित्तिकै जंगबहादुरले ठूलो फौज त्यसतर्फ पठाए। नेपालको सीमा नजिकै अलौ भन्ने ठाउँमा दुई फौजबीच मामुली भिडन्त भयो जसमा राजेन्द्रको फौज सजिलै पराजित भयो र राजेन्द्र स्वयं कैदीको रूपमा काठमाडौं ल्याइए। उनलाई उकास्ने भारदारहरू त जंगबहादुरले ठूलो फौज पठाएको थाहा पाउनेबित्तिकै राजेन्द्रको साथ छाडी सीमापारि भागिसकेका थिए। यो घटना विसं १९०४ भदौ महिनाको हो।
कोत, भण्डारखाल र अलौ पर्वबाट जंगबहादुर सर्वेसर्वा शासक मात्रै भएनन्, उनले आफ्नो परिवारको सामाजिक स्तर पनि माथि उठाए। राजा सुरेन्द्रको लालमोहरद्वारा उनी र उनको परिवारले ‘राणा’ को दर्जा पाए र त्यसको उपयोग गर्दै जंगबहादुरले राजपरिवारसँग वैवाहिक सम्बन्ध पनि जोडे। राजासरहको पदवी पाउने लालसाले जंगबहादुरलाई छोडेको थिएन। विसं. १९१३ मा प्रधानमन्त्री पद छोडेको नाटक गरी उनी महाराज बने। तर अंग्रेज सरकारले उक्त पदलाई राजकीय मान्यता नदिएपछि जंगबहादुरले पुन: प्रधानमन्त्री हत्याए र महाराज प्रधानमन्त्री पदबाट विभूषित भए। कोतपर्वबाट सुरु भएको राणाहरूको जहानियाँ शासन १०४ वर्षसम्म कायम रह्यो र विसं. २००७ मा भएको १०४ दिनकै जनआन्दोलनले यसको अन्त गर्यो।
भनिन्छ, इतिहास भनेको अतीत र वर्तमानबीचको अटुट संवाद हो जसले उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्छ। इतिहासबाट पाठ सिकी अगाडि बढ्ने हो भने त्यो देशको भविष्य उज्ज्वल हुन्छ। होइन भने इतिहास बारम्बार दोहोरिरहन्छ र यसबाट राष्ट्रले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ।
आजको स्थितिमा कोतपर्वको व्याख्या गर्दा हामीले इतिहासले दिएको सन्देशलाई बिर्सनुहुन्न। विगतमा गरिएका सही निर्णयको अनुसरण गर्ने तथा गलत नीतिलाई त्याग्ने क्षमता शासन चलाउने व्यक्तिहरूमा हुनुपर्छ। रणबहादुर शाहले आफ्नो जेठो छोराको अधिकार खोसी मन परेकी रानीको अठारमहिने छोरालाई राजा बनाएपछि नेपालमा गृहयुद्ध भएको थियो। यस्तो इतिहासको पाठ बिर्सी लक्ष्मीदेवीले युवराज सुरेन्द्रको अधिकार खोसी आफ्नै छोरालाई राजा बनाउन खोज्दा कोतपर्व हुन गएको हो।
जहाँसम्म कोतपर्व र त्यसपछिका घटनाहरूले नेपालको राजनीतिमा के परिवर्तन ल्यायो भन्ने प्रश्न छ, निश्चय पनि यसले नौ वर्षदेखि व्याप्त राजनीतिक अन्योल र अनिश्चितताको अन्त गर्यो। यसलाई कोतपर्वको सकारात्मक पक्षको रूपमा लिए तापनि अर्को प्रश्न उठ्छ— आखिर नेपालले कोतपर्वबाट पायो के? यसको स्पष्ट उत्तर हुन्छ एक शताब्दीको तानाशाही राणा शासन, जुन कोतपर्व पूर्वको नौ वर्षको राजनीतिक अस्थिरताभन्दा दसौं गुणा हानिकारक सिद्ध भयो। यसको अन्त्यका लागि नेपाली जनताले लामो संघर्ष गर्नुपर्यो र ठूलो बलिदान दिनुपर्यो। आजको युगमा राजनीतिक स्थायित्वको नाममा एकतन्त्रीय व्यवस्था कहिल्यै स्वीकार्य हुँदैन।
आज देशभित्र व्याप्त राजनीतिक अस्थिरता/अनिश्चितताले नेपाललाई कता लैजाने हो कसैलाई थाहा छैन। नेपालीहरूले अझ कति दु:ख भोग्नुपर्ने हो यो पनि कसैलाई थाहा छैन। अनि त्योभन्दा पनि गम्भीर प्रश्न यस्तै स्थिति लामो समयसम्म रह्यो भने देशमा अर्को कोतपर्व हुनेछ भन्नेबारे शासन सञ्चालन गर्ने व्यक्तिहरू बेलैमा सजग हुनु अत्यावश्यक छ। नत्र उनीहरूलाई इतिहासले सधैं धिक्कार्नेछ। इतिहासबाट पाठ नसिक्ने हाम्रा राजनेताहरूलाई भगवान्ले सुबुद्धि प्रदान गरून्।
-कान्तिपुर