हुलाकबाट घरदैलोमै सेवाः म्याग्दीमा हल्करालाई उत्प्रेरणा र सम्मान

  • ४ बैशाख २०८३, शुक्रबार
  • 31 पटक पढिएको

सरकारी सेवालाई नागरिकको घरदैलोमै पु¥याउने लक्ष्यसहित जिल्ला हुलाक कार्यालय म्याग्दीले जिल्लाभर कार्यरत हल्कराहरुलाई उत्प्रेरणा तथा अभिमुखीकरण गरेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र विश्वसनीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले हुलाक सेवामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न म्याग्दीमा यस्तो पहल गरिएको हो। विशेषगरी राहदानीलगायतका महत्वपूर्ण सरकारी कागजातहरू घरमै पु¥याउने लक्ष्यलाई सफल बनाउन हल्कराहरुको भूमिकालाई थप सुदृढ बनाउन उनीहरुलाई उत्प्रेरणा प्रदान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

विहीबार आयोजित कार्यक्रममा जिल्ला तथा पालिका हुलाक कार्यालय अन्तर्गत कार्यरत हल्कराहरुलाई कार्यालय प्रमुख थापा तथा शाखा प्रमुखहरुले सहजीकरण गर्दै सेवाको गुणस्तर, समय व्यवस्थापन र जिम्मेवारीबारे अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने हल्कराहरुलाई सम्मान समेत गरिएको छ। उत्कृष्ट हल्कराको रुपमा रमेश शर्मा, सबैभन्दा धेरै चिठ्ठी वितरण गर्ने रघुगंगा गाउँपालिकाकी सोभा सुवेदी तथा पोष्ट म्यान बुक उत्कृष्ट राख्ने दिपक सुवेदी सम्मानित हुनुभएको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख थापाका अनुसार हुलाक सेवालाई सरकारी …कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकलाई सहज र छरितो सेवा दिनेतर्फ ध्यान केन्द्रित गरिएको छ। साथै, डाँक रेखाको पुनरावलोकनका लागि समेत अन्तरक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारले नागरिकता, राहदानी लगायतका सरकारी कागजात घरघरमा पु¥याउने घोषणा गरेको थियो ।

सरकारको उक्त घोषणालाई बुधवारदेखि नै म्याग्दीमा कार्यान्वयनमा ल्याईएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय म्याग्दी बिचमा समझदारी पत्रमा हस्ताक्षर गरी तत्काल राहदानी सेवालाई हुलाक मार्फत सेवाग्राहीको घरदैलोमा पु¥याउने व्यवस्था प्रारम्भ गरिएको छ ।