बस दुर्घटनाको परिकल्पनासहित बेनी अस्पतालमा उद्धार र उपचार अभ्यास
- ६ बैशाख २०८३, आईतवार
- 1 पटक पढिएको
म्याग्दी, ६ वैशाख । म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपतकालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी कृतिम अभ्यास प्रदर्शन गरिएको छ। आइतवार विहान साढे १० बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी–गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पना गर्दै अस्पतालको आपतकालिन उपचार दिने क्षमता र अवस्थाको जाँच गरिएको हो ।
बस दुर्घटनाको जानकारी अनुसार सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्दार गरी अस्पताल ल्याएका थिए। दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्पतालले साइरन बजाएर चिकित्सकसहित उपचारका लागि आवश्यक सम्पूर्ण जनशक्तितयारी गरेको थियो।
एम्बुलेन्समार्फत घाइतेहरू अस्पताल आइपुग्नेबित्तिकै चिकित्सकहरूले बिरामीको अवस्था मूल्याङ्कन गर्दै सामान्य, जटिल र गम्भीर गरी वर्गीकरण गरी बिरामीलाई पहेँलो, निलो र रातो समूह कक्षमा राखेर प्राथमिकताका आधारमा उपचार अघि बढाइएको थियो। त्यसक्रममा अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरू उपचारमा खटिएका थिए भने सुरक्षाकर्मीहरूले बिरामी स्थानान्तरणमा सहयोग गरेका थिए।
घाइतेहरुको प्राथमिक उपचार, एक्सरे, औषधी उपचार लगायतसंगै अभ्यासका क्रममा घटनास्थलमै मृत्यु भएको एक जनालाई शबगृहमा पठाइएको र गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको परिदृश्य प्रस्तुत गरिएको बेनी अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिनुभयो ।
अमुना दुर्घटनामा परेकाहरुमध्ये सामान्य अवस्थाका बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीलाई भर्ना गरेर राखिएको दुष्य समेत उक्त क्रममा प्रस्तुत गरिएको थियो । दुर्घटना र प्राकृतिक विपद्को समयमा एकै पटक धेरै जटिल समस्या भएका विरामी एकै पटक आउँदा अस्पतालले कसरी उपचार गर्छ भन्ने वास्तविकता पत्ता लगाउनका लागि कृतिम दुर्घटनाको उद्धार र उपचारको अभ्यास गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले यस कार्यक्रमले उद्धारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै एम्बुलेन्स सेवाको प्रभाबकारीता तथा अस्पतालमा अकस्मिक उपचारको व्यवस्थापनमा रहेका कमिकमजोरी पक्ता लाग्ने र सुधारमा रचनात्मक सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । आकस्मिक अवस्थामा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने क्षमताको परीक्षणका साथै दुर्घटनापछि तत्काल उद्दार तथा उपचार प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो अभ्यास सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।