रघुगंगामा देखिएको केन्द्र विवादलाई सरल तरिकाले हल गर्छुः प्रमुखका उम्मेदवार भण्डारी

  • २५ बैशाख २०७४, सोमबार
  • 147013 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिमा वैशाख ३१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखमा भगवतीका काँग्रेस नेता भबबहादुर भण्डारी चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । गाउँपालिकाको केन्द्र विवाद समाधान र गाउँपालिकाको समृद्धिको बिषयमा हामीले उहाँसंग कुराकानी गरेका छौँ प्रस्तुत छ गाउँपालिका प्रमुख भण्डारीसंग गरिएको कुराकानीको सम्पादीत अंश ।


१ गाउँपालिका प्रमुखको उम्मेदवार बन्न सफल भएकोमा यहाँलाई हार्दिक बधाई छ ।
–धन्यबाद
२) गाउँपालिका प्रमुखको उम्मेदवार बन्दा कस्तो अनुभव गर्नुभएको छ अहिले ?
– म एकदमै खुसी छु । रघुगंगा गाउँपालिकाको नेतृत्व सम्हाल्नको लागि मलाई पार्टीले गाउँपालिका प्रमुखको उम्मेदवारको टिकट दिएको छ । मेरो क्षमता, योगदान र रघुगंगा गाउँपालिकाको समस्या सुल्झाउन पार्टीले दिएको जिम्मेवारी र जनताले दिने अभिमतलाई मैले सिरोपरी गरि काम गर्ने अठोट गरेको छु । गाउँपालिकामा काँग्रेसको तर्फबाट प्राप्त प्रमुख पदको उम्मेदवारीलाई मैले अबसर र चुनौतीको रुपमा लिएको छु । मलाई विश्वास छ मेरो कुशल क्षमतालाई विश्वास गरि जनताले बिजयी गराउनुहुनेछ ।

३) रघुगंगा गाउँपालिकामा केन्द्रको विवाद छ । बहुसंख्यक नागरिकलाई असुविधा हुने गरि अहिले पाखापानीलाई केन्द्र तोकेको छ । बहुसंख्यक नागरिकलाई कसरी सुविधा दिने योजना बनाउनुभएको छ अब ?
– बास्तवमा रघुगंगा गाउँपालिकामा मेरो उम्मेदवारीको प्रमुख एजेण्डा नै रघुगंगा गाउँपालिकामा देखिएको केन्द्र विवाद समाधान गर्नु हो । जसरी हिजो दलहरु र जिल्ला स्थित स्थानीय तह प्राविधिक सहयोग समितीको अबैज्ञानिक सिमा र केन्द्र निर्धारणले अहिले यो समस्या आएको हो । यो समस्या हल गर्नका लागि म स्वयम यस राखु क्षेत्रका अन्य पार्टीका नेताहरुसंग हातेमालो गरि निरन्तर प्रयास गरेको यहाँहरुलाई पनि जानकारी नै छ । तर हामीले निरन्तर दबाब दिएपनि समस्या हल नभएपछि हामी अन्तत निर्वाचन मार्फत आउने जनप्रतिनिधि मार्फत यो समस्या हल गर्ने प्रयासमा छौँ । यदि मलाई जनताले निर्वाचीत गराए भने मैले बहुसख्ंयक नागरिकको सुविधाको लागि गाउँपालिकाको केन्द्र मौवाफाँट राख्ने र झिँ, पाखापानी र कुईनेमंगले क्षेत्रका नागरिकको लागि पाखापानीमा पनि केन्द्र राख्ने योजना बनाएको छु । सरकारले यो समस्या हल नगरेसम्म गाउँपालिका प्रमुख र उपप्रमुख दुबै केन्द्रमा पुगेर जनतालाई दुख नहुने गरि सेवा दिने मेरो योजना छ ।
४ ) गाउँपालिकाको केन्द्र विवाद समाधान गर्ने तपाईसंग के छन आधार ?
– म त्यसै यो गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेको छैन् । मैले अहिले जनतालाई परेको असुविधालाई गहिरो संग बुझेको छु । हिजो जसरी नेताहरुको कमजोरीले अहिले जनतालाई सास्ती खेप्नुपर्ने अबस्था आएको छ यसप्रति म सचेत छु । अब निकट भबिश्यमै नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्दै गरेको अबस्थामा मैले यदि जनताले मलाई निर्वाचीत गराए भने मौवाफाँट र पाखापानी दुबै क्षेत्रमा केन्द्र राख्नका लागि घनिभुत प्रयास गर्छु । संविधानमै व्यवस्था भए अनुरुप बहसंख्यक नागरिक भएको क्षेत्र मौवाफाँटमा गाउँपालिकाको केन्द्र राख्ने र अल्पसंख्यक, जनजातीहरुको बसोबास रहेको पाखापानी क्षेत्रलाई स्वायत्त र बिशेष संरक्षीत क्षेत्रको साथै थप केन्द्र नै राख्ने मेरो योजना छ ।
५) उम्मेदवार भएलगत्तै जनताको घरदैलोमा पुग्नुभएको छ । के भन्छन जनता ?
–हो जब म गाउँपालिका प्रमुखको पदमा उम्मेदवार भए त्यसको भोलिपल्ट देखि नै म जनताको घरदैलोमा छु । रघुगंगा गाउँपालिकाको केन्द्रको समस्याप्रति जनता निकै चिन्तित छन् । रघुगंगा वारीका जनतालाई पाखापानी नै केन्द्र हुनेत होईन भन्ने डर छ भने पाखापानी क्षेत्रका नागरिकलाई केन्द्र कतै मौवाफाँट त सर्ने होईन भन्ने चिन्ता व्याप्त देखेको छु । बुझेका जनताले २० बर्षपछि स्थानीय जनप्रतिनिधि चुन्न हुन लागेको निर्वाचन मार्फत नै जनतालाई यो समस्याको हल गरि सुविधा दिनुपर्छ भन्ने मान्यता राखेको पाएको छु भने कतिपय जनताले यो समस्या हल नगर्दा सम्म निर्वाचनमा भाग नलिएको भए हुने भन्ने सुझाब पनि आएको छ । मैले जनताका माझमा भनेको छु यदि म निर्वाचित भएँ भने मैले राखु क्षेत्रका नागरिक पाखापानी जानु नपर्ने र पाखापानी क्षेत्रका नागरिक मौवाफाँट आउनु नपर्ने गरि दुबै क्षेत्रमा केन्द्र राखेर सेवा दिन्छु भनेको छु ।
६) जनता विकासको सबालमा के भन्छन् ?
–बास्तवमा भौगोलिक रुपमा विकट यो गाउँपालिकामा विकासका पूर्वाधारहरुको अतिनै आबश्यकता रहेको छ । जनताहरुबाट सडक, खानेपानी, सामुदायिक भवन, खेलकुद मैदान, स्वास्थ्य संस्था, पदमार्ग लगायतका योजनाहरु माग भएका छन् । अहिले घरदैलो र चुनाबी अभियानका क्रममा जनताहरुबाट प्राप्त योजना तथा गुनासाहरुलाई निर्वाचन पश्चात सम्बोधनको लागि प्रयाप्त प्रयास गर्नेछु ।
७) रघुगंगा गाउँपालिकाको समृद्धिको लागि कस्तो योजना बनाउनुभएको छ ?
बास्तवमा रघुगंगा गाउँपालिका सम्भावना नै सम्भावना बोकेको गाउँपालिका पनि हो । अहिले केन्द्र विवादको बिषयम मुख्य एजेण्डा बनेपनि मैले यस गाउँपालिका सञ्चालनको आम्दानीका स्रोतहरुको खोजी गर्ने योजना समेत बनाएको छु । बास्तममा मैले समाजका लागि गरेका योगदान र कामहरुबारे जनतालाई जानकारी नै छ । यदि निर्वाचनमा मलाई जनताले बिजयी गराएभने मलाई सरकारले दिने सेवा सुविधा समेत जनताकै लागि खर्च गर्नेछु । मैले रघुगंगा गाउँपालिकामा सडक, विद्युत, पदमार्ग, सञ्चार क्षेत्र, खानेपानी लगायतका विकासका पूर्वाधारहरुलाई जनताको पहुँचमा पु¥याउने गरि योजना अगाडी सारेको छु भने जलविद्यूत, पर्यटन, खानी उत्खनन् , जडिबुटी लगायतका सम्भावनायुक्त क्षेत्रहरुको उजागर गर्ने योजना बनाएको छु ।
८) समय र सम्बादको लागि यहाँलाई धेरै धेरै धन्यबाद
–गाउँपालिकाको बिषयमा मेरो महत्वपूर्ण भनाईहरु राख्ने अबसर दिनुभएकोमा म्याग्दीअनलाईन परिवारलाई धेरै धेरै धन्यबाद