बेनीमा सम्पर्क विहिन भएका दुई युवाको अवस्था अज्ञात

  • १६ भाद्र २०८२, सोमबार
  • 8763 पटक पढिएको

म्याग्दी, १६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवाको अवस्था पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीको रुपमा कार्यरत कुमार र बेनीको एक स्टोर्ष पसलमा लेखाको हिसाबकिताबको काम गर्ने हरि मिल्ने साथि रहेको खुलेको छ । दुबै जनाले बेनीको बैँक रोडमा रहेको एक होटलमा खाना खाएपछि बाइक चढेर निस्कीएको पत्ता लागेपनि त्यसलगत्तै उनीहरु आफ्नो कोठामा नपुगेको र मोवाइल फोन समेत एकैसाथ स्विच अफ भएपछि आफन्तले खोजविनका लागि प्रहरीमा निवेदन दिएका थिए ।
बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यको आधारमा रिजालद्धय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटो (भाइरल रोड)तर्फ मोडिएको देखिएको र उक्त मोटरसाईकल सो समयमा कालीपुलमा रहेकाे सिसी टिभीमा रेकड भएकाे नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानको आधारमा खोजीकार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार, रिजालद्धयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरु सम्पर्क विहिन भएको समयमा अबिरल बर्षा भएको र बाइकको गति तिब्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानको आधारमा सोमबारदेखि कालीगण्डकी नदी किनारमा खोजी कार्य सुरु गरिएको छ ।
मोटरसाईकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको र रातको समय भएकाले प्रत्येक्षदर्शि समेत नभएको हुँदा वेपत्ता भएका दुबै जनाको अवस्थाबारे एकिन गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । सोमबार दिनभर नेपाल प्रहरी, शसस्त्र प्रहरी र वेपत्ता युवाहरुको आफन्तहरुको टोलीले नदीको किनारमा खोजी गरेपनि दुई युवासंगै उनीहरु सवार रहेको मोटरसाईकलको अवस्था पत्ता लाग्न सकेको छैन् । रिजालद्धयको आफन्तले कुनै कारणबस मोवाईल अफ गरेर बसेको भए छिटो सम्पर्कमा आउन अनुरोध गरेका छन भने दुर्घटनाको भवितव्यमा परेको हुनसक्ने भएकाले कालीगण्डकी नदीमा खोजी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।