आलुको पकेट क्षेत्रमा उत्पादन घट्यो, माग बढ्यो (फोटो फिचर)

  • ३१ श्रावण २०८२, शुक्रबार
  • कमल खत्री
  • 61 पटक पढिएको

म्याग्दी, ३० साउन । आलु उत्पादनमा पकेट क्षेत्र मानिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नांगी, राम्चे, काफलडाँडा क्षेत्रमा आलुको उत्पादन घटेको छ । जिल्लामा मात्रै नभएर पर्वत, बागलुङ र पोखराका बजारमा समेत स्वादिलो र अर्गानिक आलुको रुपमा खपत हुने यस क्षेत्रको आलु उत्पादनमा गिरावट आएपछि माग धान्न सकेको छैन् ।


चिसो हावापानीमा गाइभैँसीको मलमुत्रको मात्रै प्रयोग गरेर खेती गरिने भएकाले यहाँको आलु सहरी क्षेत्रमा रोजाईमा पर्ने गरेको छ । यस वडामा निर्यात हुने खाद्य बालीको रुपमा आलु खेतीलाई लिने गरिएको छ । केहि बर्ष अघि सम्म गाउँमा आलु खेतीबाट किसानहरुले राम्रो आम्दानी गरेपनि अहिले उत्पादन घटेपछि माग धान्न नसक्ने अवस्था आएको नांगीकी अगुवा कृषक समेत रहनुभएकी अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य राममायाँ पुनले बताउनुभयो ।


‘‘ गाउँका अधिकाँशले व्यवसायिक आलु खेती गदैै आएका छन, अघिल्लो बर्ष आलु विक्रि गरेर १ लाख सम्म कमाउने धेरै कृषक थिए, यो बर्ष उत्पादन सोचेजस्तो भएको छैन, माग धेरै आएको छ, स्थानीय बजारमै धेरै आलु खपत हुने सम्भावना छ’’– उहाँले भन्नुभयो । यस बर्ष आलु खेती लगाउने र गोडमेल गर्ने समयमा बर्षा नभएको र खडेरीका कारण उत्पादनमा गिरावट आएको कृषकहरुको भनाई छ । सिंचाईको बैकल्पिक स्रोत र प्रवन्ध नभएकाले आकासे पानीको भरमा आलु खेती गर्नुपर्दा खडेरी पर्ने समयमा किसानहरुले दुःख र परिश्रम अनुसारको फल पाउनबाट बञ्चित बन्दै आएका छन् ।


परम्परागत रुपमा लेकाली क्षेत्रमा उत्पादन भएको आलु आफन्त र नातागोतालाई कोसेलीको रुपमा दिने चलन थियो । धेरै उत्पादन गर्नेहरुले बेशीँमा उत्पादन हुने धान, चामलसंग आलु सटही गर्ने गर्थे । गाउँ गाउँमा यातायातको पहुँच बढेपछि मात्रै लेकाली क्षेत्रमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । पहिले गाउँमा उत्पादन भएको आलु धेरै भएर गाईभैँसीलाई पकाएर खुवाउने चलन रहेकोमा गाउँमा गाडीको सुविधा भित्रिएसंगै आलु विक्रि हुन थालेको नांगीका स्थानीय चन्द्रबहादुर खोरजाले बताउनुभयो ।


उहाँका अनुसार, अहिले गाउँमा उत्पादन भएको आलु विक्रि गरेर स्थानीयले नगद आम्दानी गर्छन् । ठूला आलुका दाना तरकारी पकाएर खान र दाना आलु बिउको रुपमा विक्रि हुने गरेको छ । गत बर्ष १० मुरी आलु विक्रि गर्नुभएका खोरजाले यस बर्ष आलु उत्पादन घटेकाले आफन्तलाई कोसेली पठाउने र घरमा उपभोगमा मात्रै सकिने भएकाले विक्रि गर्न नपुग्ने बताउनुभयो । नांगीमा उत्पादन भएको आलु गाउँबाटै प्रतिकिलो रु ४५ मा विक्रि हुने गरेको छ । यहाँको आलु बजारमा प्रतिकिलो रु ८० देखि १०० सम्ममा उपभोक्ताले खरिद गर्दै आएका छन् । यस गाउँमा रातो, जनकदेव र रैथाने जातको आलु खेती हुने गरेको छ । राम्चेका स्थानीय कृषक ओमबहादुर पुर्जाले बिउको प्रसोधन नगर्ने, खडेरी पर्ने र बाहिरबाट लगेको बिउमा रोगकिरा भित्रिएपछि त्यसको असर आलु उत्पादनमा देखिएको बताउनुभयो ।


जिल्लामा आलुको उत्पादन बढीरहेको सन्दर्भमा पकेट क्षेत्रमा उत्पादनमा गिरावट आउन थालेपछि आलु खेतीमा आबद्ध रहेका कृषकहरु चिन्तित बनेका छन् । म्याग्दीमा आलु खेती जिल्लाबाट निर्यात हुने मुख्य बालीको रुपमा रहेको छ । यस जिल्लाबाट बार्षिक रु १० करोड बराबरको आलु , कुष्मा, बागलुङ, पोखरा, काठमाण्डौ लगायतका बजारमा विक्रि हुने गरेको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह लगायतले जिल्लामा आलु खेती विस्तारमा सहयोग गर्दै आएका छन् । म्याग्दीमा १ हजार ८ सय २० हेक्टर जमिनमा आलु खेती हुने गरेको छ ।          

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l