मल्कबाङका हिराप्रसाद तुलाचनका कथा : ‘गाउँमा जन्मिए, देश–विदेश घुमे, गोठमा जीवन विताए’ (फोटो फिचर)

  • २३ माघ २०८०, मंगलवार
  • कमल खत्री
  • 1008 पटक पढिएको

बेनी, २३ माघ : शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० बर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उहाँको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, बर्षा र चिसोसंग सामना गर्दै बित्ने गरेको छ ।

गोठमा भैँसीहरुलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उहाँको नियमित दैनिकी हो । जीवनको अधिकाँश समय गोठमा विताउनुभएका तुलाचनको भैँसी गोठमा अहिले नौ वटा भैँसी रहेका छन् । उहाँले परम्परागतरुपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आउनुभएको छ । बर्खायाममा लेकाली बुकीहरुमा पु¥याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ ।

घुम्तीगोठहरुलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरुमा गोठ सार्ने गर्छन् । गाउँको फेदीबाट बग्ने खालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राख्नुभएका तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीन वटा ब्याउने भैँसी छन् । ‘‘म सानैदेखि गोठमै हुर्किएको हो, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो,हुन त देश–विदेश पनि घुमे, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ’’–तुलाचनले भन्नुभयो ।

रोजगारको लागि कोरिया गएपनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उहाँको भनाई छ । गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडादेखि म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गर्नुभएका तुलाचनले दुई महिनामै आफ्नो पुख्र्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गर्नुभयो ।

परिवारमा छ दाजु–भाई रहेपनि अन्यले काठमाण्डौ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफुले पुख्र्यौली घुम्तीगोठलाई निरन्तरता दिएको तुलाचन बताउनुहुन्छ । करिब १५ बर्षसम्म भेडाबाख्रापालन गर्नुभएका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आउनुभएको छ । २०÷२५ वटा सम्म भैँसी पाल्ने गर्नुभएका उहाँले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको संख्या घटाउँदै लगेको जानकारी दिनुभयो ।
गोठबाट दूध दिने भैँसी, राँगा र घिउ विक्रि गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उहाँले बताउनुभयो । बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसंगै श्रीमती पनि बजारमा बस्न थालेपनि तुलाचन भने गाउँकै घुम्ती गोठमा रमाउनुभएको छ । ‘‘मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिन, बजारतिर त रोगहरु पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु’’– तुलाचनले भन्नुभयो ।

घुम्तीगोठ भएकाले खर्क र बुकीहरुमा गोठ सारिरहनुपर्ने र त्यसका लागि काम गर्ने व्यक्तिहरुलाई ज्याला दिनुपर्दा गोठको दुःख आफुलाई आम्दानी जति गोठलाई हुने गरेको उहाँले बताउनुभयो । ‘‘एक ठाउँमा गोठ बनाउँन, तीन÷चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कस्ले सुन्ने’’–उहाँले दुखेसो पोख्नुभयो ।

गाउँबाट घुम्ती गोठहरु रित्तिन थालेका छन् । बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन् । गोठ बस्ने दौतरीहरु गाउँ र सहर पसेपछि साथि भेट्नसमेत मुस्किल पर्ने गरेको तुलाचन बताउनुहुन्छ । तुलाचनको उमेरका गोठ बस्ने व्यक्तिहरु अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक कृषक देवान छन्त्यालले बताउनुभयो । उहाँले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यवसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिनुभयो । रासस

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l