ज्ञानोदय माविमा मतदानबाट चुनिए क्याप्टेन र भाइस क्याप्टेन

  • २८ बैशाख २०८१, शुक्रबार
  • 187 पटक पढिएको

म्याग्दी, २८ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि निर्वाचन प्रकृया मार्फत चयन गरिएको हो ।
शुक्रवार विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाब चिन्हका गोपि दर्जीले ७८ मत मत र भाइस क्याप्टेनमा कलम चुनाब चिन्हका बिजन भण्डारीले ७५ मत प्राप्त गरेर बिजयी हुनुभएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समेत रहनुभएका निर्वाचन अधिकृत अर्जुन पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, क्याप्टेनमा कलम चुनाब चिन्हका अजिता भण्डारीले ३४ र भाइस क्याप्टेनमा बल चुनाब चिन्हका अप्सन शर्माले ४१ मत प्राप्त गरेका थिए भने क्याप्टेनमा ८ र भाइस क्याप्टेनतर्प ५ मत बदर भएको थियो । मतदानमा विद्यालयका कक्षा १ देखि १० सम्मका १२६ जना विद्यार्थीहरुमध्ये १२१ जनाले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्यास सहित एक साताको निर्वाचन प्रकृया हुँदै मतदानबाट विद्यार्थीहरुबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको जनाएको छ ।
एक साता अघि क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी खुला गरिएको थियो । निर्धारित समयसिमाभित्र क्याप्टेनमा ५ जना र भाइस क्याप्टेनमा ६ जनाले मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता पछि उम्मेदवारी फिर्ता गर्ने दुई दिनको समयसिमा भित्र क्याप्टेनतर्फका ३ जना र भाइस क्याप्टेन तर्फकाट ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए ।
मतदान मार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रकृयामा विद्यार्थीहरुलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाईएको थियो । विद्यालयका कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीहरुलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरुलाई चुनाब चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिईएको थियो ।
प्रतिस्पधी विद्यार्थीहरुले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरुलाई मत समेत मागेका थिए । विहिवार दिउँसो २ बजदेखि मौन अवधि लागु गरेर प्रचार प्रसारमा रोक लगाईएको थियो । शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्वाधारण गरेर मतदान गराइएको थियो । निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरु सकुन्तला सुवेदीलाई निर्वाचन आयोगको प्रमुख, मिनबहादुर खत्रीलाई निर्वाचन आयुक्त, अर्जुन पौडेललाई निर्वाचत अधिकृत, सजनी मल्ललाई सहायक निर्वाचत अधिकृत, सुरेश थापा र दामोदर रिजाललाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको थियो ।
विद्यार्थीहरुलाई दुई छुट्टाछुट्टै कलरको मतपत्रमा क्याप्टेन र भाइस क्याटेन पदको चुनाब चिन्हमा मत संकेत गरेर मतदान गर्न लगाइएको थियो । मतदानलाई सम्पन्न गर्न विद्यार्थीहरुलाई नै सुरक्षाकर्मीको समेत भूमिकामा परिचालन गरिएको थियो भने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरुले निर्वाचन परिवेक्षकको भूमिका निर्वाह गर्नुभएको विद्यालयका शिक्षक उर्मिला रेग्मीले बताउनुभयो ।
शुक्रवार दिनभर विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न भएको मतदानले संसदीय निर्वाचनको झल्को दिएको थियो । कक्षा ४ देखि १० सम्मको पाठ्याक्रममा नै विद्यार्थीहरुलाई निर्वाचन शिर्षकमा पठनपाठन गराउनुपर्ने र उनीहरुलाई निर्वाचनको व्यवहारिक शिक्षा दिन समेत संसदीय चुनावको सबै प्रकृयालाई अबलम्बन गरेर मतदान गराइएको शिक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
नवविर्नाचित क्याप्टेन दर्जी र भाइस क्याप्टेन भण्डारीले सबै कक्षाकोठामा फोहोर संकलन गर्ने कुचो, डस्बीनको व्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्थापन र अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसंग आबश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
निर्वाचित क्याप्टेन भाइस क्याप्टेनलाई आइतवार विद्यालयले सपथ ग्रहण संगै निर्वाचित भएको प्रमाणपत्र समेत उपलब्ध गराउने जनाइएको छ । विद्यार्थीका समस्याहरुबारे ध्यानकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरुमा सहजीकरण गर्न र विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्न विद्यार्थीहरुमध्येबाटै क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको विद्यालयले जनाएको छ ।