धौलागिरि आधार शिविर जाने पर्यटकलाई ‘सेतिनी भ्याली’मा होटलको सुविधा

  • २१ माघ २०८०, आईतवार
  • 1210 पटक पढिएको

म्याग्दी, २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकहरुलाई लक्षित गरेर होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा युवा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो ।
धौलागिरि आधार शिविरलाई लक्षित गरि सञ्चालनमा ल्याइएको टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको सेतिनी भ्यालीमा पहिलो पटक पर्यटकहरुको लागि खाना र बसोबासको सुविधा सहितको होटल सञ्चालनमा ल्याइएको सञ्चालक पाइजाले जानकारी दिनुभयो ।
‘‘ पदमार्ग सञ्चालनमा आएपनि खान र बसोबासको सुविधा नहुँदा पर्यटकहरुलाई सास्ती भएको थियो, अहिले १० देखि १५ जनालाई बसोबासको समेत सुविधा सहित होटल सञ्चालनमा ल्याइएको छ, यसलाई थप व्यवस्थित गर्दै क्षमता विस्तार गर्ने लक्ष्य राखेको छु’’–सञ्चालक पाइजाले भन्नुभयो । होटललाई स्थानीय स्तरमा पाईने काठको प्रयोग गरेर मौलिकता दिने प्रयास गरिएको छ ।
सेतिनी भ्यालीको ढुंगामाथि समेत पूर्वाधार बनाएर टेन्टमा बास बस्न सकिने बनाइएको छ । समुद्री सतहदेखि २ हजार ६ सय मिटर उचाईमा रहेको यस ठाउँबाट धौलागिरि हिमाल र सेतिनी झरनाको मनोरम दृष्य अवलोकन गर्न समेत सकिन्छ । होटल सुविधा नहुँदा धौलागिरि हिमालको दक्षिणी आधार शिविर जाने पर्यटकहरुले खाना र बसोबासको लागि क्याम्पिङ बन्दोबस्त सहित जानुपर्ने बाध्यता रहेको थियो ।
सेतिनी भ्यालीमा होटल खुलेपछि अव धौलागिरि हिमालको आधार शिविर पुग्न विदेशी पर्यटकहरुलाई बिच बाटोमा एक ठाउँमा मात्रै क्याम्पिङ गर्नुपर्नेछ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–चिमखोला–घ्यासीखक हुँदै सेतिनी भ्यालीसम्म सडकको पहुँच पुगेकाले अब यो पदमार्गको यात्रा अवधि समेत छोटिएको छ । नेपाली पर्यटकहरुका लागि धौलागिरि हिमालको दक्षिणी आधार शिविरको यात्रा अब एक दिनको अवधिमा छोटिएको छ ।


सडक हुँदै सेतिनी भ्याली पुगेका पर्यटकहरुले आधार शिविर हुँदै मुस्ताङको लेते जोड्ने पदमार्गमा तीन दिनमै भ्रमण गर्न सक्ने सुविधा भएको छ । टोड्के–धौलागिरि पानोरम पदमार्गको खोजी र प्रवद्र्धनका लागि आउनुभएका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले सेतिनी भ्यालीको होटलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।
‘‘यस क्षेत्रमा पर्यटनको सम्भावना अथाह रहेको छ, तर सुविधा र पूर्वाधारको अभाब प्रमुख समस्या हुन्, आधार शिविर देखि एक दिन तलको दुरीमा होटल सञ्चालनमा आउनुले पर्यटकहरुलाई धेरै सुविधा र राहत दिएको छ’’– उहाँले भन्नुभयो । धौलागिरि हिमालको दक्षिणी आधार शिविर क्षेत्रको पर्यटन विकासको लागि रघुगंगा गाउँपालिका र वडा कार्यालय समेतले आबश्यक पहल थालेका छन् । (तस्बिर उपलब्ध छ)
कमल खत्री – – –