दानाको विकास मोडेल ‘घरघरमा खानेपानी, टोलटोलमा पदमार्ग’ (फाेटाे फिचर)

  • १७ श्रावण २०८१, बिहीबार
  • कमल खत्री
  • 483 पटक पढिएको

म्याग्दीकाे अन्नपूर्ण–३ काभ्रेकी देवी बुढाथोकीलाई धारामा खानेपानीका लागि पालो पर्खनुपर्ने झण्झट हटेको छ । बर्षौदेखि गाउँमा धेरै घरधुरीले खानेपानीको लागि एउटै धारामा आलोपालो गर्दै आएका काभ्रे गाउँका घरघरमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएपछि बुढाथोकीसहित यहाँका ७० घरधुरीलाई खानेपानीको लागि पालो कुर्ने बाध्यता हटेको छ ।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा रु ६४ लाख बजेटबाट काभ्रे गाउँका सबै घरधुरीमा खानेपानी सुविधा पु¥याईएको छ । तुसारेपानीको मुहानबाट पानी ट्यांकी, संकलन र वितरण ट्यांकी सहित वितरण पाइपलाइन र घरघरमा धारा निर्माण गरेर खानेपानी विस्तार गर्ने यस योजनामा स्थानीयले रु २१ लाख बराबरको श्रमदान समेत गरेको निर्माण समितिका सचिब पूर्णबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक काभ्रे गाउँको पुछारबाट गएको छ । केहि बर्षअघिसम्म विकासमा ओझेलमा परेको काभ्रे गाउँमा अहिले भने घरघरमा खानेपानीसँगै टोलटोलमा पदमार्ग निर्माण भएको छ । सडकदेखि पाँच मिनेटको पैदलयात्रामा पुगिने काभ्रे गाउँका सबै टोलमा पदमार्ग बनाइएको छ ।
सडकखण्डदेखि काभ्रे गाउँभित्रका टोल–टोलमा पदमार्ग बनाइएको छ । उकालो भू–भागमा सिँढी र गाउँभित्रको फाँटमा ढलान गरेर पदमार्ग बनाएपछि गाउँमा आवतजावत गर्न सहज भएको छ भने बाटो सफा र चिटिक्क बनेको छ । काभ्रेगाउँदेखि मुरलीबाङ, कामखोलादेखि भुमेथान, डुङडुङदेखि कामखोलासम्म पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि गाउँमा हिँडडुल गर्न सहज भएको स्थानीय ८० बर्षिया लालमायाँ चोचाङ्गीले बताउनुभयो ।
‘‘ पहिले हिड्ने डोरो मात्रै थियो, बाटैभरि झाडी हुन्थ्यो, एताउता गर्दा चिल्लिएर लड्ने डर हुन्थ्यो, अहिले त खुट्टा ठोक्किएला भन्न नी परेर, बाटो बनेपछि हामी वृद्धवृद्धाहरु पनि सजिलै गाउँ घुम्न सक्छौँ’’– चोचाङ्गीले भन्नुभयो । काभ्रेगाउँदेखि पर्यटकीय स्थल बाजा बज्ने ढुङ्गा जाने पदमार्ग समेत निर्माण गर्न थालिएको छ ।
रुप्से झरना, अन्धगल्छी, बाजा बञ्ने ढुङ्गालगायतका चर्चित पर्यटकीय स्थलहरु रहेको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रे गाउँमा मात्रै होइन अन्य बस्ती र टोलमा समेत एक घर एक धारा खानेपानी र पदमार्ग बनाउने अभियान थालिएको छ । विकास निर्माणमा सडक नै पहिलो प्राथमिकतामा पर्ने गरेको सन्दर्भमा दानामा भने घरघरमा खानेपानीको सुविधा र टोलटोलमा पदमार्ग निर्माणलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो ।
‘सडक सञ्जालले पहिरो र भूक्षयको जोखिम बढेपछि हामीले नयाँ सडकको ट्याक निर्माणलाई रोकेर परम्परागत गोरेटो बाटोलाई स्तरोन्नती गरी पदमार्ग बनाउने अभियानको सुरुवात गरेका छौँ, टोलटोलमा जाने परम्परागत गोरेटोबाटोलाई पदमार्गको रुपमा विकास गर्ने र घरघरमा खानेपानी पु¥याउने योजना अघि बढाएका छौँ’’–वडा अध्यक्ष पुर्जाले भन्नुभयो । आर्थिक बर्ष २०८०÷०८१ मा यस वडा कार्यालयले सञ्चालन गरेका पूर्वाधार निर्माण योजनाबाट दानाको चौतारादेखि कोट सम्म, तीतरदेखि थाडाटोलसम्म पदमार्ग बनाइएको छ भने ठाटीटोलदेखि शिवालय मन्दिर सम्म नाली सहितको पदमार्ग बनाइएको छ ।
गत आर्थिक बर्षमा वडा कार्यालयले सञ्चालन गरेको आठ वटा पदमार्ग निर्माण योजनाबाट २ किलोमिटर २ सय मिटर पक्की पदमार्ग निर्माण गरिएको वडाका असिस्टेन्ट सब इन्जिनियर मुकेश सैसवालले जानकारी दिनुभयो । आठ वटा पदमार्ग योजनामा पालिका मार्फत रु ५२ लाख बजेट विनियोजन भएको थियो । परम्परागत साँघुरा डोरो भएको बाटोमा सिँढी चिनेर पदमार्ग बन्न थालेपछि एक गाउँदेखि अर्को गाउँ जाने बाटोहरु व्यवस्थित, सफा र चिटिक्क बनेको दानाका वडा सदस्य लालबहादुर पुनले बताउनुभयो ।
दानाको काभ्रे, दुवाडी र बजार टोलमा एक घर एक धारा खानेपानी सुविधा विस्तार भएको छ भने अन्य टोल बस्तीमा खानेपानीको सुविधा विस्तारको काम भैरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत मतिचौरको खानेपानी मुहानबाट गाउँसम्म मुख्य पाइपलाइन र पानी ट्यांकीहरु निर्माण गरिसकिएको छ भने वितरण पाइपलाइन मार्फत दानाको डाँडागाउँ, रिग्म, घट्टेडाँडा, वडा कार्यालय लगायतका बस्तीमा एक घर एक धारा खानेपानी सुविधा विस्तारको चरनमा रहेको छ ।          

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l