बिलाउँदैछ बलभद्रको चिनो

  • १ फाल्गुन २०७३, आईतवार
  • 2403 पटक पढिएको

n

काठमाडौं- राष्ट्रिय विभूति तथा नालापानी युद्धका नायक बलभद्र कुँवरले निर्माण गरेको काठमाडौं, इचंगुनारायणस्थित दुई सय वर्ष पुरानो घरको अब अवशेष मात्र बाँकी छ। नालापानीबाट फर्केपछि बलभद्रले विसं १८७२ मा निर्माण गरेको उक्त घरको संरक्षण हुन सकेको छैन। कमजोर धरोहर गत वर्षको भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो। घरसँगै बलभद्र तथा उनका अन्य दुई दाजुभाइ मिलेर बनाएको भगवतीको मन्दिरसमेत भूकम्पबाट जर्जर छ।

०२१ को नापीमा बलभद्रको घरसहितको जग्गा बाग्मती सफाइका अभियन्ता हुतराम वैद्यको नाममा दर्ता भएको थियो। उक्त घरको संरक्षणका लागि कुँवरका पाँचाँै पुस्ताका सन्तान तथा दरबारस्कुलका पूर्व प्रधानाध्यापक रामराज कँुवरलगायतले प्रयास गरेका पनि थिए। तर घरजग्गा अर्कैको नाममा रहेकाले संक्षण गर्न नसकिएको कुँवरले बताए। ‘ऐतिहासिक महŒवको उक्त घर संरक्षण गर्न पटकपटक प्रयास गर्‍यौं, तर अर्कैको नाममा रहेकाले समस्या भयो’, उनले भने। घर संरक्षणका लागि वैद्य सकारात्मक रहे पनि उनको मृत्युपछि उनका सन्तानले सहयोग नगरेको कुँवरले जानकारी दिए।

बलभद्रले निर्माण गरेको मन्दिरलाई भने गुठीमार्फत संरक्षण प्रयास भइरहेको उनले जानकारी दिए।

२०७२ को भूकम्पअघि स्थानीयद्वारा गाई बाँध्ने तथा पराल राख्नेलगायत काममा प्रयोग हुँदै आएको पुरानो शैलीको उक्त घरको अब भग्नावशेष मात्र बाँकी छ। पुरानै शैलीमा निर्माण गरेर ऐतिहासिक धरोहरका रुपमा विकास प्रयास भइरहेको कँुवर फाउन्डेसनका अध्यक्ष रामकृष्ण कँुवर बताउँछन्।

‘हामीले कुँवर फाउन्डेसन तथा बलभद्र प्रतिष्ठानमार्फत पनि उक्त क्षेत्र संरक्षणका लागि प्रयास गरिरहेका छाँै, तर सबै पक्षको सहयोगबिना काम अघि बढ्न सकिरहेको छैन’, उनले भने। व्यक्तिगत ढंगले खरिद गरेर भए पनि बलभद्रले निर्माण गरेको घरको संरक्षणका लागि प्रयास गरिरहेको कँुवरको भनाइ छ। बलभद्रका पाँचौँ पुस्ताका सन्तान रामराज दुई सय वर्ष पुरानो ऐतिहासिक महŒवको उक्त घरलाई पुरातŒव विभागले संरक्षण गर्नुपर्ने बताउँछन्।

अनौपचारिक कार्यक्रममा विभागका महानिर्देशक भेषनारायण दाहालले उक्त क्षेत्रको संरक्षणका लागि पहल गर्ने विश्वास दिलाए पनि काम नभएको उनले सुनाए।

विभाग भने निजी स्वामित्वको सम्पत्ति विभागले सिधै संरक्षण गर्न नमिल्ने भन्दै पन्छिएको छ। प्रवक्ता रामबहादुर कुँवरका अनुसार विभागले सार्वजनिक स्वामित्वका सम्पदा आफैं संरक्षण गर्ने भए पनि व्यक्तिगत सम्पदा संरक्षणका लागि पहल गर्न मिल्दैन।

‘व्यक्तिगत सम्पत्तिलाई हामीले सिधै पहल गर्न मिल्दैन’, सम्बन्धित पक्षले निवेदन दिए संरक्षणका लागि पहल गर्न सकिने कुँवरको भनाइ छ। निवेदन नआएकाले संरक्षणको काम अघि बढ्न नसकेको उनले जनाए।

संस्कृतिविद् डा. रमेश ढुंगेल बलभद्रसँग जोडिएको ऐतिहासिक सम्पत्तिको संरक्षण हुन नसक्नु ‘दुभार्ग्यपूर्ण’ भन्छन्। राष्ट्रनिर्माताका बारे विस्तृत अध्ययन–अनुसन्धान गर्ने तथा उनीहरुसँग जोडिएका विषयलाई संरक्षणप्रति राज्य संवेदनशील नभएको ढुंगेलको आरोप छ।

‘राज्यले आफैं पहल गर्नुपर्ने हो तर व्यवहार हेर्दा इतिहास बिर्संदै गएको महसुस हुन्छ’, उनले गुनासो गरे।

बलभद्रले निर्माण गरेको मन्दिरमा रहेको मूर्तिलाई समेत व्यक्तिको घरमा राखेर पूजाआजा गरिँदै आएको छ। सुरक्षाका कारण बलभद्रले स्थापना गरेको मूर्ति मन्दिरमा राख्न नसकिएको रामराज कुँवर बताउँछन्। ०३२ सालतिर मन्दिरमा रहेको ठूलो मूर्ति हराएको र पछि भेटिएपछि पुरातŒव मातहतमै रहेको जनाउँदै कँुवरले सुरक्षा कारण मुख्य मूर्ति पनि मन्दिरका संरक्षक रत्न श्रेष्ठको घरमा राखिएको जानकारी दिए।

बलभद्रले वीर भगवतीको मूर्ति नालापानी युद्धमा जाँदा जन्तर बनाएर लगाएको र फर्केपछि पाँच इन्च अग्लो मूर्ति स्थापना गरी मन्दिरसमेत निर्माण गरिएको किंवदन्ती छ। मन्दिरसँगै दुई सय वर्ष पुरानो घण्ट र शिलापत्र पनि छन्।

सन् १८१४ देखि १६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा नालापानी किल्लाको नेतृत्व सम्हालेका कुँवर नेपालले सुगौली सन्धिमा हस्ताक्षर गरेपछि काठमाडौं फर्किएर इचंगुमा घर बनाएर बसेका थिए। आफ्नो भूमिरक्षाका लागि जस्तोसुकै लडाइँ लड्न तयार भएका कुँवर सुगौली सन्धिमार्फत नेपालले एकतिहाइ जमिन गुमाएपछि नेपालमा शान्तले बस्न सकेनन्।

त्यसपछि उनी अंग्रेजसँग बदला लिन भन्दै अंग्रेजविरोधी तत्कालीन पन्जाब (हाल पाकिस्तान) का महाराजा रञ्जित सिंहको फौजमा भर्ना हुन लाहोर पुगेका थिए। त्यहाँ नेपाली फौजको नेतृत्व सम्हालेका कुँवरले सिख–अफगानिस्तान युद्धका बेला १२ मार्च १८२३ मा ३३ वर्षको उमेरमा ज्यान गुमाएका थिए।