म्याग्दीको सिंगामा उत्पादित दुध पोखरा निर्यात
- २२ आश्विन २०८२, बुधबार
- कमल खत्री
- 429 पटक पढिएको
म्याग्दी , २२ असोज । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा उत्पादन भएको दुध पोखरामा निर्यात हुन थालेको छ । गाउँमा उत्पादन भएको दुध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दुध संकलन गरेर पोखराको सुजल डेरी उद्योगलाई विक्रि गर्न थालेको हो । वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रा.लि.बिचमा दुध उत्पादन तथा खरिद विक्रिको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दुध पोखरा पठाउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।
म्याग्दीको स्थानीय बजारमा गाईको दुध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दुध संकलन गर्ने र उद्योगले आफै आएर दुध खरिद गरेर लैजाने व्यवस्था मिलाईएको अगुवा कृषक समेत रहनुभएका सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो । ‘‘अहिलेसम्म भैँसीको दुध मात्रै बेनीमा खपत हुने गरेको थियो, अब गाई र भैँसीको दुध नै विक्रि हुने सुनिश्चित भएको छ, कृषकले जति उत्पादन गरेपनि उद्योगले दुध खरिद गर्ने सम्झौता भएको छ’’– उहाँले भन्नुभयो ।
बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्रमा दुध संकलन गर्ने र ५ सय लिटर बढी दुध संकलन भएपछि उद्योगले आफै ढुवानी गरेर दुध लैजाने व्यवस्था मिलाईएको छ । मंगलवार पहिलो दिन ७५० लिटर दुध उद्योगले खरिद गरेर लगेको सहकारीले जनाएको छ । दुग्ध संकलन केन्द्रमा अहिले २० जना कृषकहरुले दैनिक रुपमा दुध विक्रि गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दुध ढुवानी गर्ने ट्यांकर अहिले दुई दिनमा एक पटक सिंगा आएर दुध ढुवानी गरी लैजान थालेको छ ।
मेसिनबाट दुधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीय स्तरमा उत्पादन भएको दुधलाई पोखरा निर्यात गर्ने प्रवन्ध मिलाईएको बेनी नगरपालिका– ४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार, कृषकहरुलाई १५÷१५ दिनमा दुधको रकम भक्तानी हुने सम्झौता गरिएको छ । ‘‘ गाईको दुधले बजार पाउने अवस्था थिएन, कतिपय समुदायले उत्पादन गरेको दुध स्थानीय बजारमा खपत हुने अवस्था थिएन, अब यि सबै समस्याको समाधान भएको छ’’–वडा अध्यक्ष खड्काले भन्नुभयो । गाईको दुधले बजार पाउने सुनिश्चित भएपछि सिंगामा गाईपालनको लहर चलेको छ । सिंगामा यस अघि शुभकामना कृषि सहकारी संस्थाले कृषकहरुको दुध संकलन गरेर बेनी बजारमा बजारीकरण गर्दै आएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l