भगवती कोत मन्दिरमा राँगोको मार हान्न करिब पाँच लाखको बोलकबोल !

  • १५ आश्विन २०८२, बुधबार
  • 537 पटक पढिएको

म्याग्दी  १५ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) करिब रु पाँच लाखको बोलकबोल भएको छ । गयराती भएको कालरात्रीमा खुला बढीबढाउमा रघुगंगा गाउँपालिका–२ नांगनांगी निवासी भगवान खत्रीले सबैले भन्दा बढी रु चार लाख ९२ हजार रकम कबोल गरी सरकारी मार हान्नका लागि छनौट हुनुभएको भगवती युवा क्लबका सचिब हिमाल रिजालले जानकारी दिनुभयो । 
उहाँका अनुसार, बढीबढाउमा सहभागी ७ जनाबिचमा सरकारी मार हान्नका लागि बढीबढाउ प्रतिस्पर्धा भएको थियो । एक घण्टाको समयसिमा निर्धारण गरी सरकारी मार हान्नका लागि बढीबढाउ गर्ने प्रचलन रहेको छ । भगवती कोत मन्दिरमा सरकारी मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण सरकारी मार हान्न धेरै जनाको प्रतिस्पर्धा हुने भएकाले बढीबढाउ मार्फत सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै सरकारी मार हान्न दिने परम्परा रहेको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
गत बर्ष भगवती कोत मन्दिरमा रघुगंगा गाउँपालिका– ३ अक्षेताका सोवित भण्डारीले सबैभन्दा धेरै रु ४ लाख ७१ हजार रुपैयाँ रकम तिरेर सरकारी मार हान्नुभएको थियो । त्यसैगरी वि.स. २०८० सालको नवमिमा रु ३ लाख ३० हजार , २०७९ सालको नवमीमा रु ३ लाख १५ हजार, २०७८ सालको नवमीमा रु ३ लाख, २०७६ सालको नवमीमा रु २ लाख ८० हजार सरकारी मारको बढीबढाउ भएको थियो ।
जिल्लाकै पुरानो र ऐतिहासिक कोत मन्दीरको रुपमा परिचित भगवती कोतमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।