टोड्के–धौलागिरि पानोरमा पदमार्ग :‘डाँडामा प्रकृति गाउँमा संस्कृति’ (फोटो फिचर)

  • १८ माघ २०८०, बिहीबार
  • कमल खत्री
  • 635 पटक पढिएको

म्याग्दी १८ माघ । अग्ला पहाड । घना जंगल । शान्त वातावरण । मनोरम दृष्यको अवलोकन र गाउँको मौलिक आतित्यथा टोड्के–धौलागिरि मानोरमा पदमार्गको मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने गरि टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्केदेखि मालिका धुुरी–ठाडाखानी–कुुइनेखानी–चौरखानी–घ्यासीखर्क–चिमखोलाको सेतिनी भ्याली– कछुुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुुस्ताङको लेते निस्कने गरि परिकल्पना गरिएको टोड्के–धौलागिरि पानोरमा पदमार्गको अध्ययन गरिएको छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र रघुगंगा गाउँपालिकासंगको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले एक साता लामो स्थलगत पदयात्रा गरेर यस पदमार्गको खोज, अनुुसन्धान तथा प्रवद्र्धन गरेको हो ।
टोड्के–धौलागिरि पानोरमा पदमार्गको प्रारम्भिक अध्ययन तथा खोज गरिएको र यस क्षेत्रमा पदमार्ग, होटल, टि हाउस, क्याम्पिङको लागि खानेपानी लगायतका पूर्वाधार बनाउन सके नियमित रुपमा पर्यटकहरु भित्र्याउन सकिने सम्भावना भेटिएको टान गण्डकीका उपाध्यक्ष तथा अध्ययन टोलीका संयोजक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
‘‘यो पदमार्गको सम्भावना धेरै छ, गाउँको मौलिक संस्कृति र रहनसहनदेखि छोटो अवधिमा धौलागिरि हिमालको नजीकै पुग्न सकिन्छ, मुख्य कुरा आधारभूत पर्यटन पूर्वाधार बनाउनतर्फ अब जोड दिनुपर्छ’’–आचार्यले भन्नुभयो । डाँडा, घना जंगल र शान्त वातावरणमा मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै यात्रा गर्न पाउनु यस पदमार्गको मुख्य आकर्षण हुन् ।
पर्यटनका लागि चाहिने नेचर, कल्चर र एडभान्चर तीन वटै पक्ष यस पदमार्गको मुख्य आकर्षण हुनुले पनि यसलाई सञ्चालनमा ल्याउन सके पर्यटकहरुको बसाई लम्बाउने देखि स्थानीयको आयआर्जन सुधारमा टेवा पुग्ने उपाध्यक्ष आचार्यको विश्वास छ । ‘‘ डाँडाकाँडामा पुग्दा मनमोहक प्रकृति र गाउँमा पुग्दा मौलिक संस्कृति भेटिने यस्ता पदमार्ग कमै छन, यसको प्रवद्र्धनमा टानले अगुवाई गर्छ, पूर्वाधार बनाउन सरकारको तत्परता चाहिन्छ’’– उहाँले थप्नुभयो ।
गण्डकी प्रदेशका मुख्य पर्यटकीय पदमार्गहरु सडक सञ्जालले विस्थापित बन्न थालेपछि टानले नयाँ पर्यटकीय पदमार्गहरुको खोजी र अध्ययन सुरु गरेको हो । टोड्के–धौलागिरि पानोरमा पदमार्गलाई लामो र छोटो दुरीमा आबश्यकता अनुसार यात्रा गर्न सकिने भएकाले पनि यो पदमार्गमा पर्यटन विकासको सम्भावना बढी रहेको टानका सदस्य दिपक प्रसाद सापकोटा बताउनुहुन्छ । यस अघि टानकै नेतृत्वमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमै जोड्ने गरि टोड्के–धौलागिरि पानोरमा पदमार्गलाई रेखाङ्कन गरिएको छ ।
सडक सञ्जालको पहुँचले पदमार्ग मासिनु र पर्यटकहरुको पदयात्रा छोटिनुले पर्यटन क्षेत्र संकटमा पर्दै गएको अवस्थामा टोड्केदेखि धौलागिरि आधार शिविर हुँदै मुस्ताङको लेते जोड्ने गरि पहिचान भएको यस पदमार्गले पर्यटन क्षेत्रमा नयाँ सम्भवनाको उजागर भएको टान गण्डकीका सचिब तिर्थराज सुवेदीले बताउनुभयो ।
‘‘मनोरम हिमाल र प्राकृतिक सुन्दरताको अवलोकन, मौलिक कला र संस्कृतिको मनोरञ्जन लिन पाउनु यस पदमार्गको प्रमुख आकर्षण रहेछन्, हामीले यस पदमार्गको सम्भावना अधिक देखेका छाँै, पर्यटन पूर्वाधार बनाउन स्थानीय सरकार र प्रदेश सरकारले ध्यान दिन जरुरी छ’’–उहाँले भन्नुभयो । यस पदमार्गले समेटिएका बस्तीहरुमा बसोबास रहेका मगर र छन्त्याल समुदायको मुख्र्यौली मादले मारुनी नाच, यानीमाया, सालैजो, थाली नाच, ग्रामीण जीवनशैलि र रहन सहन पर्यटकहरुको लागि थप आकर्षणको रुपमा रहेका छन् ।
पदमार्गले समेटिएका बस्तीहरु ढंगाले छाएर बनाएका परम्परागत घरहरुले चिटिक्क मिलेर बसेको हुँदा यो क्षेत्र परम्परागत ग्रामीण जीवनशैलिको अध्ययन गर्ने थलोको रुपमा समेत विकास गर्न सकिने पर्यटन व्यवसायी विश्वराज अधिकारी बताउनुहुन्छ । विभिन्न वन्यजन्तु, वनस्पति, पक्षी, ताल, झरना, धार्मिकस्थललगायत यस पदमार्गका थप आकर्षणको रुपमा रहेका छन् । टोड्केबाट सुरु हुने यो पदमार्ग घ्यासीखर्क पुगेपछि धौलागिरि सेञ्चुरी र धौलागिरि आइसफल पदमार्गसंग जोडिएको छ । अध्ययन टोलीमा सहभागी रघुगंगा गाउँपालिका– ५ झिँका वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले रघुगंगा गाउँपालिकाको पर्यटन विकासमा यो पदमार्गले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल गर्ने बताउनुभयो । रासस            

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l