बाजा बज्ने ढुङ्गा (फोटो र भिडियो सहित)
- ६ माघ २०७३, बिहीबार
- 3001 पटक पढिएको
दायातर्फ लस्करै मिलेर बसेको सानो काभ्रे गाउँ । तलपट्टी छङछङ गर्दै झर्ने रुप्से झरना । केही तल संसारकै गहिरो अन्ध गल्छी । पूर्व तर्फ सेताम्मे अन्नपूर्ण हिमाल र खोप्रा लेक । सुख्खा खरले ढाकेको भीर । खरले ढाकेको भीर भन्दा केही माथि एउटा चुचुरो परेको ठूलो ढुङ्गा । त्यही ठूलो ढुङ्गामा रहेका स–साना ढुङ्गाका चुचुराहरु बजाउँदा दुरुस्त नौमति बाजा जस्तै बज्छन् । त्यो ढुङ्गाको नाम हो “नौमति बाजा ढुङ्गा” । प्रकृतिले बरदानको रुपमा दिएको नौमति बाजा ढुङ्गा म्याग्दीको दाना गाविस वडा १ र २ काभ्रे गाउँ मा पर्छ । काभ्रे साँच्चै पर्यकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको गाउँ हो । यहाँका मानिसहरु फरासिला छन् । गाउँ पनि सफा र सुन्दर । मगर जातिको बाहुल्यता रहेपनि क्षेत्र, गुरुङ, राई, लिम्बु, थकाली, तामाङ, दलित लगायतका जातजातिको बसोबास छ । त्यसैले पनि होला अनेकतामा एकता झल्किन्छ यो गाउँमा ।
झट्ट सुन्दा पत्याउनै गाह्रो हुन्छ ढुङ्गा बाजा जस्तो बज्छ भन्दा । सायद तपाईलाई पनि पत्याउन गह्रो होला तर यो साँचो हो । पहिलो पटक सुन्दा मलाई पनि त्यस्तै भएको थियो । जब नौमति बाजा ढुङ्गामा पुगियो यथार्थ थाहा भयो । स्थानीय जनताहरु त्यसलाई नौमति बाजा ढुङ्गा भन्छन् । बाहिर यदाकदा “बाजापार”,“बाजा पहाड” लगायतका नाम पनि सुनिन्छ । त्यही ढुङ्गा हेर्नका लागि म, अमृत भादगाउले, सुरेन्द्र राना(गुरिल्ला), दिनेशनारायण श्रेष्ठ बेनीबाट माघ १ गते काभ्रे पुगेका थियौ । त्यो ठाउँको यात्रा मेरो लागि नौलो थिएन् । रुप्से छहरा हुँदै त्यो बाटो धेरै पटक हिडिएको थियो । तर त्यही रुप्से झरनाको शिरमा रहेको नौमति बाजा बज्ने ढुङ्गा भने पुगेको थिईन् । गाउँबाट साढे दूई घण्टा भन्दा धेरै पैदल यात्रा गर्नुपर्छ भन्ने सुनेको थिए । तर गाउँबाट आधा घण्टाको अवधिमा त्यहाँ पुग्न सकिने रहेछ ।
अघिल्लो दिन बेनी–जोमसोम हाईवेमा रहेको बरुवाल होटलमा बस्यौ । भोलिपल्ट अर्थात माघ २ गते होटलका सञ्चालक गोविन्द बरुवालले हामीलाई त्यतातर्फ लगे । काभ्रे गाउँ हुँदै नौमति ढुङ्गातर्फ जाने सल्लाह भयो । गाउँमा पुग्दा स्थानीय हस्तबहादुर दाई, वडा अध्यक्ष नरबहादुर पुन लगायतका मानिसहरु हामीले आउने खबर जम्मा भईसकेका रहेछन् । हस्तबहादुर दाईले भैसीको दुध खुवाए । खाटी लोक्कल दुध खान पाउँदा जिव्रोले नयाँ स्वादको आभाष पनि ग¥यो । स्थानीय कला र संस्कृति समेत हेर्ने कार्यक्रम भएपनि विशेष कारणवश त्यो सम्भव भएन् । गाउँमा काप्रो भन्ने अचार बनाउने मिल्ने प्रजाति धेरै फल्ने भएकोले गाउँको नाम काभ्रे राखिएको स्थानीयहरुले बताए । हामी छलफल गर्दै थियौ त्यहीबेला तुलप्रसाद गौचन टुप्लुक्क आए । उनी स्थानीय शिक्षक समेत रहेछन् । उनले हामीलाई धेरै कुराको सहजीकरण गराए । आफुहरुले गाउँलाई होमस्टेको रुपमा अगाडि बढाउन चाहेको बताए ।
छलफल जारी राख्दै हामी नौमति बाजा ढुङ्गातर्फ लाग्यौ । मन निकै उत्साहित थियो ढुङ्गामा नौमति बाजा बजाउन । अग्रपंक्तिमा स्थानीयहरु थिए, त्यसपछि दिनेश दाई र म त्यसपछि । हामीलाई दाना काभ्रे लैजाने गुरु सूर्य केसी, अमृत दाई, गरिल्ला त्यसपछि । खरले ढाकेको भीर, नाकले जोत्ने खालको उकालो थियो थोरै भएपनि । उकालो कटेपछि रुप्से छहराको शिरमा पुगियो । रुप्से छङछङ आवाज सुनियो तर धेरै गहिराईमा भएकोले देख्न सकिएन । गाउँ चिटिक्क देखियो । तल अन्ध गल्छी देखा प¥यो । खोप्रा, नारच्याङ, सोलीघोप्टे(केही समय पहिले जहाड दुर्घटना भएको ठाउ) अन्नपूर्ण हिमाल मुस्कुराए । प्रकृतिलाई हेरेर आनन्द लिईरहेका थियौ । एकैछिन पछि थोरैमाथिबाट आवाज सुनियो “गुन्न…. गुन्न….” साँच्चै नौमति बाजा जस्तै । कहाँबाट बाजा बज्यो ध्यान तानियो । हामी पनि हतार हतार त्यतै लाग्यौ । सुनील पाईजाले घरबाट टुकटुके लिएर आएका रहेछन् बाजा बजाउन । उनैले ढुङ्गा बजाउँदै थिए । एकछिन् त पत्याउनै गाह्रो भो । झट्ट हेर्दा केही देखिदैन पुरै ढुङ्गा जस्तो । तर त्यहाँ विभिन्न आकार प्रकारका बाजा थिए, सोही अनुरुप बज्थे । उनले बाजा चिनाउँदै क्रमशः ट्यामकुली, ढोलक बजाउन थाले । दमाह, ढोलक र ट्याम्कुली दुरुस्तै सुनीयो । स्वयम् त्यो स्थानमा नपुगेसम्म पत्याउनै गाह्रो हुन्छ । एकछिन त मलाई पनि यो केही होईन जस्तो लाग्यो । त्यही ढुङ्गामा रहेको अर्को चुचुरो बजाए बजेन ढुङ्गाको ट्याक्क आवाज आयो । अनि ट्याम्कुली जस्तै देखिने ढुङ्गा बजाए दुरुस्तै ट्याम्कुली बज्यो । अनि पत्याउन कर लाग्यो ।
स्थानीयहरु सहित हामी झन्डै १५ जना भन्दा धेरै थियौ त्यहाँ । स्थानीय शेरबहादुर पाईजाले नौमति बाजा ढुङ्गाको किंवदन्ती सुनाउन थाले । “परापूर्व कालमा त्यहाँ पूजा गर्ने बेलामा दर्शनेहरु(नौमति बाजा बजाउनेहरु)ले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान प्रशन्न भए । त्यसपछि भगवानले के वर माग्छौ भाग भन्दा दर्शनेहरुले सुन मागे । भगवानले त्यसो भए म रुप्से खोला एकैछिन् सुकाईदिन्छु भनेर खोला सकाए । तिमिहरुले बञ्चरोले सुुनको ढिकमा एक पटक हान्नु जति आउँछ त्यति लगेर जानु भन्ने आदेश भएछ । खोला सुकेपछि दर्शनेले एकपटक बञ्चरोले हानेछन् सुनको सानो चोईटा आएछ । त्यसपछि मानिसको जात न हो लोभले गर्दा पुनः अर्कोपटक पनि बञ्चरोले हान्दा भगवान रिसाएछन् रुप्से खोला बौलायो । त्यहाँ भएका सबै दर्शनेलाई बगाएछ तर नौमति बाजा भने त्यही रहेछ । पछि त्यो ढुङ्गामा तीनै नौमति बाजाहरुका स्वरुप रहेको हो ।”
पहिले सबै बाजाको वास्तविक आकार भएपनि अहिले बजाउँदै जादा सबै भाचिएको उनीहरुले बताए । समयमै नौमति बाजा ढुङ्गाको संरक्षण नगर्ने हो भने बजाउँदै जादा एकदिन कुनैपनि अवशेष नरहने सम्भावना देखियो । स्थानीयहरुले संरक्षणका लागि विभिन्न निकायहरुसँग कुरा गरेको बताएपनि उपलब्धी भने केही देखिएन् । पहिले सानो लठ्ठीले हान्दा बज्ने भएपनि अहिले धेरै जोड्ले हान्नु पर्दोरहेछ । दमाह, ट्याम्कुली र ढोलक दुरुस्तै बज्दो रहेछ । अरु बाजा भने बजाउन सकिएन । साथीहरुले एकछिन सबै बाजा बजाउँदा एकातर्फ बडो आनन्द आयो अर्कोतर्फ भने अचम्मीत पनि तुल्याएको थियो । गुरिल्ला नाचि हाले बाजाको तालमा । एकछिन् नाचगान चल्यो । हेर्दा सामान्य लाग्ने त्यस ढुङ्गामा धेरै कुरा लुकेको छ । प्रचारप्रसारमा ढिला भएको महसुस भयो ।
त्यहाँ भन्दा केही माथि थनपति देवता रहेछन् । लामो समयसम्म पानी परेन अर्थात खडेरी प¥यो भने त्यहाँ गएर पुजा आजा गर्ने, रुप्से खोलामा पानीमा खेल्ने हो भने साँझमा पानी पर्ने गरेको उनीहरुको भनाई थियो । त्यही ठाउँबाट पाईजा जातका राजा वस्थे । उनलाई बाघले लेखेटेको हुनाले म सत्य छु भने यहीबाट अलाप हुन पाउँ भनेको र त्यही ठाउँबाट अलाप भएको गाउँलेको मान्यता छ । सोही स्थानमा राजाथरी, राजाको पाईला र बाघको पाईला समेत रहेको छ । एकैछिनको नौमति बाजा ढुङ्गाको बसाईपछि यात्रा गाउँतर्फ नै फर्कीयो । भिरमा हिड्न डराउने सुरेन्द्र दाई जादा पनि पछि भए आउँदा पनि पछि नै । गाउँका अधिकाँस युवाहरु विदेशमा छन् । बाटोमा हिढ्दै जाँदा एकहुल भैसी भेटियो । यसले गाउँमा पशुपालनको सम्भावनालाई राम्रो छ भन्ने देखायो । गाउँमा पुष, माघ र फागुनको केही समय बाहेक अन्य महिनाहरुमा गाउँको लागि अर्गानिक तरकारी बाहिरबाट ल्याउनुपर्दैन् । गाउँमा धान खेती नहुने भएकोले चामल बाहेक अन्य कुरामा गाउँ आत्मनिर्भर रहेछ ।
गाउँका अधिकाँस बैदेशिक रोजगारमा भएपनि हामी गाउँमा पुग्दा भने धेरै युवाहरु गाउँमै रहेछन् । उमेर २४ मा चलेका सुनील पुर्जा कतार पुगेर आएका रहेछन् । उनी फेरि विदेश जाने सोचमा रहेछन् तर हामीसँगको अन्तरक्रियापछि उनले विदेश नजाने निर्णय गरे । गाउँमै होमस्टेको विकास गरि आत्म निर्भर बन्ने योजना बुने उनले । उनीमात्र होईन गाउँका अधिकाँस युवाहरुले हो मा हो मिलाए । उनीहरुले गाउँमा माछा खेतिको योजना रहेको पनि सुनाए । रुप्से र अन्ध गल्छी हेर्न आउने मानिसहरु र मुस्ताङ जाने मानिसहरुलाई माछा र स्थानीय उत्पादनको स्वाद चखाउन सक्ने हो भने पनि आय आर्जनमा टेवा पुग्छ । रुप्से, अन्ध गल्छि र नौमति बाजा ढुङ्गालाई जोडेर राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तर बाजा बजाउँदै जाँदा कालान्तरमा ढुङ्गाहरु फुटेर बाजा नबज्ने सम्भावना पनि त्यत्तिकै छ । त्यसैले सबै बाजाहरु बजाएर डकुमेन्ट्री बनाएर आउने पर्यटकलाई देखाउने तर बजाउन नदिने वा नरम वस्तुले बाजा बजाउने गर्दा मात्र दिर्घकालिन रुपमा बाजा जोगाउन सकिने उपाए सुझायौ ।
म्याग्दी र मुस्ताङको सिमा क्षेत्रका गाउँ भएपनि राज्यले आफूहरुलाई वेवास्ता गरेको गुनासो गरे स्थानीयहरुले । तुल प्रसाद गौचनले गाउँमा होमस्टे निर्माणका लागि मध्यमार्गीको भूमिका निर्वाह गर्न हामीलाई आग्रह गरे । गाउँको पर्यटन विकासका लागि धेरै समयसम्म छलफल भयो । खाना खानाका लागि तातोपानी आउने योजना थियो तर स्थानीयको जोडवलले त्यही खाना खाने निर्णय भयो । दिन आधा ढल्नै लाग्दा खाना तयार भएको जानकारी आयो । होमस्टे शैलीमा खाना आयो । मकैको ढिडो, सिस्नो र भाँगोको अचार, साग र भट्टको तरकारी, सिमिको दाल, लोक्कल भैसीको दुध । खानाको स्वाद र पस्कने शैली देखेर होमस्टे सञ्चालनका लागि तालिम नलिएपनि उत्कृष्ट भएको अमृतदाईले सुनाउभो । अर्गानिक खानाको स्वाद लिने अवसर धेरै समय पछि जुरेको थियो । यो अवसर हामीलाई राजेश शाक्य दाईले जु¥याउनु भएको थियो । उहाँकै पहलमा तयार हुन लागेको “डेष्टीनेशन अफ बेनी” पुस्तकको तयारीका लागि अमृत दाई बेनी आउनु भएको थियो । त्यही शिलशिलामा बाजा बज्ने ढुङ्गालाई पनि प्रचार गर्नुपर्छ भन्ने उद्देश्यले हामी त्यहाँ पुगेका थियौ ।
स्थानीय जनताको आतित्थ्यता, स्वागत सत्कारले हामीलाई अघिल्लो रात गाउँमा वस्न नपाएको पछुतो भयो । नौमति बाजा ढुङ्गा, रुप्से र अन्ध गल्छीले काभ्रेको पर्यटनलाई थप उचाईमा पु¥याउने देखिन्छ । पर्यटनको प्रचुर सम्भावना बोकेको काभ्रेका जनताहरुले नौमति बाजा ढुङ्गा हालसम्म पनि प्रचारप्रसारको अभावमा रहनु हामी सबै नेपालीको दुर्भाग्यको कुरा हो । त्यसैले सबैले यतातर्फ ध्यानदिनुपर्ने आवश्यक छ ।
तस्विर ः सन्दीप खत्री
भिडियोः सुरेन्द्र राना