हिमपातको कारण अन्नपूर्ण आधार शिविर जान रोक, सुरक्षाकर्मीको टोली परिचालन
- १२ कार्तिक २०८२, मंगलवार
- 161 पटक पढिएको
म्याग्दी, ११ कात्तिक । मौसममा आएको खराबी र हिमपातको कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा जान रोक लगाईएको छ । गयरातीदेखि भारी मात्रामा हिमपात भैरहेकाले यस क्षेत्रमा गएका पर्यटकहरुको सहजीकरणको लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा गयरातीदेखि भारी मात्रामा हिमपात भैरहेको छ ।
अत्यधिक मात्रामा पर्यटकहरुको आगमन भइरहेको र सञ्चारको पहँुच नभएकाले पर्यटकहरु विरामी पर्ने र अलपत्र पर्ने जोखिम भएकाले अन्नपूर्ण गाउँपालिकासंगको समन्वयमा पर्यटकहरुको सहजीकरणको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलिलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, हिमाली उद्धारकर्मीको रुपमा परिचित इन्द्रसिंह शेरचन समेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएको कारण पर्यटकहरु भारी हिमपातका कारण समस्यामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर आबश्यक सतर्कता अपनाईएको छ ।
जल तथा मौसम विज्ञान विभागद्धारा जारी मौसम बुलेटिन अनुसार, आगामी शुक्रवारसम्म हिमाली क्षेत्रमा हिमपात र बर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रुपमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकाले समेत सूचना जारी गरेर मौसम खराबीको कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिल लगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किीएका पर्यटकहरुलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।