चिमखोलामा सर्बप्रथम थाली नृत्य भित्र्याउने व्यक्ति स्वर्गीय थमान पुन काे हुन ?
- १९ असार २०८१, मंगलवार
- 865 पटक पढिएको
चिम्खोले काईला – बेलायत
चिमखोलामा थाली नृत्य कसरी र कहिले शुरु भयो? कसले भित्र्याए यस थाली नृत्य? भन्ने इतिहाँसको खोजी गर्न जरुरी छ जस्तो लाग्छ। त्यसैले थाली नाँचको इतिहाँस खोताल्दै जानु पर्ने हुन्छ। चिम्खोलामा सर्बप्रथम थाली नृत्य भित्र्याउने व्यक्ति स्वर्गीय हवल्दार थमान पुन थिए। तर आजभोली उनको नाम लगभक गुमनाम जस्तै भएको छ। स्वर्गीय थमन पुन बिक्रम संबत २०१३ सालमा भारतीय सेनाबाट घर बिदामा आफ्नो घर चिमखोला आएका थिए । उनि घर बिदामा रहेको समयमा उनको कान्छी बहिनी जमया पुनको शुभविबहा परेछ । आफ्नो कान्छी बहिनीको शुभविबहाको खुशियालीमा गाउँको परम्परा अन्तर्गत थमान पुन मादले मारुनी (पुर्ख्यौली) नृत्यमा मारुनी बनेर नाचेछन् । मादले मारुनी (पुर्ख्यौली) नृत्य गरे पश्च्यात उनले चिमखोलामा सर्बप्रथम थाली नृत्य र खुकुरी नृत्य पनि प्रस्तुत गरेका थिए। तत्कालिन समयमा दुवै नृत्यहरु पहिलो पटक देखेर उपस्थित चिम्खोलेहरु आश्चार्य चकित भएका थिए रे । थमान पुनले सेतो हड्डीको थाली नचाएका थिए भनेर प्रत्यक्षदर्शिहरु भन्छन। थमान पुनको थाली नृत्यबाट प्रभावित बनेका उनको भाइ खलक तथा जिम्माल खलकको बहिनी हिरा माया पुनले थाली नृत्य टप्पक्कै सिकिन् र थमान पुनले जस्तै गरेर थाली नचाउन शुरु गरिन् ।
हिरा माया पुनले थाली नृत्यबाट चिमखोलालाई चिनाउनमा ठुलो योगदान रहेको छ। त्यस्तै गरि चिमखोलाका अन्य कलाकारहरुको यस थाली नृत्यलाई निरन्तरता दिएको कारणले गर्दा थाली नृत्य नेपाललगायत विस्वका बिभिन्न देशहरुमा थाली नृत्य लोकप्रियता बढिरहेको छ। स्वर्गीय हवल्दार थमान पुन तत्कालिन मुस्ताङ्ग जिल्ला चिमखोला गाउँ पंचायत हाल साबिकको म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिमखोला, निवासी स्वर्गीय जिम्माल बल बहादुर पुनका माहिला छोरा थिए । स्वर्गीय थमन पुन सन् १९२३ सालमा चिम्खोलामा जन्मिएका थिए भने सन् १९४३ सालमा भारतीय सेनामा आबद्ध भएका थिए। उनको आर्मी नम्बर ५७३३१७३ हो। उनि भारतीय सेनाको आधारभुत तालिम सके पश्च्यात उनि २/८ गोर्खा राइफल्समा आबद्ध भएका थिए। स्वर्गीय थमान पुन २/८ गोर्खा राइफल्स तथा भारतीय सेनाका एक इमान्दारी, बफादारी, कर्तव्यनिष्ठ र अनुसाशित सैनिक थिए। थमान पुनले भारतीय सेनामा कार्यरत रहदा थाली नृत्यको श्री गणेश गरिसकेका थिए।
स्वर्गीय थमन पुन एक संगीतप्रेमी तथा कुशल नृत्यकार थिए। थमान पुनले भारतीय सेनामा कायर्रत रहदा अन्तर बटालियन थाली नृत्य र खुकुरी नृत्य प्रतियोगिताहरुमा २/८ गोर्खा राईफल्सको तर्फबाट प्रतिनिधित्व गर्दथे। उनले थाली नृत्य र खुकुरी नृत्यमा धेरै पदकहरुबाट पुरुस्कृत हुन्थे भनेर प्रत्यक्षदर्शिहरु भन्दछन् । थमान पुन एक शिक्षाप्रेमी, समाजसेवी, संगीतप्रेमी तथा बहुआयमिक व्यक्तित्वका धनि व्यक्ति थिए। उनले हरेक घर बिदामा चिमखोला आउदा गाउँका बालबालिकाहरु जम्मा गरेर स्कुल पढाउथे रे। मादले मारुनी (पुर्ख्यौली) नृत्यमा मारुनी नाचेर जागिरमा फर्कन्थे रे । त्यस्तै उनले चिमखोलामा थाली नृत्य र खुकुरी नृत्य गरेर गाउँलाई चकित पारेर रुदै जागिरमा फर्कन्थे रे भनेर प्रत्यक्षदर्शीहरु भन्दछन् ।
स्वर्गीय थमान पुनको मृतु भारत र चीन बिचको लडाइमा सन् १९६२ भारतको अरुनाञ्चल प्रदेशको नेफामा भएको थियो। अत्याधिक हिउँ बर्षादको कारणले उनको लास प्राप्त गर्न नसकिएको अनुमान गरिएको छ। घर बिदामा रहेको समयमा चिमखोलामा थाली नृत्य र खुकुरी नृत्य गरेर गाउँलाई चकित पारेर रुदै जागिरमा फर्केका थमान पुन चिमखोला फर्केर कहिल्यै आएनन्। उनका श्रीमती पवित्रा देबीको स्वर्गरोहण भैसकेको छ। छोरा कृष्ण बहादुर पुन चिमखोला निवासी हाल बाग्लुङ्ग निवासी हुन् भने छोरी सेती माया पुन चिमखोला निवासी हाल पोखरा निवासी हुन्। प्रत्यक्षदर्शीहरु: सुबेदार नन्द प्रसाद पुन – चिमखोला, प्रेम बहादुर पुन (सचिब) – चिमखोलालगायत अन्य धेरै। समाग्री उपलब्ध गराउने: कृष्ण बहादुर पुन (थमान पुनको छोरा) चिमखोला