कोरियाबाट साथिले लगानी गरे, सिङ्कोस बगरका आस्मन पुर्जाले गरे घुम्तीगोठमा भेडापालन

  • १९ कार्तिक २०८२, मंगलवार
  • कमल खत्री
  • 1567 पटक पढिएको

कमल खत्री
म्याग्दी, १८ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको दुर्गम बस्ती सिङकोसका २५ वर्षिय युवा आस्मन पुर्जा मगरको दैनिकी भेडागोठमा वित्ने गरेको छ। हिउँदमा बेसीँ र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्राको स्याहार र चरनक्षेत्रमा घुमाउने उहाँको नियमित काम हो । केही वर्षअघि सहरमा रोजगारीको खोजीमा भौतारिनुभएका पुर्जा अहिले गाउँमै आत्मनिर्भर बन्ने बाटोमा हिँडिरहनुभएको छ।
बुबा मनलाल र आमा फिस्टी पुर्जाका ७ भाई छोरा र एक बहिनी छोरीमध्ये कान्छो सन्तान रहनुभएका आस्मन तत्कालिन परिस्थितिका कारण कक्षा ९ मै अध्ययनलाई छाडेर घरायसी काममा समय व्यतिथ गर्नुभएको थियो । रोजगारको लागि पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेण्टमा काम गर्नुभएका उहाँले गाउँमै पशुपालन गर्ने लक्ष्य लिएर सहरको सपना छाडेर गाउँ फर्कनुभएको थियो । सहरी क्षेत्रको कोलाहलबाट टाढा रहन मन पराउने पुर्जालाई गाउँमै आत्मनिर्भर बन्ने लक्ष्य रहेपनि लगानीको अभाब थियो ।
‘‘ आफ्नै माटोमा पनि धेरै सम्भावना छन् भन्ने लागेर गाउँ फर्किएर भेडापालन सुरु गरेको हुँ, मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यही बेला कोरियामा रहनुभएका विद्यालयकालका साथी अनिल पाईजाले साथ दिनुभयो र यो सम्भव भएको हो’’–पुर्जाले भन्नुभयो। किसानी मावि बिममा विद्यालय तहमा कक्षा ६ देखि ९ सम्म सँगै पढेका अनिलले भेडापालनको लागि सुरुवाती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उहाँले सुनाउनुभयो ।
भेडापालनमा करिब रु १३ लाख लगानी गर्नुभएका पुर्जालाई साथि अनिलले मात्रै करिब रु ६ लाख सापटी फिर्ता गर्ने गरि लगानी गरिदिनुभएको छ भने बाँकी रकम पुर्जा आफैले जुटाउनुभएको हो । अहिले उहाँका गोठमा करिब १ सय भेडा छन्। भेडीगोठमा भेडाको संख्या थपिने क्रम थारी छ । यस सिजनमा मात्र उहाँका करिब २५ भेडा व्याउने तयारीमा छन्। निकट भविश्यमा भेडाको सख्ंया बढाएर भेडीगोठलाई आर्थिक आम्दानीको स्रोत बनाउने पुर्जाको योजना छ ।

ठाउँ ठाउँमा घुम्ती गोठ सार्दै भेडा चराउने पुर्जाको दैनिकी अब जीवनशैली बनेको छ। जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मुलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ। स्थानिय बासिन्दाले देविदेवताको भाकल पुरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढको लागि बजारको अभाव छैन। खसी भने मासुका लागि गाउँलेहरुले गोठमै पुगेर खरिद गर्छन् ।
‘‘चिसो, हिमपात, र जंगली जनावरको आक्रमणको जोखिम गोठका मुख्य समस्या हुन, यिनै कारणले सबै पाठापाठी जोगाउन गाह्रो पर्छ, भेडापालनमा लागेको एक बर्ष पुग्दै छ, यो अरु पेसा जस्तो सजिलो त छैन, तर मलाई यही संघर्षमा सन्तोष छ’’–उहाँले भन्नुभयो । नयाँ पुस्ताले स्विकार गर्न नसकेको परम्परागत र दुःखको पेसाको रुपमा चिनिने घुम्तीगोठको भेडापालनमा आफुलाई कुनै पछुतो नभएको पुर्जाले बताउनुभयो ।
‘‘बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरुसंग गोठमा बसेको थिए, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु’’–उहाँले भन्नुभयो । पुजाले भेडाबाख्रा पालन गर्ने छिमेकी धनबहादुर सुनार ,गणेश पुर्जा, हरि गुरुङसंग सहकार्य गरेर गोठमा आलोपालो गाउँ झर्ने गर्नुहुन्छ। गोठ सार्न र गाउँबाट खाद्यान्नको चाँजो मिलाउन आपसी सहकार्यले सहज बनाएको उहाँको अनुभव छ ।
पुर्जाको भेडापालनले युवाहरुले विदेशमा गएर मात्र सम्भावना खोज्नुपर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयबासी बताउँछन् । पुर्जाको बुबा ७१ बर्षिय मनलालले अझै चोयाको डोको, डालो बुन्ने गर्नुहुन्छ । उहाँका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आउनुभएको छ । एक छोराले बोलेरो जीप चलाउँदै आउनुभएको छ भने दुई छोराले गाउँमा च्याउ, टुसा लगायतका सामान विक्रि गरेर जिविकोपार्जन गर्दै आउनुभएको छ । रासस

 

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l