हिडन भ्याली’मा ३ बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा
- १३ कार्तिक २०८२, बुधबार
- 153 पटक पढिएको
म्याग्दी । निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातीदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायती पर्यटकहरू सो भ्यालीमा रोकिएका हुन् ।
धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरू सुरक्षित रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।‘काठमाडौँको सेक्रेट हिमालय ट्रेड एन्ड एक्पिडिसन ट्राभल एजेन्सी मार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मङ्गलवार साँझ सम्बन्धित कम्पनी मार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए,’ उनले भने, ‘बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरू सकुशल छन् ।’