हिमपातले मुस्ताङका कृषक र पर्यटन व्यवसायी उत्साहित

  • १३ कार्तिक २०८२, बुधबार
  • 19 पटक पढिएको

म्याग्दी, १२ कात्तिक । कात्तिकमै भएको हिमपातले मुस्ताङका कृषक र पर्यटन व्यवसायी उत्साहित बनेका छन् । विगत केहि बर्षयता मौसमी हिमपात समेत हुन छाडेको अवस्थामा यस बर्ष भने जाडोयामको मौसम सुरु हुनु अगाबै हिमपात भएको हो । दशैँ तिहार लक्षित पर्यटकहरुको चहलपहल भइरहेको अवस्थामा हिमपात भएपछि यसले हिउँ लक्षित पर्यटकहरु थप बढाउने पर्यटन व्यवसायिहरुको भनाई छ । 
मुक्तिनाथ मन्दिर विकास समितिका व्यवस्थापक समेत रहेका होटल व्यवसायी रविन सुवेदीले हिमपातले मुस्ताङको पर्यटनमा थप सकरात्मक प्रभाब पार्ने बताए । उनका अनुसार, सोमबार विहानैदेखि भारी हिमपातका बाबजुत पनि पर्यटकहरु मुक्तिनाथ मन्दिरको दर्शनमा पुगेका थिए । ‘‘ मुक्तिनाथ मन्दिर परिसरमा साढे १ फिट सम्म हिउँ परेको छ, सवारी साधन मार्फत पर्यटक र तिर्थयात्रीहरु मुक्तिनाथ आउनेक्रम जारी छ, चिसो बढेकाले सकतर्कता अपनाउन अनुरोध गरिएको छ,’’– सुवेदीले भने ।
केहिदिन हिमपात भएमा हिउँमा खेल्न र रमाउनका लागि पर्यटकहरुको आगमन बढ्ने होटल व्यवसायीहरुको अपेक्षा छ । यस बर्ष तिहारको सुरुवातसंगै मुस्ताङमा आन्तरिक पर्यटकहरुको आगमन थामिनसक्नु भएको छ । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण प्रथम आधार शिविरमा अत्यधिक पर्यटकहरु आएपछि बेनीदेखि मुस्ताङसम्मका सबै होटलहरु दैनिकजसो भरीभराउ हुँदै आएका छन् ।
मंगलवार समेत मुक्तिनाथ क्षेत्रका सबै होटलमा पर्यटकहरु भरीभराउ भएका छन् । हिमपातले मुस्ताङको पर्यटन व्यवसायीसंगै कृषि र पशुपालन गर्ने किसानहरु समेत खुसी भएका छन् । स्याउ टिपेर सकिएको, फापर, आलु र सिमी पाकेर भित्र्याइसकेको अवस्थामा पानी र हिमपात भएकाले स्याउबारीको सिंचाई र हिउँदेवालीको लागि राहत मिलेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १ खिङ्गाका अगुवा कृषक लाक्पा टसी गुरुङले बताए । ‘‘एक दशक पछि कात्तिकमा भारी हिमपात भयो, तीन बर्षयता मौसमी हिमपात समेत राम्रो भएको थिएन, हिमपात नहुँदा यहाँ सिंचाईको लागि निकै कष्ट भएको थियो, यस बर्ष स्याउबगैचादेखि अन्नबाली लगाउने बारीमा राम्रोसंग सिंचित भएका छन्’’–उनले भने ।
मुस्ताङका अधिकाँश गाउँमा हिउँमा आधारित पानीका मुहान छन् । प्रयाप्त मात्रामा हिउँ नपर्दा हिउँ जम्न नपाउने भएकाले पानीका मुहानहरु समेत सुक्ने समस्या बढ्दो थियो । यस बर्ष कात्तिकमै हिमपात भएपछि हिमाल र हिमाली क्षेत्रमा हिउँ जम्ने र पानीका मुहान सुक्न नपाउने देखिएको कृषकहरु बताउँछन् । अहिले भएको बर्षा र हिमपातले आगामी बर्ष स्याउ र अन्नबालीको उत्पादन बढाउन सहयोग पुग्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले बताए । हिमपात नहुँदा स्याउ र अन्नबालीमा रोगकिराको समस्या बढ्ने भएकाले समेत यस पटकको हिमपातले रोगकिरा नियन्त्रण र व्यवस्थापनमा समेत सघाउने बताए ।
मुस्ताङमा ८९० हेक्टरमा स्याउ खेती हुँदै आएको छ । हिमपात र बर्षाले पशुपालक कृषकहरुलाई समेत राहत मिलेको छ । यहाँका भेडाच्याङ्ग्रा पालक कृषकहरुका लागि घाँसको अभाब हुँदै आएकोमा हिमपातले चरनक्षेत्रमा घाँस पलाउन सहयोग पुग्ने भएको छ । मुस्ताङको छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छ भने बस्तीदेखि माथिका लेकाली क्षेत्रमा भारी हिमपात भैरहेको छ । उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा सवारी आवागमनमा समेत प्रभावित बनाएको छ । जिल्ला प्रशासनले सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय क्षेत्र र पदमार्गमा यात्रा नगर्न समेत आग्रह गरेका छन् ।