मोरिसनको जस्तै राजनीतिक उदारता नेपाली नेतामा भईदिए…

  • २६ फाल्गुन २०८०, शनिबार
  • 155 पटक पढिएको

गोपाल छन्त्याल

सिड्नी । नेपालमा राजनीतिक दलहरु गठबन्धन बनाउने र भत्काउने खेलमा व्यस्त छन् । काँग्रेस, एमाले र माओबादी लगायतका राजनीतिक दलमा बर्षौदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व र राज्य सञ्चालनमा पनि उनीहरुकै हालीमुहाली चलिरहेको छ । काँग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओबादीमा पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नेतृत्वमा पुगेको लामो समय भइसक्यो, तैपनि नयाँ पुस्तालाई सहज रुपमा आफ्नो उत्तराधिकारी बनाउने सोच यी नेताहरुमा अझै पनि देखिदैन् । काँग्रेस सभापति देउवा ज्योतिषीको भनेको छ भन्दै सातौ पटक प्रधानमन्त्री बन्ने दाउमा छन्, उता प्रचण्ड माओबादी पार्टी जन्मेदेखि नेतृत्व छाड्न सकेका छैनन् भने तीन पटक त प्रधानमन्त्री नै भइसके । एमाले अध्यक्ष ओलीको कथा पनि फरक छैन्, दुईपटक प्रधानमन्त्री भइसकेका उनी फेरि प्रधानमन्त्री बन्ने लाइनमा छन्, पछिल्लो गठबन्धन कायम रहन सक्यो भने उनी प्रचण्ड पछि सन् २०८४ को आम निर्वाचन भन्दा अघि प्रधानमन्त्री बन्दैछन् । प्रमुख पार्टीका यी नेताहरु निर्वाचन हारे पनि जिते पनि, विभिन्न हत्कण्डा अपनाएर पार्टी र राज्सत्ताको नेतृत्वमा जमिरहँदा, देशबाट युवाशक्तिको पलायन डरलाग्दो रुपमा बढेको छ भने राजनीति प्रतिको वितृष्णा उत्कर्षमा पुगेको छ । अर्को तर्फ, आधारभुत कुराहरु समेत पुरा हुन नसक्दा आम जनता र मतदाता हरेक निर्वाचनमा फरक–फरक शक्तिलाई विश्वास गर्न थालेका छन्, जस्तो की– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके रावत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको उदय यसैको उपज हुन् । स्वतन्त्रबाट काठमाडौमा निर्वाचित मेयर बालेन शाह, धरानका हर्क साङपाङ र धनगढीका गोपाल हमाललाई रोजेर जनताले मतदान मार्फत दलहरुलाई झाडप हाने पनि नेताहरुले विगतकै गल्ती दोहो¥याइरहेका छन् । नेपालमा दल र नेताहरु कुर्सीका लागि सबै किसिमका नैतिकता बेच्न तयार भइरहेको सन्र्दभमा अस्ट्रेलियामा गत हप्ता भएको एउटा घटनाले राजनीति केवल आफु बन्नु मात्र होइन् भन्ने सन्देश दिएको छ । हु न त अस्ट्रेलिया र नेपालको राजनीतिलाई जोडेर एउटालाई गलत अर्कोलाई सही भन्नु कति यथार्थपरक होला तथापी हाम्रो समाजमा नेतृत्वले आफ्नो गल्ती कहिल्यै स्वीकार नगर्ने परिपाटीले नयाँ संभावनाहरु बन्द हुदै गएका छन् । गत हप्ता नेपालका विपक्षी दलका नेता केपी ओली र प्रधानमन्त्री प्रचण्ड मिलेर नयाँ गठबन्धनको खाका कोर्दै गर्दा अस्ट्रेलियाका विपक्षी दलका प्रभावशाली नेता एवम् पूर्वप्रधानमन्त्री स्कट मोरिसनले सांसद्बाट समेत राजीनामा दिएर पारिवारिक जीवन बिताउने दुईमहिनाअघिको सार्वजनिक घोषणालाई कार्यान्वयन गर्दै थिए । मोरिसन तिनै नेता हुन्, जसले सन् २०१८ को अगस्टदेखि सन् २०२२ को मे महिनासम्म दुई कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी निभाए । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा अस्ट्रेलियामा कम मानवीय क्षति हुनु र कोरोना कहरका बीच पनि तीब्र गतिको आर्थिक बृद्धि हासिल हुनु जस्ता कारणले उनले अन्तराष्ट्रिय नेताको स्पष्ट छवि बनाएका थिए । कोरोना कालमा अस्ट्रेलियाबासीलाई खाता–खातामा पैशा पठाएर समस्यामा परेको बेला राज्य छ भन्ने अनुभुति गराए । उनै मोरिसन घरेलु राजनीतिमा भने केहि कम्जोर बन्दै गएका थिए । मे २१ सन् २०२२ मा भएको संघीय निर्वाचनमा मोरिसन तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने होडमा चुनावी मैदानमा उत्रिए तर, विपक्षी दलका नेता एन्थोनी एलबनीजि नेतृत्वको पार्टीले अप्रत्याशित रुपमा विजय हासिल गरे । मोरिसनले मतपरिणाम सार्वजनिक भएको साँझै दलको नेताबाट राजीनामा दिदै पिटर दुटनलाई जिम्मेवारी दिए, पछि उनै दुटन वैधानिक रुपमा विपक्षी दलका नेतामा चुनिए । मोरिसनले आफुले सन् २००७ देखि संसदीय निर्वाचन जित्दै आएको कुक क्षेत्रको सांसदबाट समेत राजीनामा दिएका छन् । उक्त क्षेत्रमा अहिले निर्वाचनका लागि चुनाबी ‘सरगर्मी’ सुरु भइसकेको छ । मोरिसनले जाँदाजाँदै राजनीति प्रति नयाँ अनुहारलाई अवसर दिएका छन् । नेतृत्वमा असफल भइसकेपछि त्यसको जिम्मेवारी मुखले मात्र लिने होइन्, व्यवहारिक रुपमै देखाउनुपर्छ भन्ने पाठ सिकाएका छन् । एक बर्ष भन्दा बढी कार्यकाल रहेको सांसद् पदबाट समेत राजीनामा दिएर, पारिवारिक जीवन बिताउने घोषणाले नयाँ र युवाहरुलाई राजनीतिक संस्कार पनि सिकाएका छन् । तर, नेपालमा शेर बहादुर, केपी ओली र प्रचण्डले कहिले देखाउलान् यस्तो नैतिकता ? कहिले देखाउलान् त्यस्तो राजनीतिक उदारता ?