आधुनिक तिहार

  • १२ कार्तिक २०७३, शुक्रबार
  • 2187 पटक पढिएको

pravin_photo15-1समय परिवर्तनसँगै हरेक कुरा परिवर्तन हुँदै जान्छ, र हुनुपनि पर्छ । तर आफ्नो मूल्य, मान्यता र संस्कृतिलाई भने भूल्न हुँदैन् । हामी नेपालीहरु कपि, पेष्ट गर्नमा अलि बढिनै सिपालु छौ । आफू योग्य हुँदा हुँदै पनि । अरु भन्दा आफू उत्कृष्ट हुँदा हुँदै पनि आफूमा भन्दा अरुमा विश्वास गर्छौ । आफूसँग भएका राम्रा कुराहरु भुलेर अरुको देखासिकी गछौ, यो हाम्रो कमजोरी हो ।
नेपालीहरुको दोस्रो ठूलो चाड भाईटिका तपाई हाम्रो घर आगनमा भित्रिई सकेको छ । तिहार चाडको आगमनसँगै बजारमा चहलपहल समेत बढ्न थालेको छ । भाईटिकामा बजारमा किनमेल गर्न आउनको संख्याले बजार त रमझममय बन्दै गएको छ । त्यसमा पनि रातको समयमा बजारमा बालिने बत्तिले झनै बजार चहकिलो बन्दै छ । बजारका विभिन्न घरहरुमा भिलिमिली बत्तिले अध्यारो रातलाई चिर्ने प्रयास गर्दैछन् ।
दशैमा गाउँघरमा मानिसहरुको चहलपहल हुन्छ भने तिहारमा बजारमा । गाउँघरमा मनाईने तिहार र बजारमा मनाईने तिहारको शैलीमा भने आधुनिकतासँगै विभेद देखिन थालेको छ । गाउँघरलाई हेर्दा मखमली फूल बाहेक अन्य कुराले तिहार आएको आभाष हुँदैन् । गाउँघर मखमली फूलले सजिएका छन् भने शहर रङ्गी विरङ्गी बत्तिहरुले सजिने र्गछन् । तिहार कसरी मनाउने भनेर सम्भवत सबैले योजना बनाई सक्नु भएको छ । कसैले कही घुम्न जाने योजना बनाउनु भएको छ होला, कसैले देउसी भैलो खेल्ने, कसैले के त कसैले के । अहिले हामीकहाँ विदाको बेलामा आन्तरिक स्थानहरु घुम्ने परम्पराको विकास भएको छ । जसलाई राम्रो मान्नुपर्छ । जसले आन्तरिक पर्यटनको विकास पनि गर्छ भने लुकेर रहेको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार समेत गर्छ । जसले तिहारमा देउसी भैलो खेल्ने योजना बनाउनु भएको छ ।उहाँहरुले पक्क पनि कुनै एक ठाउँ हिन्दी, रिमिक्स गीतहरुमा नृत्यको अभ्यास गर्दै हुनुहुन्छ होला ।
समय अनुसार हामीकहाँ भैलो खेल्ने प्रचलन समेत फेरिएको छ । पहिलेका भाईटिकामा खेलिने देउसी भैलोमा भाईटीकाको महत्वबारे गीत गाइन्थ्यो । भट्टयाउनेले तिहारको महत्वको बारेमा कथा भन्थे । तर अहिले परम्परा पश्चिमा बन्दै गएको छ । पहिलेका तिहारमा मौलिक गीतहरुमा देउसी भैलो खेलिन्थे तर अहिले हिन्दी, रिमिक्स, पप गीतहरुमा नृत्य गरिन्छ । यसले पनि हाम्रो चाडपर्वहरु भड्किलो बन्दै गईरहेका छन् । अन्य देशका कला र संकृति भन्दा हाम्रो कला संस्कृति, रितिरिवाज राम्रो हँुदा हुँदै पनि हामी उनीहरुका संस्कृति सिक्ने प्रयास गर्दैछौ । विदेशीहरु हाम्रो संस्कृति हेर्नका लागि नेपाल आउँछन् तर हामी यस्तै चाडपर्वको नाममा हाम्रो संस्कृतिलाई लोपन्मुख बनाउँदैछौ । मादल, झ्याली, मुजुरा गुञ्जीले पहिलेका देउसी भैलोमा अहिले आधुनिक बाजाहरु गुन्जीन्छन् । यसले पनि हाम्रो संस्कृति हामी कता लैजादै छौ भन्ने चिन्ता उत्पन्न गराएको छ ।
पहिले तिहारहरुमा साथीभाई रमाईलो गर्नका लागि, तिहारको महत्व झल्काउनका लागि देउसी भैलो खेलिने गरिन्थ्यो भने आजभोलि पैसा संकलन गर्ने माध्यम बनेको छ । आर्थिक संकलन गर्नु प¥यो भने तिहारमा देउसी भैलो खेल्ने परम्पराको विकास भएको गाउँ, शहरमा । गाउँघरमा भन्दा पनि शहर बजारमा यो प्रचलन ज्यादा देखिन थालेको छ, यो प्रचलन । निश्वार्थ लक्ष्य राखेर आर्थिक संकलन गर्नु पनि नराम्रो काम होईन तर आर्थिक संकलनको नाममा देउसी खेलेर रकमको दुरुपयोग गर्ने संस्कृतिले भने चिन्ता उत्पन्न गराएको छ ।
समाजमा स्थापित विभिन्न संघ संस्थाहरु तिहारको अवसरमा विभिन्न उद्देश्य राखेर देउसी भैलो खेल्छन् तर एकाध संघ संस्था बाहेक अन्यले उक्त रकमको दुरुपयोग गर्ने गरेका छन् । आर्थिक सहयोग गर्ने तपाई हामी नै साक्षि छौ यी घटनाहरुको । यहाँहरुले कतिको हेक्का राख्नु भएको छ, तिहारमा विभिन्न लक्ष्य राखेर खेलिने देउसी भैलोबाट संकलन भएका रकम कत्तिको सदुपयोग भएका छन् त ?
त्यसैले हामीले हाम्रो संस्कृतिहरु मनाउँदै गर्दा कतै विकृति पनि भित्राएका त छैनौ ? तिहारमा खेलिने देउसी भैलोलाई कमाई खाने भाडोको रुपमा विकास गरेका त छैनौ ? यतातर्फ सबै सचेत हुनुपर्छ । चाडपर्व मनाउने नाममा हाम्रा ऐतिहाँसिक कुराहरुलाई भुलेर, चाडपर्वको मर्म नै हराउने गरि मनाउदै गएका त छैनौ ? हामी युवाहरुले यसतर्फ ध्यान दिनुपर्छ । चाडपर्वको मर्म नगुम्ने गरि, चाडपर्वका राम्रा पक्षलाई कायम राख्दै , नराम्रा पक्षलाई हटाउँदै पर्वहरु मनाउनुपर्छ ।