घलेम्दी एक्सप्रेस

  • ६ माघ २०७३, बिहीबार
  • 1733 पटक पढिएको

रातको साढे आठ बजेको थियो । चकमन्न अँधेरी रात । केही पर मधुर आवाजमा नौमति बाजाको धुन गुन्जीएको थियो । मेरो मनलाई नौमति बाजाले उतै तानिहाल्यो । रात चकमन्न भएकोले केही मेसो पाएको थिईन् । सन्तोष गौतमलाई सुटुक्क साउती गरे । अनि सबैलाई छाडेर खेतको डिलैडिल मोवाईल बालेर नौमति बाजा पच्छ्याउँदै अगाडि बढ्यौ । लाग्थ्यो त्यो कुनै खेतको फाँट हुनुपर्छ । ती नौमति बाजाहरु हामीलाई नै स्वागत गर्न बजाईका हुन् भन्ने राजेश शाक्य दाईले पहिले नै जानकारी गराउनु भएको थियो । मंसिर १० मा घलेम्दी जलविद्युत आयोजनाको प्रगति हेर्नका लागि घलेम्दीका लगानीकर्ता, कर्मचारी र पत्रकारहरु गएका थियौ । त्यसदिनको बसाई हाम्रो नारच्याङ बेशीमा थियो । त्यही क्रममा नारच्याङ्गको संस्कृति हेर्ने व्यवस्था मिलाईएको रहेछ ।

ghalemdi-6

प्राविधिक समस्याले बेनीबाट ३ बजेतिर हिडेपनि हामी रातिमा मात्र त्यहाँ पुगेका थियौ । तेजगुरुङको घरमा हामीलाई वस्ने व्यवस्था मिलाइएको रहेछ । खाना, नास्ता गरेपछि स्थानीय कला र संस्कृति हेर्ने तयारी रहेछ । सोही अनुसार म र सन्तोष केही समय अगाडी नै कार्यक्रम स्थलमा पुगेका थियौ । हामीले सामान्य नाचगानको कार्यक्रम होला भन्ने लागेको थियो तर तयारी भव्य नै रहेछ । हलमा मान्छे भरिभराउ देखिन्थे । रातको चिसोको वास्तै नगरि बालबालिका देखि बृद्धबृद्धासम्मका मानिसहरुको बाक्लो उपस्थिति थियो । बाहिर नौमति बाजा, हलभित्र पुख्र्यौली नृत्य । वातावरण संगीतमय थियो । हामी त्यहाँ पुगेको केही समयमा अन्य साथीहरु पनि आईहाले । ठाकुरप्रसाद आचार्य दाई दर्गुदै गएर बाजामा नाच्न थालिहाले । गएर नाचौ नाचौ त मलाई पनि नभएको होईन् । तर पहिले एक्लै जान सकेको थिईन् । ठाकुरदाईको नचाईले बाटो खुल्यो । त्यसपछि सन्तोष, कमल, लोकेश, निर्मल, घनश्याम दाई सबैको ओईरो लाग्न थाल्यो । सबैले हौस्याउन थाले मैलेपनि घोक्रो स्वरमा भएपनि २,४ टुक्का गीत गाईदि हाले । त्यसपछि बल्ल ज्यान तात्यो । माहोल बन्दै थियो । घलेम्दी हाईड्रोका सचिव विमल रिजालले भित्र कार्यक्रम सुरु हुन लाग्यो भनेपछि बाहिरको नाचगान कार्यक्रमलाई त्यही विट मा¥यौ ।

रातको ८ः५५ मा मात्र कार्यक्रम सुरु भयो । जे होस् सबैको धैर्यताले भने बाँध बाँधेकै थियो । कार्यक्रममा नारच्याङ लेकगाउँबाट समेत मान्छे आएका रहेछन् । जबकी कार्यक्रम स्थलबाट २ घण्टा हिडेपछि मात्र लेकगाउँ पुगिन्छ । कार्यक्रममा पुगेका हामी अतिथिहरुलाई स्वागत सत्कार, औपचारिकतामा आधा घण्टा वित्यो त्यस पश्चात ९ः२० मा स्थानीय कला र संस्कृति प्रदर्शन सुरु भयो । झन्डै १६ वर्षका लाग्ने युवा देखि ६० वर्ष भन्दा माथिका पुरुषहरु केही महिला र केही पुरुषकै भेषमा देखा परे । त्यसमा पनि १६ वर्षे एक युवा महिलाको स्वरुपमा देखा पर्दा उनको रुपले सबैको ध्यान तान्यो । मेरो छेउमा बसेका एक जना दाईले भने–“केटी भएको भए त यीनैलाई विहे गर्थे” एकछिन् हाँसो मच्चियो । हाम्रो यात्रा भरि उनी चर्चाको विषय पनि बने । पुख्र्यौली नृत्य उनीहरुको प्रकृयाअनुसार सुरु भयो । सरस्वति जगाउँदै नाच सुरु भयो । सोही क्रममा केही पुरुष र महिलाहरु थरथर्ती काम्न थाले । उनीहरुलाई सरस्वति चढेको भन्दै थिए । पुख्र्यौली नृत्य, थाली नाच, स्थानीय कलाकारहरु अन्य साँस्कृतिक प्रस्तुती प्रदर्शन भयो कार्यक्रममा यति हँुदा घडिले झन्डै साढे ११ बजाएको थियो । साँच्चै नारच्याङको कला, संस्कृति र स्थानीय उत्पादनलाई बृद्धि गर्न सक्ने हो भने पर्यटनको प्रचुर सम्भावना छ । कार्यक्रममा स्थानीयहरुले जिल्लाबाट पालेका सञ्चारकर्मी र उद्योग व्यवसायीहरु समक्ष आफ्नो गुनासाहरु समेत व्यक्त गरे । अन्नपूर्ण हिमाल म्याग्दी परेपनि र सबै भन्दा बढि रोयल्टी तिर्ने हिमाल यही भएपनि प्रचारप्रसार र सम्बन्धित निकायको वेवास्ता भएको भन्दै आक्रोश व्यक्त गरे । हामी बसेको ठाउँबाट २ दिनमा अन्नपूर्ण वेस क्याम्पमा पुगिदो रहेछ । अझ सडक विस्तार हुने हो भने ५ घण्टा पैदल हिडेमात्र वेसक्याम्प पुगिने रहेछ । स्थानीयहरुको जिज्ञासाहरुलाई म्याग्दी उद्योग वाणिज्य संघका महासचिव तथा हाम्रो यात्राको संयोजन गर्नुहुने राजेश दाईले मत्थर पार्ने प्रयास गर्नु भयो । राती १२ बजेपनि भएपनि होटलकी दिदीले अर्गानिक खाना खुवाईन् । उनी भन्दै थिईन यहाँको लोक्कल उत्पादन हो सवैले मन पराउँछन् । विदेशी पर्यटकहरु पनि नेपाली आर्गनिक खान खानाका लागि लालयीत हुन्छन् । यहाँको पर्यटन प्रवद्र्धनमा अर्गानिक खानाले अझै टेवा पुग्ने देखियो ।
घडिले विहानको ५ बजाउन नपाउँदै राजेश दाईले ढोका ढककाउनु भयो । राति अवेरसम्म बसेकाले निन्द्राले छोडेकै थिएन् तर पनि उठ्नै पर्ने भयो । हामी टिममा को को छौ भन्ने पनि राम्रोसँग थाहा थिएन् । फरक फरक गाडिमा राति मात्र पुगेकाले पत्तो भएको थिएन । विहान मात्र कोको छौ त टिममा भनेर चिन्ने वातावरण मिल्यो । झन्डै १८ जनाको टिम रहेछ हाम्रो । बेशी गाउँको शिरमा सुन्दर झरना । तल सम्म परेको फाँटमा सानो वस्ती सुन्दर देखियो गाउँ । विहानी नास्ता गरेर ७ बजे हाम्रो टिम नारच्याङ्ग लेक गाउँतिर हिड्यो । नारच्याङ वेशीदेखि नै समूह तीनतिर विभाजित भयो । अर्थात हिडाइको तिव्रता अनुसार गु्रप बन्यो । हामी वीचको गु्रपमा भयौ । घनश्याम दाईहरु अगाडि हुनुभयो हामी वीचमा र राजेशदाईहरु पछाडि । सिधै उकालो बाटो हुँदै ३ घण्टाको हिडाँईपछि नारच्याङ लेक गाउँ पुगियो । मंसिरको महिना त्यसमा मकैको वासना हररर नाकैमा ठोसिन आयो । गाउँको तलपट्टी रहेको चौतारीमा एकैछिन थकाई मा¥यौ । लेकगाउँबाट अन्नपूर्ण हिमालसँग नजर जुधाउन मन थियो तर ढपक्क कुहिरोले छोप्दा रहर अधुरै रह्यो । बाटोमा स–साना बालबालिका भेटीए । नारच्याङतिरको मगर भाषा वडो मिठास लाग्यो ।

ghalemdi-1
गाउँलाई छाडेर घलेम्दी खोला हाइड्रोतिर हाम्रो यात्रा लम्कीयो । गाउँ भन्दा केही अगाडि पुगेपछि सम्म परेको ठूलो फाँट भेटियो । प्रसंगवश प्रस्तावित अन्नपूर्ण गाउँपालिकाको सदरमुकामको विकल्पको रुपमा हे¥यौ हामीले । एक दर्जन भन्दा धेरै गोठहरु थिए त्यहाँ । हामीलाई त्यहाँ दही मोही खाने रहर जाग्यो, विशेष गरि सन्तोष र मलाई । त्यही मध्यको एक गोठमा मेरो नजर पुग्यो । मान्द्रोले एक छानो छाएको, चारैतिर मान्द्रोले नै बेरिएको । एक जना पनि मुस्कीलले अट्न गाहे होला जस्तो । एक सरो कपडामा लंगुटीले गुप्ताङ्ग ढाकेका ७० वर्ष भन्दा माथिका देखिने बृद्ध थिए, त्यो गोठमा । उनी दलजित गर्वुजा हुन् लेकगाउँकै । आफू कति वर्ष भए भन्ने कुरा उनी आफैलाई थाहा रहेनछ भन्दै थिए–“बाबा आमाले कहिले जन्मेको भन्दिएनन् आफैलाई थाहा हुने कुरा भएन ।” एक छोरी मात्र रहिछन् घरमा । गोठमा एउटा सानो भैसीको पाडो मात्र रहेछ । त्यही साँघुरो गोठमा एक छेउ पाडो बाध्दा रहेछन्, वीचमा खाना पकाउने चुलो अनि त्यही चुलोको छेउमा उनी सुत्ने विस्तारा चुलोमा सानो झ्याङ्गा थियो, त्यही झ्ङगामा पकाएको चाउचाउ केही मात्रामा थियो । म भित्र गएपछि त्यसलाइ छेउतिर सारे । तरकारी नपाएर त्यही चाउचाउ पकाएर तकारी खाएको प्रतिक्रिया दिए । उनको अवस्था सोध्न खोजे अनायासै उनका आँखाबाट आशु झर्न थाले । आफ्ना पीडा पोख्न थाले । म त्यहाँ दही मोही सोध्न गएको थिए, उनको कुराले उनलाई सान्त्वना दिएर फर्कीए । फेरि अर्को गोठमा गयौ । त्यहाँका गोठ मालिकले पनि आजमात्र गोठ सारेको भन्ने कुरा बताए । उनैले नै अर्को गोठ देखाईदीए । गोठका बाजे घाँस काट्न जानका लागि बाहिर आएको देखेपछि म उतै दौडिए । गोठमा दुध भएपनि घाँस काट्न जान ढिला हुने भएकोले उनी गोठमा फर्कीएर हामीलाई दुध, मोही खुवाउने सुरमा देखिएनन् । त्यसपछि अरु गोठमा जान मन लागेन । उनीपनि ७० वर्षको नेटो काटेका जस्ता देखिन्थे । भोकले आकुल बनाएपछि राजेश दाईको झोला मसँग थियो । त्यही भएको चाउचाउ झिकेर मन बुझायौ । एक दर्जन गोठमा पुगेरपनि लोक्कल गाई भैसीको दुध दही खाने धोका त्यहाँ पनि अधुरै रह्यो । न त लेक गाउँबाट अन्नपूर्ण हिमालसँग नजर जुधाउन पाईयो न त दुध दही नै खान पाईयो । लेकगाउँबाट अन्नपूर्ण हिमालको फोटो खिच्न फेरि आउने बाचा गर्दै यात्रा अगाडि बढ्यो ।
केही पर पुगेपछि घनश्याम, निरञ्जन, कमल श्रेष्ठ र गोरखनाथ सुवेदी दाईसँग भेट भयो । त्यहाँबाट ओरालो झर्नु पर्ने रहेछ । एक छिन बाटो अल्मलियौ । त्यहीबेला लेकगाउँका शेरबहादुर थजाली आईपुगे । उनले अगाडि बढ्न सहजीकरण गरे । केही समय अगाडि उनी अन्नपूर्ण वेशक्याम्पसम्म पुगेका रहेछन् । बाटोमा उनले वेसक्याम्पको बारेमा जानकारी गराए । उनको कुरा सुन्दा हामीलाई पनि जाउ जाउ लाग्यो ।

ghalemdi-2
दिनको झन्डै १२ बजेतिर हामी घलेम्दीको इन्टेक नजिकै पुग्यौ । कर्मचारी र कामदार बस्न बनाइएको घरहरुमा रहेछन् । हामीलाई पनि खाना तयारी हुँदै थियो । पछाडि राजेश दाई लगायतको टीम आउँदै गरेकोले एक छिन थकान मेटायौ । झन्डै आधा घण्टाको आरामपछि इन्टेक हेर्न गयौ । इन्टेक हेरेर फर्कीएपछि खाना खाने कुरा भयो । थोरै अगाडि बढेपछि अन्नपूर्ण हिमाल आँखै अगाडि भुल्कियो । दुई ठूला पहाडवीच देखिएको निकै नै मनमोहक लाग्यो । इन्टेक तर्फ बम व्लाष्टिङ कार्य हुँदै रहेछ । प्राविधिक कारणवश त्यसदिनमा सुरुङ खन्ने काम चाहि भएको रहेनछ । सुरुङमा जानका लागि हेल्मेट र गमबुट लगाउनु पर्ने पानीको कारण । सबैलाई नपुग्ने भएकोले केही समय कु¥यौ । सबैका लागि व्यवस्था भएपछि भित्र छि¥यौ । सुरुङको अनुभव मेरा लागि दोस्रो थियो । भित्र छिर्नेबेलामा अग्रपंक्तिमा रहेर सुरुङको अन्तिम भागसम्म पुग्यौ । केही साथीहरुलाई अक्सिजनको कमी भएकोले सास फेर्न गाह्रो भयो । बाहिरबाट अक्सीजन पठाएपछि बल्ल सहज भयो । घलेम्दी लगानी गरेका लगानीकर्ताहरु निराश नहुने गरि काम भएको रहेछ । सयौ कामदारहरु काम सम्पन्न गर्नका लागि खटिरहेका थिए । त्यहाँको सन्तोषजनक काम हेरेर फर्कीयौ ।
दिनको एक बजेतिर लोक्कल खसीको सुपसँग खाना खाएर पुनः विद्युत उत्पादन गृह तर्फ लाग्यौ । ३ बजेतिर हामी विद्युत उत्पाद गृहमा पुगेका थियौ । खाजा खाएर अरु साथीहरु त्यहाँको सुरुङ हेर्न भित्र लाग्नुभो म र लोकेश नहेरी झ¥यौ । हेर्दा पनि शरिर जिरिङ्ग हुने खालको ठाउँमा विद्युत उत्पादन हुँदै थियो । सिधा भिरमा धेरै मेहनत गरेर घलेम्दी हाईड्रो बन्दै रहेछ । एकपटक घलेम्दीको टीमलाई सलाम गर्न मन लाग्यो उनीहरुको उत्साह र शाहस देखेर । राजेश दाई अगाडि तल आउनु भएको रहेछ । पावर हाउस बनाउनका लागि त्यहाँ पनि बम ब्लाष्टको काम चलिरहेको रहेछ । हामीलाई गाडिले पनि त्यहाँ कुरेर बसेको रहेछ । त्यहाँ सेनाले हामीलाई नवस्न आग्रह गरेपछि म, लोकेश, राजेश दाई र घनश्याम दाई बोलेरोमा फर्कीयौ । मिरिस्त्री खोला जलविद्युत आयोजनाको काम पनि धमाधम चलेको रहेछ । साँझ पनि पर्न लागेको थियो । अरु साथीहरु पछाडि हामी अगाडि भयौ । तातोपानी कुण्डमा नुहाएर कुर्ने कि भन्ने कुरा भयो रात पर्न आटेकोले र चिसोले पनि च्याप्दै जान थालेपनि अरुलाई पछि नै छाडेर बोलेरोमा यता र उता ठोक्कीदै यात्रा बेनी सोझियो ।