बलात्कार गर्न खोजेको भन्दै बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या

  • २८ फाल्गुन २०७३, शनिबार
  • 1969 पटक पढिएको

k

लन्डन, २८ फागुन । बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले आफ्नो घर आएका २५ वर्षीय युवकलाई छुरा हानी हत्या गरेको स्थानीय नेपालीले जनाएका छन् । चितवन नारायणगढ घर भएकी ती महिला हत्या गरी फरार छिन् ।

प्रहरीले घटनास्थल वरपर प्रवेश निषेध गरेकाले विस्तृत विवरण आइसकेको छैन । सुकमाया दुई छोरा र दुई छोरीकी आमा हुन् । उनको स्वास्थ्य स्थिति समेत सामान्य रहेको उनलाई चिन्नेहरु बताउँछन् । ती महिलाले हत्या गरेपछि एउटा नोट लेख्दै आफूलाई बलात्कार गर्न खोजेपछि छुरा प्रहार गरेको जनाएको स्थानीय महिला समाजसेवी एवं एनआरएनए यूके आईसीसी सदस्य सुष्मा
राईले बताइन् ।

सप्ताहन्त सुरु हुने साँझ अबेरसम्म चहलपहल हुने अल्डरसट क्षेत्र घटनाले स्तब्ध रह्यो । अल्डरसट क्षेत्रमा नेपालीको जनसंख्या बढेसँगै विकृतिका घटनामा समेत वृद्धि भइरहेको छ । त्यहाँ लागू औषध दुर्व्यसन पनि बढेको स्थानीय बताउँछन् । रसमोर बरो काउन्सिलअन्तर्गत पर्ने अल्डरसटमा कुनै बेला मन्त्रीले नै नेपाली थपिएर समस्या भएको भन्दै प्रधानमन्त्रीलाई पत्राचार गरेका थिए ।