ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
- ५ भाद्र २०८३, शुक्रबार
- 5 पटक पढिएको
म्याग्दी ५ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा सुमि तिलिजा प्रथम, कृतिका खत्री द्धितिय, सन्निजा शाही तृतीय र सुगम सुवेदी सान्त्वना हुनुभएको छ । प्रतियोगितामा जम्मा १७ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने र सहभागी विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्री, सदस्य निशा गर्बुजा, विना खत्रीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा वक्तृत्वकलामार्फत विद्यार्थीहरूले विद्यालयप्रतिको अपनत्व, गौरव र जिम्मेवारीका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास तथा सिर्जनात्मक अभिव्यक्ति क्षमताको विकासमा सहयोग पुगेको प्रतियोगिता संयोजक शिक्षक नरेश कुमार यादवले जानकारी दिनुभयो । यसैबिच शुक्रवार नै विद्यालयमा रहेको बाल क्लबको आयोजनामा विद्यालय परिसरमा फूलका विरुवा रोपण र सरसफाई समेत गरिएको छ ।

