जन्मथलो दानामा अधुरै रह्यो निम्सको घर बनाउने सपना

  • २० श्रावण २०८३, बुधबार
  • 5 पटक पढिएको

विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएपछि उहाँको जन्मथलोमा घर बनाउने सपना अधुरै भएको छ । तितरकी कमला केसीका अनुसार बाल्यकालदेखि एउटै आँगनमा खेलेर हुर्केका निर्मल पुर्जा जस्तो साहसी व्यक्ति हिमालबाट जीवित फर्किने विश्वास अन्तिम समयसम्म थियो। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ब्रोड पिकमा उहाँसहित १० सदस्यीय आरोही टोली बेपत्ता भएको खबर आएपछि सुरुमा कसैले पत्याएनन्। बेलायतमा रहेका परिवारका सदस्यबाट खबर पुष्टि भएपछि पनि दानावासीले उहाँ फर्किने आशा छोडेका थिएनन्। तर शनिबार मृत्युको पुष्टि भएपछि त्यो आशा सधैंका लागि टुट्यो।
आज निर्मल जन्मिएको पुरानो घर भत्किएर पर्खालका भग्नावशेष मात्र बाँकी छन्। त्यही ठाउँमा कमला केसीले भट्ट र तरकारी लगाएकी छन्। घरको बार्दलीमा अझै पनि “पर्वतारोही निर्मल पुर्जा ९निम्स० सम्मान समारोह” लेखिएको ब्यानर टाँसिएको छ। केही वर्षअघि बेनीमा नागरिक अभिनन्दनपछि घरमा ल्याइएको त्यो ब्यानरका अक्षर खुइलिए पनि तस्बिर भने अझै स्पष्ट देखिन्छ। कमलाका अनुसार निर्मलले जन्मथलो दानामा मौलिक शैलीको घर बनाउने योजना बनाएका थिए। विसं २०७९ फागुनमा दानामा दुई रात बिताउँदा उहाँले पुरानो पुख्र्यौली घर भएको जग्गाको रेखदेख गरिदिन आग्रह गर्दै दाजुभाइ मिलेर परम्परागत शैलीको घर निर्माण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो। तर त्यो सपना अहिले अधुरै रह्यो।
विसं २०३९ साउन ९ गते दानाको तितरमा जन्मिनुभएका निर्मल पुर्जाका पिता नन्दबहादुर पुर्जा भारतीय गोरखा सैनिक हुनुहुन्थ्यो। परिवार विसं २०४८ मा चितवन बसाइँ सरे पनि पुख्र्यौली जग्गाजमिन भने बेचेको थिएनन। उहाँ बेलायतमा बसोबास गर्ने परिवारका कान्छा छोरा हुनुहुन्थ्यो र श्रीमती तथा एक छोरी पनि बेलायतमै बसोबास गर्छन्।

बाल्यकालदेखि नै निर्मल असाधारण साहसी स्वभावका थिए। गाउँका उकालो–ओरालोमा दौडिन रुचाउने, जोखिमबाट नडराउने, आफूले ठानेको काम जसरी पनि पूरा गर्ने र निराश नहुने स्वभावका कारण उनी साथीभाइका बीच फरक पहिचान बनाएका थिए। कालीगण्डकी नदी र रुप्से खोलामा गंगटा खोज्न जाने बाल्यकालीन बानीलाई अहिले गाउँलेहरूले भावुक हुँदै सम्झिरहेका छन्।

दानाका वडा अध्यक्ष रमेश पुर्जाका अनुसार निर्मलले आफ्नो जन्मथलो र अन्नपूर्ण क्षेत्रको पर्यटन विकासका लागि धेरै योजना बनाएका थिए। उहाँले स्वास्थ्य, शिक्षा र पर्यटन प्रवद्र्धनका विषयमा पटक–पटक छलफल गर्नुभएको थियो। निम्स फाउन्डेशनमार्फत दानामा विभिन्न सामाजिक काम सुरु भइसकेका थिए। तीन वर्षअघि उहाँले घोषणा गरेको रु। ४० लाखको अक्षयकोष बाट ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयका कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई वार्षिक पुरस्कार वितरण हुँदै आएको छ। साथै दानाका अन्य आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने कार्य पनि निरन्तर चलिरहेको छ।
निर्मलले सोलुखुम्बुको सगरमाथा आधार शिविरमा निर्माण गरिएको जस्तै भरियाका लागि आश्रयस्थल अन्नपूर्ण आधार शिविर क्षेत्रमा पनि निर्माण गर्ने योजना बनाएका थिए। “पहिला धेरैले सुविधा पाउने ठाउँमा काम गर्नुपर्छ, आफ्नो ठाउँमा त जसरी पनि गरिहालिन्छ,” भनेर उहाँले बताउनुभएको वडा अध्यक्ष पुर्जाले स्मरण गर्नुभयो। तर योजना सुरु हुनुअघि नै उहाँको असामयिक निधन भयो। निर्मल पुर्जा र उहाँको नेतृत्वमा रहेको ब्रोड पिक आरोही टोलीको निधनप्रति अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष भारतकुमार पुनले श्रद्धाञ्जली व्यक्त गर्दै निम्स दाइको सम्मानमा दानामा शालिक निर्माण गरिने घोषणा गर्नुभएको छ। शव जन्मथलोमा ल्याउन सम्भव नभए पनि अस्तु सेलाउने र शालिक निर्माण गरेर उहाँको सम्झना स्थायी बनाइनुपर्ने दानावासीको धारणा छ।
१६ वर्ष सैनिक सेवा गरेपछि पूर्णकालीन पर्वतारोही बन्नुभएका पुर्जाले सन् २०१९ मा “प्रोजेक्ट पसिबल” अभियानमार्फत विश्वका सबै १४ वटा आठहजारे हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर उहाँले विश्व कीर्तिमान कायम गर्नुभयो। अन्नपूर्ण हिमालबाट सुरु भएको त्यो यात्राले नेपाललाई विश्व पर्वतारोहणको नक्सामा थप उचाइमा पु¥यायो। उहाँको जीवनयात्रामा आधारित “१४ पिक्सः नथिङ इज इम्पोसिबल” वृत्तचित्रले विश्वभर चर्चा कमायो।
दानाको माटोमा जन्मिएर विश्वका सर्वोच्च शिखरहरूमा नेपालको झण्डा फहराउने निर्मल पुर्जा अब भौतिक रूपमा हामीसँग छैनन्। तर जन्मथलोमा घर बनाउने अधुरो सपना, शिक्षा र समाजका लागि गरेका योगदान, र साहसको अदम्य कथा दानावासीको स्मृतिमा सधैं जीवित रहनेछ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनले उहाँको जन्मजिल्ला म्याग्दी शोकमा डुबेको छ। उहाँको शव कहाँ अन्त्येष्टि गरिने भन्ने विषयमा भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिनुभएका पुर्जाले सन् २०१९ मा आफ्नै जन्मथलो अन्नपूर्ण प्रथम हिमालबाट ‘प्रोजेक्ट पसिबल’ सुरु गर्दै विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। पछिल्लोपटक उहाँ ब्रोड पिक र त्यसपछि के–टु हिमाल अतिरिक्त अक्सिजनबिनै आरोहण गरेर अर्को ऐतिहासिक कीर्तिमान थप्ने अभियानमा हुनुहुन्थ्यो।
१६ वर्षसम्म बेलायती सेनामा सेवा गरेपछि पूर्णकालीन रूपमा पर्वतारोहणमा लाग्नुभएका पुर्जाले विश्वभर नेपाली हिमालको सुरक्षित र व्यावसायिक पर्वतारोहणको सन्देश फैलाउन महत्वपूर्ण योगदान दिनुभएको थियो। उहाँले नेपालका साना–ठूला हिमालमा विदेशी आरोहीलाई आकर्षित गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान उचो बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले उहाँको निधनले नेपालको पर्वतारोहण क्षेत्रमा अपुरणीय क्षति भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । गाउँपालिकाले पुर्जाको निधनमा सोमबार गाउँपालिकामा शोक विदा समेत दिएको थियो । पुर्जाको निधनमा म्याग्दीका जनप्रतिनिधि, राजनितिक दल, कर्मचारी, सुरक्षा निकायदेखि सर्वसाधारण समेतले गहिरो दुख व्यक्त गरेका छन् । पुर्जाको जन्मथलोमा वडा कार्यालय र आमा समूहको नेतृत्वमा शोक सभा समेत गरिएको छ भने बेनी र गलेश्वरमा दिप प्रज्वलन गरी दिवंगत पुर्जा सहितका आरोहीहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । उहाँको असामयिक निधनले नेपाली पर्वतारोहण क्षेत्रले एक साहसी, दूरदर्शी र प्रेरणादायी व्यक्तित्व गुमाएको भन्दै प्रधानमन्त्री बालेन शाह, राजनितिक दल, जनप्रतिनिधि, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाले गहिरो शोक व्यक्त गरेका छन्।