गलेश्वरमा बौद्ध युवा क्लबको निःशुल्क गाडी सेवा तथा खानेपानी वितरण

  • २५ श्रावण २०८३, सोमबार
  • 3 पटक पढिएको

म्याग्दी २५ साउन । म्याग्दीको बेनीस्थित मंगलघाटमा रहेको बौद्ध युवा क्लबले गलेश्वर मन्दिरमा भक्तजनको सहजताका लागि निःशुल्क गाडी सेवा तथा खानेपानी वितरण गरेको छ। साउन महिनाको अन्तिम सोमबारको अवसर पारेर सञ्चालन गरिएको कार्यक्रममा गलेश्वर मन्दिरमा आउने भक्तजनलाई आवतजावतमा सहजता प्रदान गर्न निःशुल्क गाडी सेवा उपलब्ध गराइएको थियो। साथै, मन्दिर परिसर मा भक्तजन लाई निःशुल्क खानेपानी समेत वितरण गरिएको छ। सोमबार बेनीबाट गलेश्वर र गलेश्वरबाट बेनी गरी १ हजार सात सय ९२ जना ले क्लबको निःशुल्क यातायात सेवाबाट लाभ लिएका छन्। त्यसैगरी करिब ८ हजार जनालाई निःशुल्क खानेपानी वितरण गरिएको क्लबका अध्यक्ष दुर्गा बुढा मगरले जानकारी दिनुभयो । धार्मिक तथा सामाजिक सेवाको उद्देश्यले आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, सल्लाहकार तथा स्थानीय सहयोगीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले भक्तजनलाई सहज सेवा प्रदान गर्नुका साथै धार्मिक स्थलको स्वच्छता र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, सल्लाहकार तथा सहयोगी मनहरूप्रति क्लबले धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, सेवा गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण भक्तजन तथा उपस्थित महानुभावहरूप्रति पनि क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ।

क्लबका अध्यक्ष दुर्गा बुढा मगरले आगामी दिनमा पनि समाजसेवा, धार्मिक सेवा, सरसफाइ तथा सामाजिक एकताका गतिविधिलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“सेवा नै धर्म हो, सहकार्य नै शक्ति हो” भन्ने भावनाका साथ बौद्ध युवा क्लबले सामाजिक सेवाको अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ। क्लबले गरेको सामाजिक काम रचनात्मक रहेको भन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।