रघुगंगाले राहुपारेमा डोजर लगाएर अस्थायी बस्ती हटायो

  • २ भाद्र २०८३, मंगलवार
  • 3 पटक पढिएको

म्याग्दी, २ भदौ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेमा सामुदायिक बनको क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बस्दै आएका बैँसरीका पहिरो पीडितहरुले बस्ती खाली गरेपछि गाउँपालिकाले अस्थायी टहरा हटाएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकाहरुलाई बस्ती खाली गर्न लगाएपछि मंगलवार डोजर परिचालन गरेर टहरा हटाइएको हो ।
गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाही सहितको टोली राहुपारेमा पुगेर अस्थायी टहराका संरचनालाई डोजर लगाएर हटाउनुभएको थियो । वि.स. २०७२ साल जेठ १० गते गएको बैँसरी पहिरोबाट विस्थापित भएकाहरु राहुपारेमा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएको र उनीहरुको बैकल्पिक बसोबासको व्यवस्था अन्यत्रै गर्न लगाएर बस्ती खाली गर्न लगाईएको थियो ।
गाउँपालिकाको असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम राहुपारे क्षेत्रमा सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक उपयोगका लागि छुट्याइएको स्थानलाई अतिक्रमित गरी निर्माण गरिएका टहरा हटाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । ‘‘पटक पटकको ताकेता पछि अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुले बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरालाई हटाईएको छ, गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य ठाउँको समेत खोजी गरी त्यसलाई अतिक्रमणमुक्त बनाउने अभियानमा गाउँपालिका लागेको छ’’– प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो ।
राहुपारेमा बसोबास गर्दै आएका बैँसरीका पहिरो पीडितहरुको अन्यत्र बैकल्पिक बसोबास गर्ने ठाउँ भएपछि गाउँपालिकाले सार्वजनिक सूचना र मौखिक रुपमा समेत ठाउँ खाली गर्न अनुरोध गरेको थियो । पछिल्लो पटक गाउँपालिका र अस्थायी टहरामा बसोबास गर्दै आएकाहरुबिच साउन मसान्तभित्र राहुपारे अस्थायी बस्तीलाई खाली गर्ने सहमती भएको थियो ।
११ बर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाई बसोबास गर्दै आएकाहरुलाई आफ्नै घरजग्गामा फर्कन अनुरोध गरे बमोजिम बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरा भत्काउने र भौतिक संरचनाको फोहोरलाई व्यवस्थित गर्ने काम गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिएपछि विस्थापित २६ घर मध्ये केहि पुरानै पहिरो गएको बैँसरीमा फर्किएका थिए भने केहीले गलेश्वर, बेनी पोखरा लगायतका ठाउँमा बसोबास गर्दै आएका थिए । अहिले चार परिवारले राहुपारेमा बस्दै आएका थिए । गाउँपालिकाको अनुरोध र निर्देशन बमोजिम बस्ती खालि गरेपछि त्यहाँ रहेका टहरा हटाउन डोजर लगाईएको गाउँपालिकाले जनाएको छ ।