ज्ञानोदय माविमा हस्तलेखन सुधार कार्यक्रम सम्पन्न
- २३ श्रावण २०८३, शनिबार
- 5 पटक पढिएको
म्याग्दी २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकको लेखन सीप तथा हस्तलेखन सुधार गर्ने उद्देश्यले ‘हस्तलेखन सुधार कार्यक्रम’ सम्पन्न गरिएको छ।
विद्यालयमा स्थापीत खडानन्द–केशर कुमारी स्मृति छात्रवृत्ति अक्षयकोषको आर्थिक सहयोगमा एक साता सम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई आकर्षक, स्पष्ट र शुद्ध हस्तलेखनका विभिन्न अभ्यास गराइएको थियो। कार्यक्रममा विद्यार्थी र शिक्षकको लेखन क्षमता अभिवृद्धि गर्दै अध्ययनप्रतिको रुचि बढाउने तथा शैक्षिक उपलब्धिमा सुधार ल्याउने विषयमा जोड दिइएको विद्यालयले जनाएको छ।
पोखरा कोसमसको प्राविधिक सहयोगमा संचालित हस्तलेखन सुधार कार्यक्रम बाट विद्यालयका विद्यार्थि र शिक्षक समेत गरी एक सय बढी लाभान्वित भएको प्रधानाध्यापक अर्जुन पौडेलले जानकारी दिनुभयो। तालिममा देवेन्द्रकुमार शाह सुरेश बिक र विकास शाहले व्यवहारिक रुपमा हस्तलेखन सुधार सम्बन्धी प्रशिक्षण र सहजीकरण गर्नुभएको थियो।
तालिम समापन समारोहमा खडानन्द केशर कुमारी स्मृति छात्रवृत्ति अक्षय कोषका अध्यक्ष लक्ष्मीप्रसाद शर्माले विद्यालयको शैक्षिक सुधारका लागि हस्तलेखन तालिम उपयोगी बन्ने बताउनुभयो। उहाँले तालिममा सिकेका हस्तलेखन सुधारका सीपलाई निरन्तर अभ्यास र व्यावहारिक प्रयोगमार्फत प्रभावकारी रूपमा उपयोगमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्रीले विद्यालयमा स्थापित खडानन्द केशर कुमारी स्मृति छात्रवृत्ति अक्षयकोषका बाट निरन्तर रुपमा विद्यालयको शैक्षिक सुधार ,संगीत कक्षा व्यवस्थापन ,विद्यार्थी प्रोत्साहन लगायतका क्षेत्रमा भएको सहयोगले विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । स्वर्गीय खडानन्द शर्मा सुवेदी ज्ञानोदय माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा जिल्ला पञ्चायत सभापति र राष्ट्रिय पञ्चायत सदस्यसमेत रहनुभएको थियो भने स्वर्गीय केशर कुमारी सुवेदी विभिन्न सामाजिक संस्थामा सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूको स्मृतिमा घरपरिवार र आफन्तजनले स्थापित गर्नु भएको अक्षय कोषमार्फत विद्यालयमा विभिन्न शैक्षिक गतिविधि गर्दै आएको जनाइएको छ।
विद्यालयले विद्यार्थीको शैक्षिक तथा सिर्जनात्मक क्षमता विकाससँगै अनुशासन, व्यवहारिक सीप र लेखन शैली सुधारलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीको अध्यक्षता ,कोषका अध्यक्ष शर्माको प्रमुख आतित्यथा विद्यालयका शिक्षक दुर्गादत्त रिजालको शुभकामना मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक पौडेलले गर्नुभएको थियो।
