आयोजक र म्याग्दी कालीलाई नवौं मोना अस्ट्रेलिया कप भलिबलको उपाधि

  • २९ जेष्ठ २०८२, बुधबार
  • 105 पटक पढिएको

अस्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित नवौं मोना अस्ट्रेलिया कप भलिबल प्रतियोगिताको उपाधि आयोजक र म्याग्दी काली युनाइटेडले जितेको छ ।मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित पोखरा भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जत्न सफल भएको हो ।

पहिलो सेट मोनाले २५–२२ ले आफ्नो पक्षमा पार्यो । त्यसपछिको सेटमा पनि मोनाले एकपक्षीय २५–१६ र २५–१४ को सेटमा सहज जित दर्ता गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ राष्ट्रिय टोलीका सदस्य सरस्वती चौधरीसम्मिलित म्याग्दी कालीले राष्ट्रिय टोलीकै सदस्य कामना विष्ट सम्मिलित छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।एकपक्षीय बनेको पहिलो सेट २५–११ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा एक समय ३–११ ले पछि रहेको स्थिति उल्ट्याएर २५–२० को सेटमा जित निकाल्यो ।

१६-१६ मा बराबरी गर्दै म्याग्दी कालीले १८–१८ बराबरीबाट अग्रता लिदै जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक तेस्रो सेट म्याग्दीले २५–२३ ले आफ्नो पक्षमा पार्यो ।म्याग्दी काली लगातार चार प्रतियोगितामा च्याम्पियन बन्न सफल भएको हो । यसअघि म्याग्दी कालीले ढोरपाटन कप, जलजला कप र टीका कार्की मेमोरियल कपको उपाधि जितेको थियो । उपाधिसँगै पुरुषतर्फको विजेता मोनाले ३ हजार ५ सय ३५ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पोखराले १ हजार ८ सय १८ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार २ सय १२ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले ६ सय ६६ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।यसपटक महिलातर्फ राष्ट्रिय टोलीकी कामना विष्टले छन्त्याल, पुनम चन्दले मोना, कविता भट्टले जलजला र सरस्वती चौधरीले म्याग्दी कालीबाट खेल्नुभएको थियो।

पुरुषतर्फ आयोजक मोनाबाट राष्ट्रिय टोलीका रविन चन्द, जलजलाबाट राष्ट्रिय टोलीका लोकेन्द्र राज गिरीसँगै हेमन्त बहादुर मल्ल, गोर्खाबाट विशाल बहादुर बिक र ढोरपाटनबाट राजेन्द्र विष्टले खेल्नुभएको थियो । यस्तै गल्कोटबाट दिल बहादुर सुनार, म्याग्दी कालीबाट टेकराज अवस्थी र पर्वत बेनीबाट सम्राट भण्डारी र पोखराबाट राष्ट्रिय टोलीका पूर्व कप्तान मानबहादुर श्रेष्ठले खेल्नुभएको थियो । यस्तै विभागीय नेपाल एपिएफ क्लबका रमेश विकले पनि जलजलाबाट खेल्नुभएको थियो ।सर्वोत्कृष्ट खेलाडी चुनिनुभएका पुरुषतर्फ मोनाका रविन चन्द ठकुरी र महिलामा म्याग्दी कालीकी सरस्वती चौधरीले ट्रफी प्राप्त गर्नुभयो ।पुरुषतर्फ पोखराका मान बहादुर श्रेष्ठ स्पाइकर, पोखराकै दीपिक मगर सेटर र मोनाका पारस भण्डारी उत्कृष्ट ब्लकर चुनिनुभयो ।

 

यसैगरी महिलामा छन्त्यालकी कामना विष्ट उत्कृष्ट स्पाइकर घोषित हुनुभयो। म्याग्दी कालीकी मिया पुन सेटर, म्याग्दीकै आशा क्षेत्री सर्भर र छन्त्यालकी सन्जु पुर्जा उत्कृष्ट डिफेन्डर चुनिएर ट्रफी प्राप्त गर्नुभयो ।स्लेयर्स नेप्लिज बास्केटबल क्लबलाई ५०–४७ को अंकमा हराउँदै वाइल्ड याक्स च्याम्पियन बन्यो । दुई दिने प्रतियोगितामा खुल्ला पुरुषतर्फ १२ , महिलामा ६ तथा बास्केटबलमा १० टोलीको सहभागिता रहेको मोना अष्ट्रेलियाका प्रबक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।