अन्नपूर्ण गाउँपालिकाले दिवंगत पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
- २ भाद्र २०८३, मंगलवार
- 5 पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत किर्तीमानी पर्वतारोही निर्मल पुर्जा (निम्स) दाईको सम्मान र स्मृतिमा उहाँको जन्मथलोमा शालिक बनाउने भएको छ । गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिउँपहिरोमा पुरिएर ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गरेका पुर्जाको शालिक बनाउने निर्णय गरेको हो ।
“परिवारका सदस्यहरुको इच्छा अनुसार निर्मलको साहास, बहादुरी र किर्तीमान तथा योगदानको सम्मानमा अन्नपूर्ण गाउँपालिका–३ दानामा गाउँपालिकाले शालिक बनाउने निर्णय गरेका हौ,” गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो “निर्मलको जन्मथलो अन्नपूर्ण गाउँपालिकाको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाललाई निम्सदाई अन्नपूर्ण नामाकरणका लागि संघीय सरकारलाई सिफारिस गरेका छौ ।”
अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ् देखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गलाई पनि निम्सदाई मौरिस हर्जोग नामाकरण गर्न हर्जोगका परिवारसँग परामर्श लिएर निर्णय गरिने अध्यक्ष पुनले बताउनुभयो ।
सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर अन्नपूर्णबाट सुरु गरेको अभियानमा विश्वका सबै १४ वटा आठ हजार माथि उचाई भएका हिमाल छ महिना छ दिनमा आरोहण गरेर सबैभन्दा छोटो अवधीमा आठ हजार मिटर अग्ला सबै हिमाल चढेको किर्तिमान बनाउनुभएको थियो ।
१८ वर्षको उमेरमा सन २००३ मा ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती भएका निर्मलले २००९ मा बेलायतको स्पेशल बोट सर्भिस एसबीएस विशेष फौजमा आबद्ध हुनुभएको थियो । अक्सिजनबिना विश्वका १४ वटा आठहजार मिटर अग्ला हिमाल दुई पटक आरोहण गर्ने किर्तिमान बनाउने क्रममा पुर्जाको हिमपहिरोमा पुरिएर निधन भएको थियो ।
तीन वर्षअघि निर्मलले घोषणा गरेको रु. ४० लाखको अक्षयकोषको ब्याजबाट ज्ञान प्रकाश नमुना माविको कक्षा ८, १० र १२ मा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा दानाका अन्य चार वटा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिदै आएको छ