कान्छा नेता रविन्द्र मिश्र र ठूलाकान्छा बाबुरामका नाममा !

  • २१ फाल्गुन २०७३, शनिबार
  • पूजा ढकाल
  • 1787 पटक पढिएको

VBबरिष्ठ पत्रकार रविन्द्र मिश्रले आफ्नो पत्रकारिता पेशाको लामो अनुभव यात्रालाई बाईबाई गर्दै नेपालको राजनीतिमा होमिन पुगेका छन् । केही दिन अघि मात्र उनले पार्टीको नाम जुराउँदै ‘साझा पार्टी’ राखेका छन् । केही समय अगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति नामक पार्टी खोलसकेका छन् ।

नेपाली समाजमा व्याक्तिले पार्टी खोल्नु कुनै नौलो कुरा होइन । नेपालमा राणा शासनविरुद्ध आवाज उठेपछि धेरै सहिद भए । यसको प्रतिफलस्वरुप नेपाली समाजबाट राणा शासनको अन्त्य पनि भयो । नेपाली जनताले स्वतन्त्रता पाए ।

त्यसपछि नेपाली समाजमा सर्वसाधरण जनता नेता हुने मौका पाए । र, पार्टी पनि खोल्ने क्रम शुरु भयो । २०१७ सालमा राजा महेन्द्रले राज्यसत्ता आफ्नो हातमा पारेर पञ्चायत व्यवस्था लागू गर्दासम्म नेपालमा धेरै नेताको जन्म भइसकेको थियो । राजाले भलै पञ्चायत व्यवस्थामा एकलौटी राज्य गरेपनि उनीसँग नेताको कमी थिएन । र, भूमिगत रुपमा अन्य नेता र पार्टीको जन्म हुदै गइरहेको थियो ।

२०४६ सालको जनआन्दोलन पश्चात त नेपालमा नेता जन्मिने क्रममा बाढी नै आयो । गाउँमा नेता, गल्लीमा नेता, नगरपालिकामा नेता, सहरमा नेता, चुनावको वेलामा त घर घरमा नेता यति मात्र कहाँ हो र संस्थामा नेता, संस्थानमा नेता, कर्मचारीमा नेता, कलेजमा नेता, भएभरका सबै ठाउँमा नेता जनता त कता हो कता । सबै नेता ।

नेतै नेताका बीचमा केही नेताहरु अल्पायुमा नै सहिद हुन पुगे । धेरै नेता बीच बाटो बाटै अर्को बाटो मोडिए । तर, अहिले पनि नेता कमी भने छैन । यी सवै नेताको भित्री चाहाना नेपाललाई समृद्धि नेपाल बनाउने हुनुपर्छ ।

सोझा सिधा नेपाली जनताले जो नेता हुन्छ, उसलाई एकपटक विश्वास गरेकै छन् । ०४६ सालमा भएको जनआन्दोलन पछि अव देशमा विकासको लहर आउँछ । विकासको परिवर्तनले देशलाई समृद्धितर्फ डोहर्‍याउँछ भन्ने प्रत्येक नेपालीको बुझाइ हो । नेपाली जनताका छोराछारीलाई देशको बागडोर सम्हालन जनताले कर्सीमा पुर्‍याएका पनि हुन् ।
फेरि ०५२ सालमा अर्का नेताको जन्म भयो । उनीहरुले यी नेताले तिमीहरुलाई केही गर्नेवाला छैनन् । वर्षौदेखि पिछडिएका, हेपिएका, चेपिएका, सवै जनताले एकछत्र राज्य अधिकार दिलाउनेछांै । हामीलाई विश्वास गर । नेपाललाई परिवर्तन गरेरै छाड्छौ । नेपाली जनताले फेरि एकपटक अर्को पार्टी र नेताको विश्वासमा परे । ती नेताका कारण अनाहकमा १६ हजार नेपालीले ज्यानको वलिदान दिनुपर्‍यो । २०६४ साल पछि नेपालले केही उपल्वधी पनि हासिल गर्‍यो । २४० वर्षसम्म एक तन्त्र रुपमा राज्य सत्ता सम्हालेको शाह वंशको पनि अन्त्य भयो ।

नेपालले संविधान पनि पायो, भलै संविधानको कार्यन्वयनको छाँटकाट नदेखिएको भए पनि । २००७ बाट ०७३ सालसम्म आइपुग्दा नेपालमा हजाराैं नेताको जन्म भइसकेको छ । अब सामान्य नेता र पार्टीको खाँचो नभए पनि जन्मिने क्रम भने रोकिएको छैन । एकपछि अर्का नेता र पार्टीलाई प्रयोग गरेर हेरौ न त भन्नेहरुले आफ्नो र आफ्ना छोराछोरीका कपाल फुलाइसकेका छन् ।

अब चुरो कुरो तिर लागौं 

रविन्द्र मिश्रले भर्खरै औंलामा गन्न नसकिने पार्टीका बीचमा अर्को पार्टीलाई जन्म दिएका छन् । भट्टराईले संविधान जारी गरेपछि संविधान पूर्ण छैन र यसमा मेरो समर्थन पनि छैन भन्दै नयाँ शक्ति पार्टीलाई जन्म दिइसकेका छन् । यी दुई पार्टी अहिलेको अवधिसम्मका ताजा र जनताले प्रयोग नगरेका पार्टी हुन् । जसलाई नेपाली जनताले प्रयोग गर्ने मौकै पाएका छैनन् । भलै बाबुराम भट्टराईको कार्यकाल जनताले हेरिसकेका छन् ।

नेपाली जनतालाई पुनः अवसर जुरेको छ । अब यी दुई पार्टीलाई हेर्ने । पार्टी र नेतालाई हेर्न र चाख्न अभ्यस्त भइसकेका नेपाली जनतालाई यी दुई पार्टी र यसका मुख्य नेतालाई हेर्न कतिको रुचि राख्ने छन्, त्यो त आगामी चुनावले नै बताउला ।

अहिलेको नेपाली समाज चरम निराशा छ । युवा, जसले देशको मेरुदण्डका रुपमा काम गरेका छन् उनीहरु नेपालको राजनीतिबाट विरक्तिएका छन् । देशको विकासको प्रगतिको नाजुक अवस्थाले सबैलाई गिज्याइरहेको छ । देशमा भएका युवा विदेश पलायन भएका छन् । विदेशमा मृत्युको मुखबाट बच्दै रगत र पसीना बेचेर पठाएको रेमिट्यान्सले देश बचेको छ । सन् २०१५/१६ मा मात्र ६ सय ६५ विलियन नेपाली रुपैयाँ रेमिट्यान्सबाट भित्रिएको छ । यसरी भित्रिएको पैसा अनुत्पादक क्षेत्रमा हुने खर्चको आकँडा डरलाग्दो छ । यता देशले पूँजी गत खर्च गर्न नसकेर महत्वपूर्ण परियोजनाहरु निर्माण र सम्पन्न हुन सकेका छैनन् ।

नेपालको कुल वैदेशिक घाटा आर्थिक वर्ष ०७३/७४ को प्रथम ६ महिनामा अघिल्लो वर्षको तुलनामा करीव ५९ प्रतिशतले वृद्धि हुँदै ५ सय २ खर्ब ३७ अर्ब पुगेको छ । विदेशमा कमाएको केही रकम बोकेर विभिन्न सपना बुनेर आएको एक युवा नेपालमा लगानी मैत्री वातावरण नहुँदा पुनः वैदेशिक रोजगारीमा र्फकन वाध्य छ । देशमा भएका उद्योग धन्दा बढ्नुको सट्टा बन्द हुने क्रम बढ्दो छ ।

नाकाबन्दी ताका सबैका मुखमा झुण्डिएको आत्मनिर्भरको कुरा सेलाएर गएको छ । आयात प्रतिस्थापन गर्ने दीर्घकालीन योजना छैनन् ।

दुरदराजका गरिव जनतालाई अझै सरकार कहाँ छ पत्तो छैन । अहिले पनि पहाडका जनतालाई आफ्नै गाविसमा जान घण्टौंको पैदल यात्रा गर्नुपर्छ । पूर्वाधार विकासले उनीहरुलाई छुनै सकेको छैन ।

पढेलेखेका युवा विदेशमा निम्न स्तरको रोजगारी गर्न वाध्य छन् । पढ्नका लागि भनेर बर्षेनी हजारौं विद्यार्थी विदेश पलायन भइरहेका छन् । सन् २०१५/१६ मा मात्र ३२ हजार ८ सय ८९ विद्यार्थी पढ्नका लागि विदेश पलायन भए । जो ८/१० वर्ष नेपाल आउने छैनन् । वर्षेनी यसरी विदेश पढ्नका लागि जाने हजारांै विद्याथीसँगै अर्बौं रुपैयाँ बाहिरिएको छ ।

देशको पूर्वाधारको कुरा छाडेर शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिने बजेट खर्चले यी क्षेत्रका सामान्य सुधार भन्दा माथि अझै उठ्न सकेको छैन । आज पनि गरिबका छोराछारी पढ्न नपाएर अर्काका घरमा जूठा भाडा माझ्न बाध्य छन् । सिटामोल र जीवनजल नपाएर मृत्युवरण गर्नुपर्ने तीतो सत्य हाम्रा सामु छ ।

महङ्गी, भ्रष्टचार, ठाउँमा मान्छे भए मात्रै कुरा बिक्ने, नभए अन्यायमा परेको परै हुने अवस्था छ । सिष्टममा देश चल्ने भन्दा पनि शक्ति र भागवण्डाका भरमा चलेको छ । सरकार जनताको समस्यामा भन्दा पनि सरकार टिकाउनमै व्यस्त छ ।

यी तमाम समस्यासँग जुधेको नेपाली समाजका बीचमा जन्मिएको साझा पार्टी र बाबुराम भट्टराईको नयाँ शक्तिको जन्मको औचित्य के हो ? रविन्द्र मिश्र र बाबुराम भट्टराईले किन पार्टी खोल्नु पर्‍यो ? के नेपालमा पार्टीहरुको कमी थियो ? नेताहरुको कमी थियो ? नयाँ पार्टी खोल्नुको मुख्य उद्देश्य के हो ? देशलाई सेफ ल्याडिङ गर्नर् कि आगोमा घ्यू थप्न ? वा पद र प्रतिष्ठाको लोभको लडाइ हो यो ?

नेपाली जनताले केका आधारमा विश्वास गर्ने यी दुई कान्छा पार्टीहरुलाई ? प्रजातान्त्रिक मुलुकमा पार्टी खोल्ने स्वतन्त्रता सबैलाई हुन्छ । तर, के यही स्वतन्त्रतालाई प्रयोग गरेर रविन्द्र मिश्र औषत नेपालीले खाने तलव भन्दा धेरै गुणा बढीको जागिर, सेवा सुविधा छाडेर राजनीतिमा होमिएका हुन् ? बाबुराम भट्टराईले माओवादी पार्टीको वरिष्ठ उपाध्यक्ष जस्तो शीर्ष पद छोडेर नयाँ पार्टीको स्थापना गरेका हुन् ? कि साच्चै नेपाललाई समृद्ध नेपाल बनाउने हिम्मत यी दुई नेताले गरेका हुन् ?

भनाइ र गराइ फरक फरक भएका दुईजिव्रे नेतालाई नेपाली जनताले धेरैपटक विश्वास गरिसकेका छन् । अब यी नयाँ पार्टी जन्माएका नेतालाई केका आधारमा जनताले विश्वास गर्ने ? प्रश्न छ । संशय पनि उत्तिकै छ ।

नेपालमा सबैभन्दा ठूलो समस्या भनेको लहै लहै र बहकाउ हो । बिहारमा नितीश कुमार र दिल्लीमा अरविन्द केजरीवालको उदय पश्चात नेपालमा पनि नयाँ पार्टीको आवश्यकता महशुस गरिएको हुनुपर्छ । भारतका केजरीवाल म्येगासेसे पुरस्कार विजेता एक दृढ इच्छाशक्ति भएका सामाजिक कार्यकर्ता, नेता हुन् । नितीश कुमारले विकासमात्रै एक लक्ष्य सम्झेका थिए । के नितीश कुमार र केजरीवालले आफ्ना जनताको मन जितेजस्तै नेपालका बाबुराम र रविन्द्र मिश्रले नेपाली जनताको मन जित्न सक्छन् ? वा आफ्नो पार्टीलाई बचाइराख्न कुर्सी र पदको लोभमा फसिरहन्छन् ? जुन अहिलेका पार्टी र नेतामा अक्सर देखिन्छ ।

अहिले नेपाली जनतालाई पुराना पार्टी र नेताजस्तै नयाँ नेता र पार्टी चाहिएको छैन । र, अहिले नेपालका लागि यस्ता नेता र पार्टीको आवश्यकता पनि छैन । हाम्रोजस्तो देशमा केही गर्नै सकिँदैन, जे गरे पनि हुँदैन, जति जोगी आए पनि कानै चिरेका भन्ने सर्वसाधारणको विरक्तिएको उखान र मनलाई टाल्ने अनि देशलाई साँच्चै समृद्धितर्फ लैजाने दुरदर्शी र हिम्मत भएको नेता चाहिएको छ । के यो गुण रविन्द्र र बाबुराममा छ ?

यदि नेतामा दृढ इच्छाशक्ति हुने र पद तथा कुर्सीको लोभ नहुने हो भने नेपाललाई आर्थिक समृद्धिमा डोर्‍याउन धेरै वर्ष लाग्ने पनि छैन । सिङ्गापुरका ली क्वान यूले ३० वर्षको अवधिमै ठूलो समृद्धि सिङ्गापुर आफ्ना जनतालाई सुम्पिएका थिए । आधुनिक देश विकासको नक्सा कोर्ने र आर्थिक छलाङ मार्न सिकाउने बाबुराम र अहिलेसम्म देशका ठूला ठालू नेतालाई औंला ठड्याउने पत्रकार रविन्द मिश्रले नेपाल र नेपाली जनतालाई राजनीतिक माध्यमबाट कहाँ पुर्‍याउने हुन् ? आफूलाई कहाँ उभ्याउने हुन् ? यो हेर्न बाँकी नै छ ।

यी तमाम समस्याका बीचमा सफल काम गर्न नसके यी पार्टी र व्यक्तिको औचित्य फेरि ‘जति जोगी आए पनि कानै चिरेका’ उखानमा समाप्त हुनेछ । र, यिनै जनताले बाबुरामलाई नै विकासको नक्सा कोर्न सिकाउन र मिश्रलाई अरुले औंला ठड्याउन धेरैबेर लाग्ने नै छैन ।

जनतामा मुख्य संशय यही छ कि कुवाको भ्यागुतो जति उफ्रे पनि कुवामै रहन्छ वा समृद्धिको सागरमा छलाङ मार्छ ?

पूजा ढकाल