दशै कि दशा

  • १७ फाल्गुन २०७३, मंगलवार
  • सन्दिप खत्री
  • 2741 पटक पढिएको

sndसाथीभाई वा अन्य कसैलाई “दशैको शुभकामना छ है तपाईलाई” भन्ने हो भने । अधिकाँसको मुखबाट “तपाईलाई पनि शुभकामना”को साथ साथमा के दशै भन्नु दशा आयो भन्ने जफाव पाईन्छ । हामी नेपालीहरुको महानपर्व वडा दशैलाई किन दशाको रुपका विकास गर्दैछौ । हामीले नै दशाको रुपमा विकास गर्‍यौ वा समयले सोचनीय विषय छ ।

तर एउटा स्पष्ट कुरा के हो भने हामीले दशैलाई दशाको रुपमा परिभाषित गर्न थालेका छौ । स–साना बालबालिका, धनाड्य परिवार बाहेक घर व्यहार सम्हालेका सबैलाई दशा आएको खुसी भन्दा चिन्ता बढि हुन्छ किन ? तपाई हामीले यस विषयमा कहिल्यै गम्भीर भएर सोचेका छौ । कसैले भनेका थिए “जिन्दगी देखासिकी गर्दैमा जान्छ ।” तर हामीले अलिधेरै नै देखासिकी गर्‍यौ कि जसका कारण हाम्रा लागि दशै दशा बनेको छ ।

मध्यम र निम्न स्तरका परिवारको संख्या धेरै रहेको हाम्रो देशमा उपल्लो वर्गका मानिसको देखासिकी गर्नु पर्ने बाध्यताले पनि यो अवस्था सिर्जना भयो । दिन दुईगुणा रात चौ गुणा भएर महङ्गी बढीरहेको छ । हामी भन्छौ समय अनुसार चल्नै पर्छ । समय चल्यो या हामीले चलायौ ? जमाना आफै आयो या हामीले ल्यायौ ? महङ्गी आफै बढ्यो या हामीले बढायौ ? सम्भवत यी प्रश्नहरुमा घोत्लीने हो भने जफाव आउन सक्छ ।

आफ्ना लागि भन्दा अरुका लागि गर्नु पर्ने बाध्यता हामीकहाँ छ । दशैमा राम्रा कपडा आफ्नो लागि भन्दा अरुलाई देखाउनका लागि किन्नुपर्छ । महङ्गा गरगहना आवश्यकताले भन्दा पनि साथीभाईलाई देखाउनका लागि किन्नुपर्छ । कारण हामी आफ्नो हैसियत भुलेर अरुको हैसियत बराबर हुन खोज्छौ । सायद कमैलाई मात्रै युवा अवस्था अथवा व्यहारिक भएपछि दशैमा खुसी छाएको हुनुपर्छ । नत्र भने दशै आएर खुसी हुने मान्छेको संख्या कमै छ । म आफ्ना लागि समाजका लागि बाचिदिनुपर्छ । मैले कपडा आफ्ना लागि होईन समाजका लागि लगाउनु पर्छ । चाहे खानेकुरा होस्, चाहे लाउने, चाहे अन्य कुरा होस् आफ्ना लागि भन्दा पनि समाजका लािग गर्नु पर्छ । अर्थात अरुलाई देखाउनका लागि ।

मानिस कहिल्यै पनि सन्तुष्टि हुनु हुँदैन नत्र उसले जीवनमा केही पनि गर्न सक्दैन् । तर अन्य कुरामा सन्तुष्टि हुुनुपर्छ । हामी जे कुरामा असन्तुष्टि हुनु पर्ने हो त्योकुरामा सन्तुष्टि छौ । जे कुरामा सतुष्टि हुनु पर्ने हो त्यो कुरामा असन्तुष्टि छौ । दशै दशा बन्नुको अर्को कारण यो पनि हो । मानिलेउ दशैमा हामीसँग जे छ, त्यसैमा चित्त बुझाउने, मिठो मसिनो खाने, आफन्तजनसँगको भेटघाटलाई महत्वपूर्ण मान्ने हो भने दशै दशा बन्दैन् । तर यहाँ यसको ठिक विपरित हुन्छ वा गर्नु पर्ने बाध्यता छ भन्छौ हामी । जसका कारण दशै दशा बनेको छ । हुन त यसमा सबैका आ–आफ्ना तर्कहरु हुन सक्छन् ।

हाम्रा जिजु, बाजेका पालामा खानको समस्या थियो, लाउनको समस्या थियो जसका कारण दशैमा नयाँ कपडा लगाउने । मासु भात खाने चलन थियो । तर अहिले हामीलाई न त कपडा लगाउनमा समस्या छ नत खाने कुरामा नै । अनि हामी किन बाउबाजेका कुराहरुलाई आधार मानेर दशै पर्व मनाउँदैछौ । नयाँ तरिकाले दशै मनाउन किन नसक्ने ? यसको मतलब दशै पर्वलाई नै मनाउन हुँदैन भन्न खोजिएको होईन । मात्रै भन्न खोजिएको के हो भने पहिले जिजु, बाजेका पालामा पैसा कमाउन गाह्रो थियो, पैसाको मुख देख्न गाह्रो हुन्थ्यो, चामल पाउन गाह्रो थियो ।

वर्ष दिनमा आउनेदशैमा यी सबै कुराहरु आवश्यक पर्दथ्यो त्यसका लागि पैसा आवश्यक थियो । तर पैसा पाउन गाह्रो थियो । जब पैसा पाउन गाह्रो भयो तव दशै दशाको रुपमा परिभाषित हुन थाल्यो । तर अहिले त यी तमाम समस्याहरु त हामीकहाँ छैनन् । यद्यपी हामी किन दशैलाई दशा कै रुपमा परिभाषित गर्दछौ । एकाध परिवार बाहेक अहिले दशै मनाउन पैसा निकाल्न नसक्ने कोही पनि छैनन् । परिवारका खुसीका लागि आफ्नो खुसिलाई तिलाञ्जली दिएर मरुभूमिमा गएर काम गर्ने हजारौ दाजुभाईहरुले खुसी दिईरहेका छन् । आफू दशै नमाएर भएपनि परिवारलाई खुसीसाथ दशै मनाउने वातावरण वनाउँदैछन् । यद्यपी हामी भन्दैछौ । दशै होईन दशा हो भनेर ।

यो समाजका निर्माता पनि हामी नै हौ । समयको पछि हामी होईन समयलाई हाम्रो पछि हिडाउन सकियो भने आगामी वर्षहरुमा दशैलाई दशा भन्न नपर्ला । जसरी नव दुर्गा भगवति माताले युद्धमा विजय प्राप्त गरेर विजया दशमी मनाउने प्रचलन रह्यो । त्यसैगरि आगामी दिनहरुमा पनि वर्षभरिका दुख, कष्ठहरु माथि विजय गरेको पर्वको रुपमा दशैलाई मनाउने प्रयत्न गरौ । यो दशैले आफूमा जे छ त्यसैमा सन्तुष्ट बन्ने प्रेरणा देहोस् । विजया दशमी तथा शुभदिपवाली, छठ पर्वको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l