हिंसामा प्रतिकार गर्न किशोरीलाई आत्मरक्षा तालिम

  • ९ बैशाख २०८१, आईतवार
  • 179 पटक पढिएको

किशोरी तथा बालिकामाथि हुने हिंसाका घटना बढ्न थालेपछि म्याग्दीमा हिंसामा प्रतिकार गर्ने सीप सिकाउन तालिम दिन थालिएको छ । पछिल्लो समय किशोरी तथा बालिकाहरुमाथि शारीरिक, मानसिक र सामाजिक सञ्जाल लगायतका विभिन्न माध्ययमबाट यौनजन्य दुव्र्यवहार, हिंसा र चरित्र हत्या गर्नेजस्ता गतिविधि बढ्न थालेपछि किशोरी र बालिकाहरुलाई हिंसा प्रतिकार र कानुनी उपचारको लागि तालिम दिन थालिएको हो ।
मंगला गाउँपालिका, सामाजिक विकास कार्यालय र मिलन म्याग्दीले मंगला गाउँपालिकाभित्रका किशोरीहरुलाई आत्मरक्षा तालिम दिएका हुन् । मंगला गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न ९ वटा माध्यमिक विद्यालयहरुबाट महिला शिक्षकसहित ३६ जना किशोरीहरुलाई सहभागी गराएर तीन दिनसम्म हिंसा प्रतिकारका लागि आत्मरक्षा तालिम दिइएको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो ।
‘‘किशोरीमाथि विभिन्न हिंसाका घटना बढ्दो छन, हिंसा न्यूनिकरणका कार्यक्रमलाई नेपाल सरकारले पनि प्राथमिकतामा राखेको छ, हामीले अघिल्लो बर्षदेखि जिल्लामा किशोरी तथा बालिकाहरुलाई आत्मरक्षा तालिम दिन थालेका हौँ, गत बर्षको कार्यक्रम प्रभाबकारी बनेपछि यो बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएका छौँ’’– उहाँले भन्नुभयो । गत बर्ष रघुगंगा गाउँपालिकाको १० वटै माध्यमिक विद्यालयमा किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको थियो भने अन्य पालिकामा समेत विद्यार्थीहरुको प्रतिनिधिभुलक सहभागीतामा आत्मरक्षाको आधारभूत तालिम प्रदान गरिएको थियो ।
तालिममा आत्मरक्षा सिप विकास, सकारात्मक सोच तथा योग आसन, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्याससमेत गरी किशोरी तथा बालिकाहरुलाई व्यवहारिक ज्ञान र सिप प्रदान गरिएको थियो । त्यसैगरि सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा तथा घरेलु हिंसा न्यूनीकरण, बाल अधिकार, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमासमेत सहजीकरण गरिएको थियो ।
तालिममा नवीन आनन्द योग केन्द्र बेनी म्याग्दीका योग प्रशिक्षक नवीन जुग्जाली , जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, प्रहरी जवानद्वय अनिता दर्लामी, संगीता थारु, मंगला गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख राजेन्द्र आचार्य, महिला तथा बालबालिका शाखा प्रमुख अनिताकुमारी शर्मा लगायतले सहजीकरण गर्नुभएको थियो ।
यस बर्ष मंगला गाउँपालिकाबाट सुरु भएको किशोरी आत्मरक्षा तालिमलाई अन्य पालिकाहरुमा समेत विस्तार गर्ने सामाजिक विकास कार्यालयले जनाएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यबहार विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले क्षमता विकास र कानुनी साक्षरता प्रदान गरिएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो ।
‘‘ किशोरी शसक्तिकरण कार्यक्रम अन्तरगत हामीले स्थानीय तहहरुसंगको सहकार्यमा आत्मरक्षा कार्यक्रमलाई अघि बढाएका छौँ, यसले शारीरिक र मानसिक हिंसाप्रति प्रतिकार गर्ने र प्रतिरोध गर्ने क्षमताको विकास गराउने गरेको छ,र हिंसा गर्ने व्यक्तिहरुलाई कानुनी कारबाहीको व्यवस्थाको बारेमा समेत जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ’’– कार्यालय प्रमुख थापाले भन्नुभयो । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले तालिमको सद्धान्तिक र प्रयोगात्मक अभ्यासको क्रममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभएको छ । तालिमको समापन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पालिकामार्फत सिप विकास तथा सचेतनामूलक तालिम कार्यक्रमहरुलाई जोड दिइने बताउनुभयो । तालिमको समापनसत्र सहभागी दिया पुनले सञ्चालन गर्नुभएको थियो ।