म्याग्दीमा राष्ट्रिय दलित पत्रकार सङ्घ गठन, अध्यक्षमा अमित विश्वकर्मा

  • १२ बैशाख २०८१, बुधबार
  • 165 पटक पढिएको

म्याग्दी, वैशाख १२ गते । म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघ गठन भएको छ । बुधवार बेनीमा सम्पन्न भएको संघको प्रथम जिल्ला भेलाबाट अमित विश्वकर्माको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी गठन भएको हो । भेलाबाट समितीको उपाध्यक्षमा गोकुल सुनार, सचिव बादल शाही, सहसचिव राजकुमार परियार, कोषाध्यक्ष सुप्रेरना किसान, सदस्यहरुमा दुर्गा श्रीपाली र श्रेया किसान चयन हुनुभएको छ ।


यसैगरी भेलाले केन्द्रीय प्रतिनिधिहरुमा भूपेन्द्र नेपाली र विमला परियारलाई चयन गरेको नवनिर्वाचित सचिव शाहीले जानकारी दिनु्भयो । भेलामा पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले उत्पीडनमा परेका दलित समुदायका विषयहरुलाई सञ्चार माध्यमहरुमा बलियो तवरले उठाउन दलित पत्रकार सङ्घले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

पत्रकारिता पेशाप्रति आकर्षण बढाउन र पत्रकारहरुको क्षमता विकासका लागि पत्रकार महासङ्घले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको पौडेलले बताउनुभयो । राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय प्रतिनिधि अमिर रामदामले देशभर ८ सय दलित पत्रकारहरु क्रियाशील भएको बताउनुभयो । उत्पीडनमा परेको दलित समुदायका समस्याहरुलाई पत्रकारितामार्फत नीति निर्माण गर्ने निकाय सम्म पु¥याउन दलित पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको उहाँको विश्वास छ ।

दलित समुदायको पत्रकारितामा पहुँच विस्तार गर्नु र सङ्गठित भई दलितका मुद्दा उठान गराउन सङ्गठन आवश्यक भएकाले देशभर दलित पत्रकारहरुलाई गोलबन्द गर्ने अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । सात प्रदेश र ५५ जिल्लामा दलित पत्रकार सङ्घ गठन गरी करिब १५ सय पत्रकार सङ्घमा सङ्गठित भएको उहाँले जानकारी दिनुभयो ।

भेलामा दलित आन्दोलनका अगुवा तथा बेनीका व्यवसायी जीवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका सल्लाहकार ठाकुरप्रसाद आचार्य, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री र दलित अधिकारकर्मी याम किसानले दलितहरुका समस्या र विषयवस्तुको मुद्धाहरुलाई पत्रकारहरुले महात्व दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।