जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

  • १९ जेष्ठ २०८०, शुक्रबार
  • धिरन खत्री
  • 371 पटक पढिएको

म्याग्दी, १९ जेठ । “शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान” भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडाले गर्नुभएको हो ।


चारदिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सिम्खडाले शैक्षिक महोत्सवले शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन र विद्यार्थीहरुको क्षमता पहिचान गर्नमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारी विद्यालयको भौतिकसंगै शैक्षिक गुणस्तर बृद्धि गराउन गण्डकी प्रदेश सरकार जिम्मेवार रुपमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।


त्यस्तै गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले विद्यालयमा पढाईसंगै अतिरिक्त क्रियाकलापसंग जोडिएको शैक्षिक महोत्सवले विद्यार्थीहरुको क्षमतालाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारी विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार गराउनका लागि तीन तहको सरकारसंग समन्य गरेर योजनाबद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।


त्यस्तै विद्यालयका प्रध्यानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यालयमा विद्यार्थीहरुले आर्जन गरेको शिक्षालाई ब्यवहारमा उतार्न र प्रतिभाको पहिचान गर्न शैक्षिक महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले चारदिनसम्म संचालन हुने महोत्सवमा विद्यार्थीहरुको क्षमता अनुसार प्रतियोगितामा सहभागिता गराउने उद्देश्यले चित्रकला, बृद्धिचाल, नृत्य, खुल्ला कविता, भजन, मोटिभेसनल कलास, हाजीरजवाफ, वक्तृत्वकला र विद्यालयस्तरको विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी गरिने बताउनुभयो ।


महोत्सवको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायतले मन्तव्य राख्नुभएको थियो । जामुनाखर्क माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीको अध्यक्षता, प्रअ ढुंङ्गाना र समितिका सदस्य ध्रुवराज सुवेदीको स्वागत र शिक्षक मदन सुवेदीको संचालनमा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, ब्यवस्थापन समिति, शिक्षक, अभिभावक, सहयोगदाता, आमासमुह र विभिन्न विद्यालयका विद्यार्थी लगायतको उपस्थित महोत्सवमा रहेको थियो । महोत्सवमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान प्रविधि र स्थानीय सामाग्रीहरुलाई प्रर्दशनमा राखिएको छ। यस विद्यालयले पहिलो शैक्षिक महोत्सव २०७६ सालमा गरेको थियो । यस महोत्सवको सहआयोजकमा बेनी नगरपालिका रहेको छ ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l