म्याग्दीका एक सय बढी वनमा डढेलो

  • १० बैशाख २०८१, सोमबार
  • 145 पटक पढिएको

म्याग्दी १० वैशाख । म्याग्दीमा एक सय १० भन्दा बढी वनमा डढेलो लागेको छ । लामो खडेरी र जथाभाबी आगजनीको घटनाले जिल्लामा रहेका वनजङ्गलहरु सखाप पार्न थालेको हो । पछिल्लो एक सातायता जिल्लामा दिनहुँ डढेलोको घटना बढ्न थालेको छ । एक सय १० बढी सामुदायिक वनमा डढेलो लागेको र जथाभावी डढेलो लगाउने प्रवृति नरोकिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख डिभिजन वन अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘‘अहिले जिल्लामा वन डढेलो नियन्त्रण बाहिर छ, एउटै वनमा दोहोराएर डढेलो लागेको छ, कतिपय ठाउँमा वनजंगलमा फैलिएको आगो वस्तीमा पस्ने जोखिम पनि छ, हामीले समुदायस्तरमा आगजनी र डढेलो नियन्त्रणको लागि सावधानी अपनाउन आह्वान गरेका छौँ’’–डिभिजन वन अधिकृत अधिकारीले भन्नुभयो । जिल्लामा रहेका तीन सय ११ सामुदायिक वनसंगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) अन्तर्गत रहेका वनजंगलहरुमा हरेक दिन आगजनीका घटना बढेका छन् । गत फागुनदेखि नै जिल्लामा वन जंगलमा डढेलो लाग्न थालेको थियो । वनमा लागेको डढेलोले बायु प्रदुषण भएर निदहुँ तुँवालो लाग्ने र मानव स्वास्थ्यमा समेत प्रत्येक्ष असर गरेको छ ।

जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुमा आँखा, स्वासप्रश्वास, छाला चिलाउने लगायतका समस्याका बिरामी बढेका छन् । जथाभावी वन डढेलो लगाउँदा दर्जनौँ गाउँ बस्तीका स्थानीयले गाउँमा आगलागी हुनसक्ने जोखिमका कारण हैरानी व्यहोरेका छन् । रघुगङ्गा गाउँपालिका–१ बादुँक गाउँ वरपरका जङ्गलमा आइतवार दिउँसोदेखि लागेको डढेलो गाउँमा आउन सक्ने जोखिम भएपछि स्थानीयबासीले दुईदिनदेखि डढेलो नियन्त्रणमा जुटेको स्थानीय युवा लोकेन गर्बुजाले बताउनुभयो । ‘‘ गाउँ वरपर सबैतीरबाट डढेलो लागेको छ, कतिबेला गाउँमा आगो पस्छ भन्ने भय र त्रास मात्रै छ, डढेलोको धुँवाले श्वास फेर्न समेत कठिन बनाएको छ’’– गर्बुजाले भन्नुभयो ।

वन डढेलो नियन्त्रण तथा रोकथामका लागि सनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएपनि घाँस राम्रो हुने भन्दै वन जंगलमा आगो लगाउने प्रचलनका कारण हरेक बर्ष डढेलोको समस्या बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका सहित मंगला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रहेका विभिन्न वन क्षेत्रमा दिनहुँ आगजनी भैरहेको छ । आगलागीले वनजंगलहरु उजाड र नांगो देखिन थालेका छन् । आगजनीबाट वनस्पती, बन्यजन्तु र बन्यजन्तुको वासस्थानलाई नष्ट गर्ने र मानव स्वास्थ्य र वातावरणमा समेत असर पर्ने भएकाले डढेलो लगाउने कार्यलाई रोक्न र डढेलोलाई नियन्त्रणमा ल्याउन सक्रिय हुन डिभिजन वन कार्यालयले आह्वान गरेको छ । वन ऐन २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजंगलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई ३ बर्ष कैद, ६० हजार जरिवाना र दुबै सजाय समेत हुनसक्ने कानुनी व्यवस्था रहेको छ । तर अहिलेसम्म जिल्लामा वन डढेला लगाउने घटनामा संलग्नहरुको पहिचान र कानुनी कारबाही हुन सकेको छैन् ।रासस