मृत्युकाे द्धार सिरियाबाट………….

  • २१ फाल्गुन २०७४, सोमबार
  • 673 पटक पढिएको

सिरियाबाट

नाम : अजिर खान

ठेगाना: ध्वस्त टापु सिरिया

चाहना: जिजीविषा

एकाबिहानै

चराहरूको चिरबिर आवाजसँगै उठेर

अल्ला , भगवान् र यसुको

गुनगान गाउने मन नभएको होइन मेरो ।

तर भेटिँदैनन् अचेल

मन्दिरमा भगवान्

चर्चमा यसु

गुन्जिँदैनन् शान्तिका हरफहरू

सुनिँदैनन् मानवताका आवाजहरू

सद्भावको छहारी नभेटेको धेरै वर्ष भैसक्यो ।

लास बनेका छन् परेवाहरू

विश्व शान्ति संगठन

साच्चै निकै शान्त बसेको छ ।।

चुपचाप ! चुपचाप ! चुपचाप ।

अचेल फलाममा होइन मानवतामा

लागिसकेको छ खिया

अरे आऊ केही त गर रोइरहेछ सिरिया।।……….

विकास विनास बनेको छ

विज्ञान अभिसाप बनेको छ

हर दिन लासको मेला लागेको छ

रङ फेरेका छन् नदीहरूले

खण्डहर बनेका छन् घरहरू

फुल्ल छाडेका छन् फूलहरू

चराचुरुङ्गी बसाइ सरिसके

मानिससँगै आसाहरू पनि मरिसके

हरेक दिन गोला बारुदको गीतमा

तण्डव नाच्दैछन् सहरभरिका लासहरू

हेर्दै आकास तारा झरुन् भन्छु

तर झर्छन गोली बारुद

पार्छन् तन मन छियाछिया

अरे आऊ केही त गर रोइरहेछ सिरिया ।

लासको पुकार सुन्न

बेकार

चिल्ला कार चढेर आउछन्

चिल्ला बात गर्छन्

आश्वासन पस्कन्छन्

र चिल्लै कारमा फर्कन्छन् ।

पोलियोको गोली खाने बेला

बन्दुकको गोली खादैछन् बालबालिका ।

शान्तिक्षेत्र भनिएका विद्यालयहरू

बनेका छन् विध्वंसको केन्द्रबिन्दु ।

शक्तिशाली मुलुकले

दवाउँदैछन् कमजोर अर्थतन्त्रलाई ।

जलाइदैछन् गान्धीका आस्थाहरू

जल्दैछन् बुद्धका वाणीहरू।

नयाँ बिरुवा नपलाएको थुप्रै भयो

भोकप्यासले प्यार गरेको धेरै दिन भयो ।

मिसाएर गोली रगतमा पिउँदैछन् चिया

अरे आऊ केही त गर रोइरहेछ सिरिया ।

विद्यालय ध्वस्त भएको छ मानौँ

आएको छ प्रलय ।

पढ्नको लागि पुस्तक छैन

छैन कापी कलम लेख्न।

त्यसैले अहिले मैले

काटेर औँला लासको

डोब्दै मसी रगतको

लेख्दैछु विध्वंसको

ऐतिहासिक कविता ।

                                                            सुमन हुलाकी