दिवंगत थाई राजाको भब्य समारोहका साथ अन्येष्टि

  • १० कार्तिक २०७४, शुक्रबार
  • 2683 पटक पढिएको

कार्तिक ९, २०७४ । गतवर्ष निधन भएका थाई नरेशको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । गतवर्ष अक्टोबरमा निधन भएका नरेश भूमिबोल अदुल्यादेजको राजदरबार ‘ग्रान्ड प्यालेस’ नजिक भव्य समाधिस्थल बनाउन लामो समय लागेका कारण अन्त्येष्टिमा ढिलाइ भएको हो ।

पाँच दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा ठूलो संख्यामा सर्वसाधारण दरबार अगाडि उपस्थित भएका छन् । अधिकारीले २ लाख ५० हजारभन्दा बढी सर्वसाधारण उपस्थित भएको जनाएका छन् । धेरैजसो भवनहरू पहेंलो सयपत्री फूलले सजाइएको थियो । सडकको दुवैतर्फ लामबद्ध मानिसले शोक र सम्मान व्यक्त गर्न कालो कपडा लगाएका थिए । अदुल्यादेजलाई ‘माउन्ट मेरु’ को प्रतिनिधित्व गर्ने समाधिस्थलमा अन्तिम संस्कार हुनेछ । मृत्युपछि थाई राजाको आत्माको बास हुने विश्वास गरिएको ‘माउन्ट मेरु’ हिन्दु र बौद्ध धर्मावलम्बीको विश्वकै केन्द्र मानिन्छ । ५० मिटर अग्लो समाधिस्थल बनाउन देशकै उत्कृष्ट कामदारलाई करिब १० महिना लागेको थियो ।

पाँच दिने दाहसंस्कार समारोहको मुख्य रूपमा सांकेतिक अस्तुकलशलाई ढोल, बाँसुरीको धुन, तोप तथा सलामीसहित समाधिस्थलतर्फ लगिएको थियो । समारोहको दोस्रो पक्षका रूपमा अस्तुकलशलाई समाधिस्थलसम्म विशेष किसिमको चारपांग्रे रथमा राखेर लगिएको थियो । रथ १४ टन गह्रो भएकाले २ सय सैनिकले तानेका थिए । उक्त रथ १८ औं शताब्दीदेखि प्रयोग गरिँदै आएको छ । दाहसंस्कार स्थलमा उनको अस्तुकलशलाई कैयौंपटक परिक्रमा गराइएको थियो । स्वर्गीय राजाको चितामा उनका छोरा राजा महा भाजिरालङर्णले स्थानीय समयअनुसार राति १० बजे दागबत्ती दिएका हुन् । अन्त्येष्टि समारोहको प्रक्रिया भने बुधबार नै ग्रान्ड प्यालेसमा सुरु भएको थियो । बिहीबारको शवयात्राअघि शाही दरबारमा विभिन्न धार्मिक संस्कारहरू गरिएको थियो । बौद्घ धर्मअनुसार गरिने अन्त्येष्टि भने थप दुई दिनसम्म चल्नेछ ।

अन्तिम संस्कार समारोहका लागि सरकारले ३ अर्ब भाट (९ करोड डलर) उपलब्ध गराएको थियो । समारोहमा ४० देशका शाही परिवार तथा विशिष्ट अतिथि बैंकक पुगेका छन् । उनको सम्मानमा शोक मनाउन बिहीबार थाई सरकारले राष्ट्रिय बिदा दिएको छ । बैंक तथा वित्तीय संस्थालगायतका धेरैजसो निजी क्षेत्रहरू बिहीबार बन्द भएका थिए । १९४६ मा १८ वर्षको उमेरमा राजगद्दीमा बसेका भूमिबोलले ७ दशकसम्म शासन गरे । उनको शासनकालमा थाइल्यान्डमा २० जना प्रधानमन्त्री बनेका थिए ।

भूमिबोल थाइल्यान्डमा इतिहासमै सबैभन्दा लामो समय राजगद्दी सम्हालेका हुन् । उनको २०१६ को अक्टोबरमा ८८ वर्षको उमेरमा निधन भएको थियो । उनी आधुनिक थाइल्यान्डका निर्माताका रूपमा देशभर लोकप्रिय थिए । उनको पालामा कृषिमा आधारित थाइल्यान्डको अर्थतन्त्र आधुनिकीकरणको युगमा प्रवेश गरेको हो । तर कतिपयले प्रजातन्त्रलाई संस्थागत हुन नदिएको र जननिर्वाचित सरकारभन्दा सेनालाई प्राथमिकता दिएको भन्दै उनको आलोचना गर्ने गरेका छन् ।

-कान्तिपुर