पर्यटकको आकर्षणमा मौलिक काठका घर

  • १३ बैशाख २०८०, बुधबार
  • धिरन खत्री
  • 708 पटक पढिएको

म्याग्दी, १३ बैशाख । परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका पुराना काठका घरहरु पर्यटकको आकर्षण बन्दै गएको छ । पछिल्लो पुस्ता आधुनिक घरप्रति आकर्षित भएपछि लोप हुदै गएका पुराना मौलिक घरहरु पर्यटकको आकर्षण बनेका हुन् । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि र सीपको प्रयोग गरेर निर्माण हुने यस्ता काठका घरहरू जाडोमा न्यानो र गर्मीमा शीतल हुने गर्छन ।


अन्नपूर्ण गाउँपालिका– ८ राम्चे स्थित घना लालीगुराँसको जंगलस्थित तीन पोखरी भन्ने स्थानमा ३६ बर्षदेखि काठको घरमा ७६ बर्षिय नन्दप्रसाद पुन बस्दै आउनुभएको छ। काठको घर जाडो ठाउँमा न्यानो हुने भएकोले स्थानीय जंगलको काठ प्रयोग गरेर ३६ बर्षअघि बनाएर बस्दै आएको पुनले बताउनुभयो । वरीपरि जंगल विचमा समथर जंग्गामा काठको घर बनाएर कृषि खेती र भैसी पालन गर्दै आएका छन् ।


पुन बस्ने घर स्थानीय स्तरमै उपलब्ध बलिया काठहरु प्रयोग गरेर झ्याल ढोका, वरीपरि बार, छानो काठकै प्रयोग गरेर बनाएको घर प्रसिद्ध पर्यटकियस्थल घोडेपानी– पुनहिलदेखि मोहरेडाँडामा अन्तरगत लालीगुराँस टे«कमा आउने पर्यटकको आकर्षण बनेको छ। उनले काठको घरसंगै भैसीपालन गर्ने गोठपनि काठकै बनाएका छन् । पर्यटकीस्थलमा आवातजावात गर्ने पर्यटकलाई काठको घरको फोटो खिच्ने गर्छन । काठको घरमा जस्तो अर्को घरमा आनन्द नहुने अनुभव पुनले सुनाउछन् ।


शरीरमा शक्ति भएसम्म परिश्रम मार्फत उत्पादन गरेको तरकारी र दुध पर्यटकियस्थल घोरेपानीका होटलमा बेचेर गाउँमा बस्ने छोराछोरी पालेको अनुभव सुनाउने ७६ बर्षिय पुनको सारथी लालीगुराँसको जंगल, जीवजन्तु र रेडियो बनेको छ। ”उहाँले पहिल्य सात÷आठवटा भैँसी र कृषि खेती गर्ने भएपनि अहिल्य शरिरको शक्ति कम हुदै गएपछि एक वटा दुध दिने भैसी र थोरै कृषिखेती गर्नुभएको छ।

अहिल्य छोराछोरी र नातीनातिनाले पठाएको खर्चले एक्लो आनन्द जीवन बाचिरहेको उहाँले बताउनुभयो। पुन गाँउ र शहरमा भएका छोराछोरीको घरमा बस्न रुचाउदैनन् । अहिल्य बुढेसकालमा जेठो छोराले साथ दिएका छन् । गाउँ र शहरबाट नातिनातिनाले समयसमयमा भेट्न आउदा यहाँ रमाउने गरेको अनुभव सुनाउछन् ।


घुम्न आउने पर्यटकहरुले काठको फोटा खिच्ने, सेल्फी खिच्ने र भैसीको दुध खान खोज्ने पर्यटकलाई पुनले स्वादिलो दुध खुवाउनुहुन्छ । उहाँको पुरानो काठको घरलाई नयाँ बनाउनका लागि घुम्दै आएकी फ्रान्सेली नागरिकले काठको जस्तै नयाँ घर बनाईदिएकी छन् । तर पुन आफ्नै सिपले बनाएको पुरानो घरमा आनन्द मान्छन् । आफ्नो पुस्तापछि यी घरहरु लोप हुनेमा चिन्ता ब्यक्त गर्छन पुनले ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l