दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य परिक्षण

  • २२ फाल्गुन २०७४, मंगलवार
  • 2660 पटक पढिएको


म्याग्दी, २२ फागुन । जिल्लाको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको आँखा र स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा अन्य विद्यार्थीहरुको समेत स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको छ । वडा अध्यक्ष जीवन मल्लको संयोजनमा डस्ट्री याक फाउण्डेशन काठमाडौँले विशेषज्ञ डाक्टरहरुको सहभागिता शिविर आयोजना गरिएको हो ।

टोलीले विद्यालयमा अध्ययनरत १७ जना दृष्टिविहीन विद्यार्थीको विशेष आँखा परिक्षण गर्नुका साथै थप उपचारको पहल गरिने जनाईएको छ । कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीका लागि स्वास्थ्य परिक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो । फाउण्डेशनका अध्यक्ष जोन खड्काको नेतृत्वमा डा. सचित भण्डारी, तुलसी बहादुर चुडाल र डिकी शेर्पा सम्मिलित स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । सो अवसरमा फाउण्डेशनका अध्यक्ष खड्काले दृष्टिबिहीन विद्यार्थीका लागि व्यवस्थित शौचालय र आवास गृह व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यालयका प्रधानाध्यापक निलकण्ठ सुवेदीले दृष्टिबिहीन विद्यार्थीहरुका लागि शिविर सञ्चालन हुने राम्रो भएको भन्दै नियमित स्वास्थ्य परिक्षणको व्यवस्था गर्न माग गरे । २०६५ सालदेखि दृष्टिबिहीन विद्यार्थीका स्रोत कक्षा सञ्चालन गरिदै आएको ज्ञानोदयमा अध्ययनरत दृष्टिबिहीनका लागि आवासिय सुविधा समेत उपलब्ध गराईदै आएको छ । विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा दृष्टिबिहीन विद्यार्थीका लागि आधारभुत आवश्यकता उपलब्ध गराउन सकिएको प्रअ सुवेदीले जानकारी दिए । वडा अध्यक्ष मल्लले दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य सुविधा, पठनपाठन प्रक्रियामा सघाउ पु¥याउने उद्देश्यले फाउण्डेशनसँग समन्वय गरिने बताए ।