सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

  • २२ बैशाख २०८१, शनिबार
  • 227 पटक पढिएको

म्याग्दी ,२० वैशाख ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण अस्तव्यस्त भएपछि सडकमा जलविद्युत आयोजनाका सवारी साधनलाई अवरोध गरेका थिए ।


शुक्रवार दिनभर गाउँपालिकामा भएको सर्वपक्षिय छलफलमा जलविद्युत आयोजनाहरुले पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई ग्राभेल सहित स्तरोन्नती गर्ने र नियमित रुपमा सडकको धुलो कम गर्न पानी हाल्ने काम सूरु गर्ने सहमती भएपछि सडक सूचारु भएको हो । यस अघि गाउँपालिकासंग जलविद्युत आयोजनाहरुले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयबासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमती भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । सडक अबरोध भएपछि मौवाफाँटदेखि पिप्ले क्षेत्रमा निर्माण सामाग्री र उपकरण बोकेर रोकिएका जलविद्युत आयोजनाका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको जलविद्युत आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा, स्थानीय सरोकारवालाहरु समेतको बैठकमा बेनी–जोमसोम सडकखण्ड स्थित घुमाउनेतालदेखि पिप्ले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ्ग, ग्रेडिङ र ग्राभेल सहित सडक स्तरोन्नती गर्ने सहमती भएको छ । घुमाउनेताल देखि च्यानडाँडा सम्मको सडकमा रघुगंगा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युतको ठेकेदार जे.पी.एशोशियट्स कम्पनीले घुमाउनेताल देखि झिँ र दग्नाम जाने चोक सम्म तथा रघुगंगा मा.वि. को सरसापट सम्मको ड्रेनको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले धुलो र जिर्ण सडकको समस्यालाई सुल्झाउन आयोजनाहरुले जिम्मेवारीपन देखाउनुपर्ने बताउँदै सडक स्तरोन्नतीको गाउँपालिकाले समेत अनुगमन गर्ने बताउनुभयो ।
त्यसैगरि च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठुलोखोला र माथिल्लो ठुलोखोला जलविद्युत आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । ‘‘ सडक स्तरोन्नतीको लागत अनुमान तयार गर्ने र नापजाँचमा गाउँपालिकाका प्राविधिकहरुलाई खटाउँछौँ, पटक पटकको सहमती जलविद्युत आयोजनाहरुले कार्यान्वन नगर्दा समस्या उत्पन्न भएको छ, यस पटकको निर्णयलाई पालना गराउन गाउँपालिकाले निरन्तर पहलकदमी लिन्छ’’–अध्यक्ष भण्डारीले भन्नुभयो ।
बैठकमा वडा नम्बर ३ पिप्लेका वडा अध्यक्ष खिमबहादुर शाहीले पटक पटक भएका सहमती पालना नगरेको कारण स्थानीयबासी सडक अबरोधमा उत्रनुपरेको बताउँदै तत्काल सहमती पालना गरेर सडकलाई स्तरोन्नती गर्न जलविद्युत आयोजनालाई निर्देशन दिनुभयो । बैठकमा राहुघाट जलविद्युतको विद्युतगृह रहेको तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाई तथा चौडाई अनुसार प्रतिक्षालय निर्माण गर्ने र आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो आर्यघाट परिसरबाट खाली गर्ने निर्णय समेत भएको छ ।