साइबर सुरक्षा तथा कानुन सम्बन्धी तालिम सम्पन्न

  • २३ बैशाख २०८१, आईतवार
  • 103 पटक पढिएको

कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दीले (मे २) राष्ट्रिय सूचना प्रविधिको अवसर पारी १ दिने साइबर सुरक्षा तथा कानुन विषयमा तालिम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा सूचना र प्रविधिको बिकास र बिस्तार सँगसँगै साइबर अपराध पनि बढ्दै गएको र आगामी दिनमा अझै बढ्ने भएको र यसले ठूलो खतरा निम्त्याउने सम्भावना भएकाले कार्यक्रम आयोजना गरिएको कुरा संस्थाका अध्यक्ष लाल बहादुर कार्कीले बताए ।

बेनी नगरपालिकाको न्यायिक समिति, जनप्रतिनिधी, कर्मचारी, शिक्षक र १६ वर्ष भन्दा माथीका विद्यार्थीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेको थियो । कार्यक्रममा क्यान गण्डकीका पूर्व अध्यक्ष क्यान महासंघ नेपालका केन्द्रिय सदस्य चिन्तामणी बास्तोला, क्यान गण्डकीको सचिव खड्गबहादुर गुरुङ्ग, कोषाध्यक्ष बामदेव रिजालको उपस्थिती र संचालन संस्थाको सचिव बासुदेव घिमिरेको रहेको थियो ।

कार्यक्रममा साइवर कानुन सम्बन्धी  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक बद्रिजंग शर्मा आचार्य, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी बेनी नगरपालिकाका ईन्जिनियर खिमबहादुर थापा क्षेत्री र साइवर सुरक्षा सम्बन्धी पोखराका राजेन्द्र थापा क्षेत्रीले प्रशिक्षण दिनुभएकाे थियो ।