गण्डकीमा सभामुखको निर्णायक मत दिएर मुख्यमन्त्रीलाई विश्वासको मत

  • २३ बैशाख २०८१, आईतवार
  • 199 पटक पढिएको

२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले निर्णायक मत दिएर मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गर्नुभएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ । आवश्यक अवस्थामा आफूलाइ पनि मत हाल्न पाउने अधिकार रहेको बताउँदै सभामुख धितालले राजनीतिक हिसाबमा एमाले–माओवादीकै चाहना अनुसार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले समर्थन जनाएका थिए । त्यसमा आफू पनि निर्णायक बनेर सभामुखले अधिकारीलाई मत दिलाउनुभएको हो । नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।
सभामुखले ३० लाई नै बहुमत मानेर विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि नेपाली कांग्रेसले नाराबाजी गरेका छन् । सभामुखले असंवैधानिक रुपमा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर विश्वासको मत दिलाएको भन्दै कांग्रेसले फेरि सर्वोच्च जाने चेतावनीसमेत दिएको छ ।
गत चैत २५ गते सभामुख धिताललाई समेत गणना गरेर मुख्यमन्त्री नियुक्त भएका अधिकारीले विश्वासको मत लिँदा पनि सभामुखलाई प्रयोग गरेको काँग्रेसको आरोप छ । ६० सदस्यीय प्रदेश सभामा ३१ जना बहुमत पुग्नुपर्ने संवैधानिक व्यवस्था नै छ ।

संविधानको धारा १६८ (४) मा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । तर, ६० सदस्यीय गण्डकी सभामा बराबर नै नहुने र ३० नै बहुमत हुने सत्तारुढ दलहरुको दावि र तर्क छ ।