म्याग्दीमा मापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता बढ्यो

  • २३ बैशाख २०८१, आईतवार
  • 779 पटक पढिएको

म्याग्दी , २३ वैशाख । म्याग्दीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने कार्य रोक्न र नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने सवारी दुर्घटनाको प्रमुख कारण नै मापसे गरेर सवारी चलाउने रहेकाले जिल्ला सदरमुकाम बेनी संगै सिंगा तातोपानी, दरबाङ, भुरुङतातोपानी र दानामा पोष्ट नै खडा गरेर नियमित रुपमा मापसे चेकिङलाई अघि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक राजकुमार केसीले बताउनुभयो ।
जिल्लामा पछिल्लो साढे दुई महिनामा दुई सय बढी सवारी चालक मापसे कारबाहीमा परेका छन् । प्रहरी चेकिङ पोष्टमा नियमित र अन्य ठाउँहरुमा घुम्ती रुपमा समेत मापसे चेकिङ गर्न थालेपछि पादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु धमाधम कारबाहीमा पर्न थालेका हुन् । मापसे कारबाहीबाट मात्रै यो अवधिमा दुई लाख राजश्व संकलन भएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।
‘‘मापसेले दृष्टि भ्रमित गराउने भएकाले दुर्घटनाको प्रमुख कारणको रुपमा लिने गरिन्छ, हामीले मापेसे चेकिङलाई जरिवानासंग मात्र जोडेका छैनौ, मापसे कारबाहीमा परेकालाई जरिवाना संगै ट्राफिक सचेतना दिएर मात्रै कागजपत्र फिर्ता दिने गरेका छौँ, एक पटक कारबाहीमा परेकाहरुले दोहोराएर गल्ति नगरुन भन्नेतर्फ हामी केन्द्रित भएका छौँ’’–कार्यालय प्रमुख केसीले भन्नुभयो ।
प्रहरीले दुर्घटनाका प्रमुख कारण मानेको मापसे संगै तीब्र गति नियन्त्रण र क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने प्रवृत्तिलाई समेत निरुत्साहित गराउन अभियानकै रुपमा अघि बढेको जनाएको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्नु नै प्रमुख कार्यभार रहेकाले हरेक दिन जिल्ला कार्यालय र मातहतका चार ठाउँका चेकिङ पोष्टबिचमा भर्चुहल समिक्षा गर्ने र सवारी चेकिङ तथा ट्राफिक व्यवस्थापनलाई स्तरीय बनाउन जुटेको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।
मापसे कारबाहीमा परेका व्यक्तिहरुलाई साताको आइतवार जिल्ला प्रहरी कार्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न थालिएको छ । सचेतनामा मापसे सवन गरेर सवारी चलाउँदा हुन सक्ने दुर्घटनाको जोखिम, त्यसले पार्ने व्यक्तिगत, पारिवारीक, सामाजिक क्षति र हानी नोक्सानीको बारेमा प्रशिक्षण दिने गरिएको छ । कार्यालयले गत पुस १ गतेदेखि सवारी कारबाहिको जरिवाना राजश्वलाई बैङ्किक प्रणालीबाट संकलन गर्न थालेको छ ।
चालु आर्थिक बर्ष २०८०÷०८१ को साउनदेखि हालसम्म सवारी नियम उलंघन गरेर सवारी चलाउने ७ हजार ५१९ वटा सवारी साधनलाई कारबाही गरेर ५५ लाख १३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयका प्रहरी सहायक हवल्दार रामकृष्ण पन्तले जानकारी दिनुभयो । म्याग्दीमा गत बर्ष ट्राफिक प्रहरी कार्यालयले सवारी साधन कारबाहीबाट रु ७३ लाख २७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको थियो । ट्राफिक प्रहरीले सवारी चेकजाँच संगै सचेतनामूलक कार्यक्रमलाई समेत संगसंगै अघि बढाएको छ ।
यात्रु, चालक, सवारी साधन र सडकलाई सुरक्षित बनाउँदै दुर्घटना न्यूनिकरण गर्न ट्राफिक नियम र सावधानिको बारेमा चालक, यात्रु, सर्वसाधारण, विद्यार्थी समेतलाई प्रशिक्षण दिन थालिएको छ । तीन महिनाको अवधिमा मात्रै १४ हजार जनालाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिइएको कार्यालयका प्रहरी सहायक हवल्दार पन्तले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको हालसम्म विभिन्न ठाउँमा पुगेर २२ हजारलाई ट्राफिक सचेतना दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।