‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम 

  • २१ बैशाख २०८१, शुक्रबार
  • 99 पटक पढिएको

 

सुरेन गुरुङ

अन्नपूर्ण २१ बैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् ।

म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारका लागि लगानी भित्र्याउन पहल सँगै प्रर्वद्धनका लागि बुधबार आधार शिविर प्रस्थान गरेको टोली शुक्रबार पैदलयात्रा सकेर फर्किएको हो ।

 

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअ लगायत सुरक्षा अधिकारी, जनप्रतिनिधी, प्राविधिक, पत्रकार र स्थानीय अगुुवाहरु गरि ४० जनाको टोली आधार शिविर पुगेर फर्किएको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

 

 

टोलीमा सहभागी प्राविधिक टोलीले मौरीज हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको पदमार्गमा म्याराथुन प्रतियोगिता आयोजना गर्नका लागि सम्भाव्यता पनि गरेको छ ।

 

हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर सम्म पैदलयात्रा गरिएको हो ।

 

पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि अन्नपूर्ण आधार शिविरमा पर्यटकहरु पुुग्न थालेका छन् । नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ ।

 

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तब्य रोज्नेहरुलाई अन्नपूर्ण नर्थ वेसक्याप आकर्षक गन्तब्य बन्ने सम्भावना रहेको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

 

सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

 

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका तेज गुरुङको नेतृत्वमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु. २ करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु. ४० लाख भन्दा बढी लगानी गरेका छन् ।

 

चालु आर्थिक वर्षमा गाउँपालिकाको रु. पचास लाख बजेटमा भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गर्ने तयारी भएको छ । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।