भकिम्लीमा सामुदायिक भवनमा सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान

  • २४ बैशाख २०८१, सोमबार
  • 227 पटक पढिएको

म्याग्दी , २४ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवनको तला थप गरी व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । वडा नम्बर ३ का अधिकाँश स्थानीयले सार्वजनिक कार्यका लागि उपयोग गर्दै आएको सामाजिक भवनमा व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन गर्न थालिएको हो । भवनको माथिल्लो तला टिनले छाएको कारण हावाहुरी र बर्षादको समयमा हलमा कार्यक्रम गर्न समस्या भएपछि स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीबाट सहयोग संकलन गर्न थालिएको आर्थिक संकलन अभियानका अभियन्ता शन्तबहादुर क्षेत्रीले जानकारी दिनुभयो । सबै बस्ती र टोलका स्थानीयलाई पाएक पर्ने ठाउँमा सभाहल बनाउन लागिएकाले भविश्यमा यसको दिगो उपयोग हुने भएकाले सबैलाई सक्दो सहयोग गर्न उहाँले आह्वान गर्नुभयो ।
करिब २० लाख लागत अनुमान गरिएको सुविधासम्पन्न सभाहल निर्माण गर्न स्पेनमा रहनुभएका शन्तबहादुर क्षेत्री, बेलायतमा रहनुभएका होम रोका र बेल्जियममा रहनुभएका लोक रानाको अगुवाईमा आर्थिक संकलन भैरहेको छ । सभाहल

निर्माण भएपछि बिबाह, ब्रतबन्ध, पासनी, काजक्रिया लगायत विभिन्न बैठक, भेला तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ । अभियान अन्तरगत अहिलेसम्म रु १२ लाख ९४ हजार सहयोग संकलन भैसकेको अभियन्ता क्षेत्रीले जानकारी दिनुभयो । पुरानो भवनको माथिल्लो तलामा तयार गरिने सभाहलमा ५ सय जना बढी सहभागी हुन सक्ने क्षमता रहने जनाइएको छ । देश विदेशमा रहेका भकिम्लीबासीले विकास निर्माणमा समुदायको अगुवाई गरेर सकरात्मक सन्देश दिने गरेका छन् । यस अघि पनि गाउँमा विद्यालय भवन पुननिर्माण लगायत विकास निर्माणका योजनामा देश विदेशमा रहेका भकिम्लीबासीले महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।