प्रकाश माविमा स्मार्ट बोर्डबाट अध्यापन गराउन सुरु

  • १० भाद्र २०८१, सोमबार
  • 167 पटक पढिएको

म्याग्दी ८ भदौ । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाईमा आधुनिक प्रविधिको प्रयोग गर्दै स्मार्ट बोर्डबाट अध्यापन गराउन सुरु गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान बिषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याईएको हो ।
विद्यालयले दुई वटा स्मार्ट बोर्ड र आबश्यक पर्ने उपकरणहरुको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुवात गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अुनसार, गत बर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मुल्यांकनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको रु ३ लाख पुरस्कार रकमबाट रु २ लाख १८ हजार खर्च गरेर एउटा स्मार्टबोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्स लगायतका सामाग्री गरिद गरिएको छ ।
त्यसैगरि, विद्यलाय व्यवसथपन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रुपमा रु १ लाख ६० हजार खर्च गरेर १ थान स्मार्ट बोर्ड खरिद गरि विद्यालयलाई उपलब्ध गराउनुभएको छ । विद्यालयमा दुई वटा स्मार्ट बोर्ड भएपछि विज्ञान बिषयमा पठनपाठन हुने कक्षा ११ र १२ मा यसै स्मार्ट बोर्डबाट अध्यापन गराउन थालिएको प्रअ हमालले बताउनुभयो ।
विद्यालयको शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने अभियान अन्तरगत इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रविधिमा विद्यार्थीहरु अघि र शिक्षकहरु पछि पर्ने जोखिम रहेकाले स्मार्ट बोर्डले शिक्षकहरुलाई समेत प्रविधिमैत्री बनेर अध्यापन गराउने सहयोग पुग्ने बताउनुभयो ।
विद्यालयले पहिलो पटक प्रयोगमा ल्याएको स्मार्ट बोर्डको आइतवार बेनी नगरपालिकाका मेयर सुरत केसीले सुभारम्भ गर्नुभएको छ । उहाँले शिक्षण सिकाईलाई समय सापेक्ष रुपमा प्रविधि र व्यवहारिकतामा जोड्नुपर्ने बताउँदै प्रकाश माविले स्मार्ट बोर्डबाट अध्यापन गराउन सुरु गरेको कार्यले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो ।
कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा १ हजार १५० बढी विद्यार्थी अध्ययरत रहेका छन् । वि.स. २०६६ सालदेखि जिल्लामै पहिलो पटक विज्ञान विषयमा कक्षा ११ र १२ मा पठनपाठन गराउन सुरु गरेको विद्यालयमा अहिले कक्षा १२ मा ३० जना र कक्षा ११ मा २५ जना भर्ना भैसकेको र भर्ना हुने क्रम जारी रहेको विद्यालयका सहायक प्रधानध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।