चिमखोलामा भूमे पूजा : ‘देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता’
- २५ चैत्र २०८२, बुधबार
- 5 पटक पढिएको
म्याग्दी (बेनी), २४ चैत ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ बर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिईएको छ । आधुनिकताको प्रभाबले मौलिक कला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलाबासीले भने भूमे पूजामा हुने साँस्कृतिक पाटोलाई जीवन्त राखेका हुन् ।

हरेक बर्षको चैत महिनाको उजेली मंगलवारको दिन चिमखोलाको सेवाङ्ग धुरीमा रहेको भूमेथानमा विधिपूर्वक प्रकृति पूजाको रुपमा भूमे देवताको पूजाआजा गरेपछि स्थानीयले देवतालाई खुसी बनाउन मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहिआएको रघुंगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाईजाले जानकारी दिनुभयो ।
‘‘पुर्खादेखि नै चल्नै आएको परम्परा र मान्यता बमोजिम भूमे पूजा हुँदै आएको छ, अग्रजहरुले गर्दै आएको चलनलाई अहिलेपनि निरन्तरता दिइएको छ’’– उहाँले भन्नुभयो । यहाँको भूमेथानमा पुन थरका पुजारीले पूजा गराउने चलन छ भने पूजामा सहभागी हुन देश तथा विदेशमा रहेका चिमखोलाबासीका साथै छिमेकी गाउँठाउँबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।
मंगलवार सयौँको संख्यामा भूमेथानमा पुगेका स्थानीयबासीले पुरानो परम्परालाई निरन्तरता दिएर भूमे देवताको पूजा गरेका छन् । भूमे पूजामा सेदो भाकामा गीत गाएर देवीदेवतालाई पुकार्ने परम्परालाई समेत निरन्तरता दिएको चिमखोलाका ८४ बर्षिय ज्येष्ठ नागरिक लबहादुर पुनले बताउनुभयो । भूमे पूजामा विशेष महत्वका साथ गाइने सेदो भाकाको प्रस्तुतीका लागि यस बर्ष ज्येष्ठ नागरिक लबहादुर पुन र पबहादुर तिलिजासमेत भूमेथान पुग्नुभएको थियो ।
भूमेलाई साँडको बलि दिएर पूजा गरेपछि छेमाहरु र पूजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकआपसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने प्रचलन छ । वनजङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिला
ई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने प्रचलन रहेको चिमखोलाका स्थानीय ध्रुव कुमार पाईजाले बताउनुभयो ।
गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने गर्छन । छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गरी भूमे पूजा गर्ने चिमखोलामा चल्दै आएको परम्परा हो। भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पूख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ । भूमेथानबाट गाउँ फर्कने क्रममा पञ्चेबाजा र सेदो भाकाका साथै भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ ।
यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पु¥याउने गर्दछन् भने हिमालयन आमा समूहले फुल मालाले स्वागत गर्छन् ।
भूमे पूजाको अवसरमा चिमखोलामा परम्परागत रुपमा मेला लाग्दै आएको छ । मेलामा टोपा नाच प्रदर्शन संगै सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिक कला र संस्कृति देखाउने चलन रहेको छ । भूमे पूजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोकाङ्क्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका छन् ।