रघुगंगा गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र सम्मान
- ११ पुष २०८२, शुक्रबार
- 1 पटक पढिएको
\
म्याग्दी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र सम्मान गरेको छ । पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रवार वडा नम्बर २ भगवतीमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित सम्मान गरीएको हो ।
‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आयोजना गरीएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल र वडा अध्यक्ष अमृत भण्डारीले ज्येष्ठ नागरिकहरुलाई लफलफुल वितरण गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा भगवती स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब टिकाबहादुर शाही र महिन्द्र राखु आयुर्वेद औषधालयका प्रमुख कबिराज निरिक्षक लक्ष्मण शर्मा चालिसे लगायतका स्वास्यकर्मीहरुले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । कार्यक्रममा सुगर प्रेसर जाँच गर्नुका साथै रोगप्रतिरोधात्मक आयुर्वेद भिटामिन चोवनप्रस वितरण समेत गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर २ भगवतीका विभिन्न टोल बस्तीका साथै वडा नम्बर ३ मालिकाका १५९ जना ज्येष्ठ नागरिकहरुलाई समेत सम्मान र स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण संगै उहाँहरुको स्वास्थ्य चेकजाँच र सम्मानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक समाजका असल सल्लाहकार हुने भएकाले उहाँहरुले आफ्नो सक्रिय जीवनकालमा गरेका संघर्षहरु अनुसरणयोग्य हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेल र वडा अध्यक्ष भण्डारीले ज्येष्ठ नागरिक भनेको हरेक मानिसले पार गर्नुपर्ने उमेर अवस्था रहेको बताउँदै ज्येष्ठ नागरिकलाई राज्यले हक, अधिकार र सम्मान दिनुका साथै घरघरमा समेत उचित स्याहार र आदरभाव दिनुपर्नेमा जोड दिनुभयो । ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरु समाज विकासका मार्गदर्शकको रुपमा रहेकाले उहाँहरुको सम्मानमा कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । कार्यक्रम वडा अध्यक्ष भण्डारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष भण्डारीको प्रमुख आतित्यथा, सिनियर अहेब शाहीको स्वागत र गाउँपालिकाका उद्यम विकास सहजकर्ता धर्मकुमारी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
